पूर्णिमा विकास बैंक : कम्पनी विश्लेषण (बुधवार, २३ माघ २०७५)
Feb 6, 2019
 
लगानी
कम्पनी विश्लेषण
आर्थिक वर्ष २०७४/७५ को मुनाफासमेतबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको पूर्णिमा विकास बैंकले यस वर्षको ६ महीनामा रू. ३ करोड ६१ लाख ९३ हजार खुद नाफा आर्जन गरेको छ । विगतका वर्षहरूमा २० प्रतिशतभन्दा माथि लाभांश दिएको कम्पनीले यस वर्ष भने कम लाभांश दिएको हो । पूँजीवृद्धिका लागि कम्पनीले विगतका वर्षहरूमा बोनससँगै दुईपटक हकप्रद जारी गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ५५ करोड १२ लाख ८२ हजार छ । गत आर्थिक वर्षसम्म रू. ५० करोड ८३ लाख ६ हजार चुक्तापूँजी पुर्याउने प्रक्षेपण अनुसार कम्पनीले तोकेभन्दा बढी चुक्तापूँजी पुर्याएको छ ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले गतवर्षको तुलनामा ३० प्रतिशत निक्षेप र ३७ दशमलव ६० प्रतिशत कर्जा प्रवाह बढाएको छ । कम्पनीको यस वर्षको दोस्रो त्रैमासमा निक्षेप रू. ३ अर्ब ३५ करोड ६१ लाख २८ हजार र कर्जा प्रवाह रू. ३ अर्ब ४ करोड ६७ लाख ९० हजार छ ।
कम्पनीले यस वर्षको दोस्रो त्रैमासमा रू. ६ करोड ११ लाख ३२ हजार लगानी गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीले रू. ५ करोड ३९ लाख ७४ हजार लगानी गरेको थियो ।
यस वर्षको ६ महीनामा गतवर्षको सोही अवधिको तुलनामा २७ प्रतिशत बढी रू. २१ करोड ४१ लाख ८१ हजार ब्याज आम्दानी गरेको कम्पनीले करीब ३९ प्रतिशत बढी रू. १३ करोड ८ लाख ४३ हजार ब्याजमा खर्चिएको छ ।
कम्पनीको निष्क्रिय कर्जा शून्य दशमल ५७ प्रतिशत छ भने आधार ब्याजदर ११ दशमलव ४१ छ ।
कम्पनीले यस वर्ष सम्भावित जोखिम शीर्षकमा रू. १ करोड ९ लाख ३४ हजार छुट्याएको छ । यो रकम गतवर्षभन्दा १ सय ९६ प्रतिशत बढी हो । सम्भावित जोखिम शीर्षकमा बढी रकम छुट्याउन परेकाले पनि सञ्चालन नाफा यस वर्ष केही प्रतिशतमात्र बढेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा गतवर्षभन्दा शून्य दशमलव ७५ प्रतिशत बढेर रू. ५ करोड ६२ लाख ४९ हजार पुगेको छ ।
यस वर्ष कर्मचारी खर्च गतवर्षभन्दा ३६ प्रतिशत बढी अर्थात् रू. २ करोड ७३ हजार छ भने अन्य सञ्चालन खर्च करीब २९ प्रतिशत बढी अर्थात् रू. १ करोड ६३ लाख ८४ हजार छ ।
दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव १३, मूल्य आम्दानी अनुपात रू. ११ दशमलव ५८, प्रतिशेयर नेटवर्थ रू. १ सय १९ दशमलव ७० र तरलता अनुपात ३१ दशमलव ९७ छ ।
अर्निङ पावर रेशियो : ०.००९
अर्निङ यिल्ड रेशियो : ८.५८
खरीद चाप : मंगलवार कम्पनीको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी थियो । सो अवधिसम्म १ हजार ८ सय ८६ कित्ता शेयर खरीद र ४३ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ४६ दिनको कारोबार अवधिको अन्तिम दिनमा इनगल्फिङ बियरिस आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५९ दशमलव ६९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ७९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १ सय ५३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ६३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ५२ मा टेवा पाउने देखिन्छ ।