सूर्या लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (मंगलवार, ७ फागुन २०७५)
Feb 19, 2019
 
लगानी
कम्पनी विश्लेषण
२०६४ चैत ६ गतेदेखि व्यवसाय शुरू गरेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी पूँजीवृद्धिका लागि ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा छ । कम्पनीले ७९ लाख २३ हजार ३ सय कित्ता हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट मङ्सिर १२ गते स्वीकृति पाएको हो । हाल रू. १ अर्ब १३ करोड रहेको कम्पनीको चुक्तापूँजी ७० प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेपछि १ अर्ब ९२ करोड पुग्नेछ । कम्पनीलाई पूँजी रू. २ अर्ब पुर्याउन अझै रू. ७ करोड ५७ लाख रकम अपुग हुन्छ । अपुग रकम बोनस शेयर जारी गरेर पुर्याउने कम्पनीको योजना छ । कम्पनीका बीमा योजनाहरू सूर्या संरक्षित (सर्वाधिक) जीवन बीमा योजना, आशाधन (अग्रिम भुक्तानी), संरक्षित बाल (सावधिक), बालधन (अग्रिम भुक्तानी), सुदर्शन सावधिक एवम् आजीवन बीमा योजना, सामूहिक १ वर्षीय म्यादी जीवन बीमा, (सुरक्षित) सीमित भुक्तानी (सावधिक), धनवृद्धि (अग्रिम भुक्तानी) १५, २० र २५ वर्षे र वैदेशिक रोजगार बीमा योजना छन् । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १० करोड ८२ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४८ दशमलव ९६ प्रतिशत बढी हो ।
कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले चालू आवको पुस मसान्तसम्ममा रू. ९९ करोड ५० लाख बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३७ प्रतिशत बढी हो । बीमालेखको संख्या ३ लाख ७६ हजार ३ सय ६५ छ ।
कम्पनीले बीमालेख धितोमा रू. ३० करोड ४५ लाख कर्जा प्रवाह गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ५८ प्रतिशत बढी हो । कम्पनीले ७ सय ८९ जनालाई रू. ११ करोड दाबी भुक्तानी गरेको छ भने २ सय ५६ जनालाई रू. १ करोड ५१ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।
पुस मसान्तसम्ममा रू. १६ करोड ४७ लाख आम्दानी गर्दा रू. ५ करोड ६४ लाख खर्च भएको छ । रिजर्भ कोषमा रू. ४३ करोड १४ लाख छुट्याएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो । जीवन बीमा कोषको रकम ४५ प्रतिशत बढेर रू. ४ अर्ब ३० करोड पुगेको छ । महाविपत्ति कोषमा रू. ६ करोड ४१ लाख छुट्याएको छ ।
दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. १९ दशमलव १२, मूल्य आम्दानी अनुपात २८ दशमलव ९२ र प्रतिशेयर नेटवर्थ रू. १ सय ४३ दशमलव ७८ छ । सोमवारको शेयरमूल्य रू. ५ सय ६ कायम भएको छ ।
डिभिडेण्ड यिल्ड रेशियो : २.३७ प्रतिशत
अर्निङ पावर रेशियो : ०.०१ गुणा
अर्निङ यिल्ड रेशियो : ३.७७ प्रतिशत
खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्रीचापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ४ हजार ९ सय ७९ कित्ता शेयर खरीद गर्ने माग र १ हजार २ सय ५१ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६६ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा कालो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३६ दशमलव ४३ विन्दुमा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यरेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ५ सय ६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय २४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ६० मा टेवा पाउने देखिन्छ ।