कम्पनीले आव २०७५/७६ को दोस्रो त्रैमाससम्ममा रू. २७ करोड ९५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ५४ प्रतिशत बढेको हो । गत आवको सोही अवधिमा कम्पनीले रू. १८ करोड ५ लाख नाफा कमाएको थियो । दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७८ करोड छ भने रिजर्भ कोषमा रू. ६५ करोड २६ लाख छुट्ट्याएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत आवमा बोनस शेयर घटाएको छ । अघिल्लो वर्षमा १५ प्रतिशत बोनस शेयर दिएको थियो भने गत आवमा १० प्रतिशत बोनस शेयर दिएको हो । बैंकिङ क्षेत्रमा देखिएको प्रतिस्पर्धा तथा ग्राहकको चाहनामा भएको परिवर्तन समेतलाई दृष्टिगत गर्दै कम्पनीले आगामी दिन समयसापेक्ष प्राविधिक विकास गर्दै व्यवसाय विस्तार, नयाँ व्यावसायिक योजनाको विकास, लगानीका क्षेत्रहरूको खोजी, व्यवसाय विविधीकरण र गुणस्तरीय सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले दोस्रो त्रैमासमा रू. २६ अर्ब ९७ करोड निक्षेप संकलन गरेको छ भने रू. २३ अर्ब ५२ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ५४ प्रतिशत र कर्जा प्रवाह ४९ प्रतिशत वृद्धि भएको हो । कम्पनीको लगानी रू. ७० करोड ६८ लाख रहेको छ । गत आवको सोही अवधिको तुलनामा ८७ प्रतिशत बढी हो ।
कम्पनीले रू. ६४ करोड ९८ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. ४३ करोड ९२ लाख छ । गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानीमा ४८ प्रतिशत र सञ्चालन नाफामा ५६ प्रतिशत वृद्धि भएको हो । कम्पनीको कर्मचारी खर्च ३७ प्रतिशत बढेर रू. १४ करोड ७७ लाख पुगेको छ ।
सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ७ करोड ३७ लाख छुट्ट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव २८ प्रतिशत, पूँजीकोष लागत ८ दशमलव ९० प्रतिशत र पूँजी कोष पर्याप्तता १५ दशमलव ९१ प्रतिशत रहेको छ ।
चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव शून्य ५, मूल्य आम्दानी अनुपात ९ दशमलव २३ गुणा, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. १ हजार १ सय ५१ दशमलव २७, तरलता अनुपात २५ दशमलव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय २३ दशमलव ४१ रहेको छ । बिहीवारको शेयरमूल्य रू. १ सय ८५ कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.००८ गुणा
अर्निङ यिल्ड रेशियो : १०.८३ प्रतिशत
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समय विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ७ हजार ८ सय २९ कित्ता शेयर खरीद गर्ने माग र २ हजार ७ कित्ता शेयर विक्री गर्ने माग रहेको छ ।
निष्कर्ष
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्दछ । विश्वसनीयता भने समान्य रहेको छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ८८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४८ विन्दुमा छ ।
उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. १ सय ८५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ सय ९० मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ सय ८३ मा टेवा पाउने देखिन्छ ।