ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा बजारको ऐतिहासिक छलाङ

Jan 29, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपालमा २००४ सालदेखि बीमा व्यवसायको शुरुआत भएको हो । तत्कालीन अवस्थामा नेपाल बैंक लिमिटेडको सक्रियतामा २००४ मा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना भयो । हाल उक्त कम्पनी नेपाल इन्स्योरेन्सको नाममा सञ्चालनमा छ । २०४८ सालदेखि उक्त कम्पनी नेपाल इन्स्योरेन्समा परिवर्तन भएको थियो । त्यस्तै २०२५ सालभन्दा अघिका वर्षहरूमा भारतीय बीमा कम्पनीहरूले यहाँ निर्जीवन र जीवन बीमाको व्यवसाय शुरू गरेका थिए । तर २०२५ सालमा राष्ट्रिय बीमा संस्थानको स्थापना भएपछि उनीहरू फर्किए । यद्यपि संस्थानले २०२९ सालदेखि जीवन बीमाको व्यावसायिक कारोबार शुरू गरेको थियो । यसअनुसार नेपालको बीमा बजारले ७२ वर्षको इतिहास बोकेको छ । तर ७ दशक बितिसक्दा पनि बजारले अपेक्षित गति लिन सकेको थिएन । यद्यपि पछिल्लो समय बीमा कम्पनीहरू भने आक्रामक रूपमा अगाडि बढेको पाइन्छ । विशेषगरी जीवन बीमा कम्पनीहरूले व्यवसायसँगै शाखा विस्तारमा पनि जोड दिएका छन् । बीमा बजारको पछिल्लो गतिविधि र बीमा समितिले तयार पारेको ५ वर्षको तथ्यांक विश्लेषण गर्दा यस्तो देखिन्छ । गतवर्ष जीवन बीमा बजारमा ९ ओटा कम्पनीको उदय भयो । त्यसपछि जीवन बीमा बजारमा १८ ओटा कम्पनी सञ्चालनमा छन् । नयाँ कम्पनीको उदयसँगै प्रतिस्पर्धात्मक वातावरण बनेपछि कम्पनीहरू सक्रिय रूपमा अगाडि बढेको देखिन्छ । साथै पहिले जीवन बीमा कम्पनीको चुक्तापूँजी न्यूनतम रू. ५० करोड हुनुपर्ने व्यवस्था थियो । तर समितिले गतवर्ष मात्र कम्पनीहरूलाई रू. २ अर्ब बराबरको चुक्तापूँजी पु¥याउन निर्देशन दियो । त्यसपछि कम्पनीहरूले चुक्तापूँजी बढाउन पनि व्यावसायिक गतिविधि चुस्त बनाएको पाइन्छ । बीमा कम्पनीहरूको यस्ता गतिविधिका कारण व्यवसायमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ । यसरी प्रतिस्पर्धा बढ्दै गएपछि बीमाको दायरा र पहुँच पनि उल्लेख्य रूपमा बढ्दै गएको छ । बीमा समितिका अनुसार २ वर्षअघि बीमा पहुँच ७ प्रतिशत मात्र थियो । तर गत असार मसान्तसम्म बीमाको पहुँच १४ प्रतिशत जनसंख्यामा पुगेको समितिको तथ्यांकले देखाउँछ । साथै आगामी २ वर्षमा बीमाको पहुँच १८ प्रतिशत पुर्‍याउने समितिको लक्ष्य छ । कम्पनीहरूले जारी गरेको कुल बीमालेख संख्यामा ५ प्रतिशत घटाएर बीमाको पहुँचको मूल्यांकन गरिएको हो । दोहोरिने सम्भावना भएकाले कुल जारी बीमालेखमा ५ प्रतिशत संख्या घटाएर यस्तो मूल्यांकन गर्ने अन्तरराष्ट्रिय प्रावधान छ । यद्यपि यसमा वैदेशिक रोजगार म्यादी जीवन बीमा समावेश गरिएको छैन । आर्थिक वर्ष २०७०/७१ मा १२ लाख १८ हजार बीमालेख जारी भएका थिए । त्यस्तै आव २०७१/७२ मा जारी बीमालेखको संख्या ११ दशमलव ४० प्रतिशत बढेर १३ लाख ५७ हजार पुगेको थियो । तर त्यसपछिको २ वर्षसम्म जारी बीमालेखको वृद्धिदर घटेको देखिन्छ । यद्यपि आव २०७४/७५ मा भने जारी बीमालेखको संख्या २५ दशमलव ६८ प्रतिशत बढेर १३ लाख ५२ हजार पुगेको छ । पछिल्लो समय बीमा बजारमा नयाँ र आधुनिक प्रकारका बीमा योजना पनि उपलब्ध छन्, जसले गर्दा आम मानिस बीमाप्रति आकर्षित हुँदै गएको कम्पनीहरूको भनाइ छ । उक्त योजनाको वितरण प्रणाली थप व्यवस्थित बनाउन सके बीमा व्यवसायले अझै फड्को मार्ने अपेक्षा कम्पनीहरूले गरेका छन् । ७७ जिल्लामै जीवन बीमा कम्पनीको शाखा जीवन बीमा कम्पनीहरूले शाखा विस्तार कार्य पनि चुस्त रूपमा अगाडि बढाएको पाइन्छ । समितिका अनुसार हालसम्म जीवन बीमा कम्पनीका शाखा ७७ जिल्लामा पुगेका छन् । यद्यपि सबै स्थानीय तहमा अभिकर्ता पुगिसकेकाले त्यहाँ शाखा स्थापनाको आवश्यकता देखिँदैन । साथै संख्यात्मक रूपमा पनि जीवन बीमा कम्पनीको शाखा बढेका छन् । गतवर्ष मात्र सञ्चालित नयाँ कम्पनीहरूले विभिन्न जिल्लामा ६ सय १५ ओटा स्थापना गरेका छन् । यस्तै हालसम्म जीवन बीमा कम्पनीको शाखा संख्या १ हजार ३ सय ४६ पुगेको छ, जसमा नेपाल लाइफ इन्स्योरेन्सका सबैभन्दा बढी १ सय ७८ ओटा शाखा छन् । बजारमुखी कम्पनी बढ्दो प्रतिस्पर्धासँगै ग्रामीण क्षेत्रमा पनि जान थालेको समितिको भनाइ छ । बीमाशुल्क आर्जनमा निरन्तर वृद्धि कम्पनीहरूको बीमाशुल्क आर्जन निरन्तर रूपमा बढ्दै गएको छ । पछिल्लो ५ आवको तथ्यांक हेर्दा बीमाशुल्क आर्जन बढ्दै गएको देखिन्छ । जीवन बीमा कम्पनीहरूले आव २०७०/७१ मा रू. २० अर्ब बीमाशुल्क आर्जन गरेका थिए । आव २०७४/७५ सम्म आउँदा यसको मात्र रू. ५१ अर्ब ४१ करोड पुगेको छ । तथ्यांक अनुसार पछिल्लो २ आवमा बीमाशुल्क आर्जनमा उल्लेख्य रूपमा वृद्धि भएको देखिन्छ घाटामा छैन जीवन बीमा बजार यसैगरी जीवन बीमा कम्पनीहरूले निरन्तर नाफा कमाइरहेको देखिन्छ । पछिल्लो ५ आवको तथ्यांक हेर्दा सबै कम्पनी नाफामै छन् । यसरी पछिल्लो समय बीमा बजारको दायरा र पहुँच बढ्दै गएको देखिन्छ । यद्यपि मानिसले बीमालाई जोखिम हस्तान्तरण गर्ने माध्यमको रूपमा नलिएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको बुझाइ छ । आम मानिसले बीमालाई बचत र लगानी परिचालनको रूपमा प्रयोग गरेको उनले बताए । यस्तै बीमाको वृद्धिदर तुलनात्मक रूपमा बढे पनि मानिसले क्षमता र आवश्यता अनुसारको बीमा नगरेको कम्पनीहरूको तर्क छ । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले भने, ‘आम मानिसले कतिको बीमा गर्नुपर्छ भनेर बुझेको पाइँदैन । सीमित बीमितले मात्र आफ्नो क्षमता र आम्दानी अनुसार बीमा गरेका छन् ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)