कुमारी बैंक : कम्पनी विश्लेषण (आइतवार, २० माघ २०७५)
Feb 3, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले सार्वजनिक गरेको चालू आव २०७५/७६ को दोस्रो त्रैमासको एनएफआरएस वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा रू. ६० करोड ३८ लाख छ । यो नाफा गत आवको तुलनामा २५ प्रतिशत वृद्धि भएको हो । कम्पनीको गत आवको सोही अवधिमा वितरणयोग्य नाफा रू.४८ करोड २ लाख थियो । चालू आवको दोस्रो त्रेमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब १६ करोड छ । बैंकले २०७४/७५ को मुनाफाबाट ८ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कम्पनीले अघिल्लो आव २०७३/७४ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । मङ्सिर १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यी प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कुल २१ दशमलव २५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ८ अर्बभन्दा बढी हुनेछ ।
कम्पनीले सार्वजनिक गरेको चालू आवको दास्रो त्रैमासिक वित्तीय विवरण अनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले दोस्रो त्रैमासमा रू. ७५ अर्ब ४४ करोड निक्षेप संकलन गरेको छ भने रू. ७० अर्ब ७७ करोड कर्जा प्रवाह गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा निक्षेप ३० प्रतिशत र कर्जा प्रवाह ३९ प्रतिशत वृद्धि भएको हो । कम्पनीले रिजर्भ कोषमा रू.४ अर्ब २९ करोड छुट्ट्याएको छ । यो रकम गत आवको तुलनामा ६३ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीको रू. ४ अर्ब ४२ करोड ब्याज आम्दानी र रू. २ अर्ब ९१ करोड ब्याज खर्च भएको छ । ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ४६ प्रतिशत वृद्धि भएको हो । कर्मचारी खर्च रू. ४६ करोड १६ लाख र अन्य सञ्चालन खर्च रू. २७ करोड ३८ लाख रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी रू. १ अर्ब ५१ करोड र सञ्चालन नाफा रू. ९६ करोड ६० लाख रहेको छ ।
पूँजीकोष लागत ८ दशमलव १२ र पूँजीकोष पर्याप्तता १२ दशमलव ८१ प्रतिशत रहेको छ । गत आवको दोस्रो त्रैमासमा १ दशमलव ६१ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आवको दोस्रो त्रैमासमा १ दशमलव २२ प्रतिशत रहेको छ ।
दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १८ दशमलव ६२, मूल्य आम्दानी अनुपात १३ दशमलव ५९, तरलता अनुपात २० दशमलव ११ र प्रतिशेयर नेटवर्थ रू. १ सय ५९ दशमलव ९० रहेको छ । कम्पनीको बिहीवारको शेयरमूल्य रू. २ सय ४५ कायम भएको छ ।
अर्निङ पावर रेशियो : 0.006 गुणा
अर्निङ यिल्ड रेशियो : ७.६ प्रतिशत
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म २३ हजार ५ सय ८८ कित्ता शेयर खरीद माग थियो भने ६ हजार ९ सय ६ कित्ता शेयर विक्री माग रहेको थियो ।
निष्कर्ष
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्दछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ५६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४० विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २ सय ४५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ सय ५० मा प्रतिरोध पाउने र सस्तिएमा रू. २ सय ३९ मा टेवा पाउने देखिन्छ ।