फर्स्ट माइक्रोफाइनान्स लघुवित्त : कम्पनी विश्लेषण (आइतवार, १३ माघ २०७५ )
Jan 27, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ५ करोड ६३ लाख नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ७६ लाख नाफा कमाएको थियो । दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. ६८ करोड ४३ लाख रहेको कम्पनीले रिजर्भ कोषमा रू. १५ करोड ३० लाख छुट्याएको छ । रिजर्भ कोषको रकम २८ प्रतिशत बढी हो । कम्पनीले शेयरधनीलाई २०७४/७५ को १२ दशमलव ६३१६ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । फस्र्ट माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको रूपमा इजाजत प्राप्त कम्पनी हो । कम्पनीले २०६६ साल पुस २४ गतेदेखि कारोबार शुरू गरेको हो । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साझेदार संस्थामार्फत अधिकतम ऋणीसम्म वित्तीय पहुँच पुर्याउन प्रभावकारी रूपमा काम गर्ने कम्पनीको आगामी योजना छ ।
कम्पनीको दोस्रोे त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ बीच तुलना गर्दा :
कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. ४ अर्ब ६८ करोड कर्जा प्रवाह गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २५ दशमलव ९८ प्रतिशत बढी हो । दोस्रो त्रैमासमा कम्पनीको लगानी रू. २० लाख पुगेको छ ।
खुद ब्याज आम्दानी रू. ९ करोड १२ लाख, कर्मचारी खर्च रू. १ करोड १ लाख, अन्य सञ्चालन खर्च रू. ६३ लाख ८७ हजार र सञ्चालन नाफा रू. ८ करोड ८४ लाख छ । गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १३ प्रतिशत र सञ्चालन नाफा १८ प्रतिशत बढी हो ।
कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५४ लाख ९२ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य प्रतिशत छ । पूँजीकोष पर्याप्तता १७ दशमलव ९९ प्रतिशत र पूँजीकोष लागत १० दशमलव ८१ प्रतिशत छ ।
पहिलो त्रैमासको तुलनामा रिजर्भ कोषमा २६ दशमलव २३ प्रतिशत र खुद मुनाफा १ सय ४४ प्रतिशत बढी छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीले रू. ५ करोड ६३ लाख नाफा कमाएको छ ।
चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १६ दशमलव ४६, मूल्य आम्दानी अनुपात २२ दशमलव ८५ गुणा, प्रतिशेयर नेटवर्थ रू. १ सय २२ दशमलव ३६, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ७ सय ९३ दशमलव ३० र तरलता अनुपात १५ दशमलव ६३ छ । बिहीवार कम्पनीको शेयर कारोबारमा अन्तिम मूल्य रू. ३ सय ८५ कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.०८२ गुणा
अर्निङ यिल्ड रेशियो : ४.२२ प्रतिशत
विक्री चाप : बिहीवार कम्पनीको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म २ हजार ३ सय ४५ कित्ता शेयर विक्री गर्ने माग र १ हजार ८ सय ८० कित्ता शेयर खरीद गर्ने माग छ ।
निष्कर्ष
कम्पनीको ६५ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत गर्दछ । कम्पनीको आरएसआई न्युट्रल जोन ५४ दशमलव ७८ विन्दुमा छ । यसले शेयर खरीदविक्री सन्तुलनमा चाप रहेको देखाउँछ । त्यस्तै, कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ११ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । कम्पनीको सोही अवधिको मुभिङ एभरेजमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ३ सय ८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ८९ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ३ सय ७८ मा टेवा पाउने देखिन्छ ।