श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स : कम्पनी विश्लेषण (शुक्रवार, ३ फागुन २०७५)
Feb 15, 2019
 
लगानी
कम्पनी विश्लेषण
२०५१ साल असार २२ गतेदेखि वित्त व्यवसाय शुरू गरेको श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले हाल केन्द्रीय कार्यालय र १० ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । हरेक प्रदेशमा शाखा विस्तार गर्ने योजना रहेको कम्पनीले बाँकी प्रदेश नम्बर २ र ७ मा पनि शाखा विस्तारको तयारी गरेको छ । काठमाडौंमा तीन शाखा सञ्चालनको स्वीकृति पाएको कम्पनीले एउटा शाखा हात्तीगौडामा विस्तार गरिसकेको छ भने इमाडोल र चावहिलमा विस्तारको तयारीमा छ । वित्त कम्पनीहरूका लागि नेपाल राष्ट्र बैंकले तोकेबमोजिम चुक्तापूँजी पु¥याइसकेको कम्पनीले यस वर्ष बोनसलाई भन्दा नगद लाभांशलाई प्राथमिकता दिएको छ । गतवर्षको मुनाफाबाट कम्पनीले १ दशमलव २३ प्रतिशत बोनस र ८ दशमलव ७७ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत लाभांश दिएको छ । विगतका वर्षहरूमा पूँजीवृद्धिका लागि हकप्रदसँगै आकर्षक लाभांश दिएको कम्पनीले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने बताएको छ ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
गतवर्षको तुलनामा यस वर्ष कम्पनीको चुक्तापूँजी १ सय ३४ दशमलव ४८ प्रतिशत बढेर रू. ८१ करोड कायम भएको छ । कम्पनीले हकप्रद र बोनस शेयरमार्फत पूँजीवृद्धि गरेको हो ।
कम्पनीको जगेडा कोष रकम भने ३६ प्रतिशत कम छ । गतवर्ष रू. ३४ करोड २८ लाख ९८ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. २१ करोड ७९ लाख ६४ हजार कायम भएको छ ।
निक्षेप संकलन गतवर्षको तुलनामा २४ दशमलव १३ प्रतिशत बढी रू. ४ अर्ब ३५ करोड ६२ लाख ६६ हजार र कर्जा प्रवाह ३२ दशमलव ५२ प्रतिशत बढी रू. ३ अर्ब ९८ करोड २५ लाख ९४ हजार छ ।
यस वर्ष गतवर्षभन्दा ३७ दशमलव ५२ प्रतिशत बढी रू. ३१ करोड २० लाख ५ हजार ब्याज आम्दानी गरेको कम्पनीले २४ दशमलव ८२ प्रतिशत बढी रू. १९ करोड ३२ लाख ६५ हजार ब्याजमा खर्चिएको छ ।
कर्मचारी खर्च शीर्षकमा गतवर्षभन्दा शून्य दशमलव ७९ प्रतिशत बढी रू. १ करोड ८८ लाख ७७ हजार खर्चिएको कम्पनीले अन्य सञ्चालन खर्च शीर्षकमा गतवर्षभन्दा १ साढे १५ प्रतिशत बढी रू. १ करोड ९९ लाख ५८ हजार खर्च गरेको छ ।
कम्पनीको पूँजीकोष लागत ९ दशमलव ४७ प्रतिशत र पूँजीकोष पर्याप्तता २१ दशमलव ५३ प्रतिशत छ ।
निष्क्रिय कर्जा ०.१९ प्रतिशत, प्रतिशेयर आम्दानी रू. १४ दशमलव २४, मूल्य आम्दानी अनुपात ९ दशमलव ३४ प्रतिशत, प्रतिशेयर नेटवर्थ रू. १ सय २६ दशमलव ९१ र तरलता अनुपात २८ दशमलव ८७ प्रतिशत छ ।
अर्निङ पावर रेशियो : ०.००१
अर्निङ यिल्ड रेशियो : १०.५४
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म सय कित्ता खरीद गर्ने माग भए पनि विक्री चाप भने शून्य थियो ।
निष्कर्ष
कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ७४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल छ भने २६ दिने मूल्यरेखासँग जोडिएको छ । बिहीवारको शेयरमूल्य रू. १ सय ३३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ३५ मा प्रतिरोध पाउने देखिन्छ भने मूल्य सस्तिएमा रू. १ सय २८ मा टेवा पाउने देखिन्छ ।