वोमी माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, ७ माघ २०७५)
Jan 21, 2019
 
लगानी
कम्पनी विश्लेषण
नेपाल राष्ट्र बैंकबाट ३२ जिल्लाका लागि कार्यक्षेत्रको स्वीकृति पाई २०६८ फागुन २५ गतेदेखि लघुवित्त वित्तीय कारोबार सञ्चालन गर्दै आएको यस कम्पनीले लघुवित्त कार्यक्रमको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा सेवा पु¥याउने उद्देश्य लिएको छ । यसै अनुरूप शाखा विस्तार गरी कम्पनीले हाल देशका ३२ जिल्लामा ४० शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीले २०७५/७६ को दोस्रोे त्रैमासमा रू. २ करोड ६२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४१ दशमलव ९७ प्रतिशत वृद्धि भएको भएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ८४ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड १० लाख छ । पूँजीवृद्धिका लागि कम्पनीले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ५० करोड ८३ लाख निक्षेप संकलन गरेको छ भने रू. १ अर्ब ४६ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ४४ प्रतिशत र कर्जा प्रवाह ४२ प्रतिशत वृद्धि भएको छ । रिजर्भ कोषमा रू. ७ करोड ५५ लाख छुट्याएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७० प्रतिशत वृद्धि भएको हो ।
खुद ब्याज आम्दानी रू. ५ करोड ८२ लाख, कर्मचारी खर्च रू. २ करोड ६२ लाख, अन्य सञ्चालन खर्च रू. ९४ लाख ९३ हजार र सञ्चालन नाफा रू. ४ करोड १२ लाख रहेको छ । गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ५७ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशत बढेको हो ।
सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ६० लाख ८५ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ७३ प्रतिशत छ । पूँजीकोष लागत १० दशमलव ९४ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ दशमलव ४७ प्रतिशत रहेको छ ।
दोस्रोे त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ५१ दशमलव ९४, मूल्य आम्दानी अनुपात २१ दशमलव ८३ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ५ सय ८६, तरलता अनुपात १६ दशमलव ७१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ७४ दशमलव ७३ रहेको छ । बिहीवार भएको शेयर कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार १ सय ५० कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.०१६ गुणा
अर्निङ यिल्ड रेशियो : ४.५१ प्रतिशत
निष्कर्ष
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्दछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई ओभरबट जोन ७५ दशमलव ३२ विन्दुमा छ । यसले शेयर खरीद बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३१ दशमलव ३७ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । यस्तो अवस्थामा न्यून जोखिम हुन्छ भने प्रतिफल पनि न्यून हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्य रेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १ हजार १ सय ५० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १ हजार १ सय २९ मा टेवा पाउने संकेत गर्दछ ।