कैलाश विकास बैंक : कम्पनी विश्लेषण (बिहीवार, ९ फागुन २०७५)
Feb 21, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको पुस मसान्तसम्ममा गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिएको कैलाश विकास बैंकले रू. २७ करोड ४६ लाख नाफा कमाएको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा ३ प्रतिशत बढी हो । चुक्तापूँजी रू. २ अर्ब ५२ करोड रहेको कम्पनीले रिजर्भ कोषमा रू. ९३ करोड ६८ लाख छुट्याएको छ । कम्पनीले ८८ ओटा शाखा कार्यालय र ३१ ओटा एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ । राष्ट्रिय स्तरको विकास बैंकको रूपमा स्थापित गर्न शाखा नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने कम्पनीको आगामी योजना छ । व्यावसायिक लगानीलाई विविधीकरण गरी रोजगारी सृजना गर्ने र कृषि ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउने कार्यलाई निरन्तरता दिने योजना पनि कम्पनीको छ ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले पुस मसान्तसम्ममा रू. २६ अर्ब ७२ करोड निक्षेप संकलन गरेको छ भने रू. २३ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३९ प्रतिशत र कर्जा प्रवाह ३४ प्रतिशत बढी हो । कम्पनीको लगानी रू. ९२ करोड ७१ लाख छ ।
कम्पनीले रू. ६१ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा ५४ प्रतिशत बढी हो । कम्पनीको कर्मचारी खर्च ५३ प्रतिशत बढेर रू. १४ करोड ७३ लाख पुगेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५ करोड ४७ लाख छुट्याएको छ ।
कम्पनीको स्थिर सम्पत्ति रू. २२ करोड ८३ लाख पुगेको छ भने अन्य सम्पत्ति ४९ प्रतिशत बढेर रू. ३० करोड ४० लाख पुगेको छ । पुस मसान्तसम्ममा रू. २५ लाख ५२ हजार खराब कर्जा उठाएको कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ३३ प्रतिशत, पूँजीकोष लागत ८ दशमलव ६८ प्रतिशत र पूँजीकोष पर्याप्तता १४ दशमलव ९७ प्रतिशत छ ।
चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ८५, मूल्य आम्दानी अनुपात ९ दशमलव ७० गुणा, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. १ हजार २ सय ८९ दशमलव ४१, तरलता अनुपात २४ दशमलव ४५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३७ दशमलव १७ छ । बुधवारको शेयरमूल्य रू. २ सय १० कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.००८ गुणा
अर्निङ यिल्ड रेशियो : १०.४० प्रतिशत
प्राविधिक विश्लेषण
खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारमा अन्तिम समय विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ४ हजार ४ सय १३ कित्ता शेयर खरीद गर्ने र १ हजार ७ सय कित्ता शेयर विक्री गर्ने माग छ ।
निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संंकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४६ दशमलव ५३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. २ सय १० देखि बजारको अवस्थामा परिवर्तन आई मूल्य महँगिएमा रू. २ सय १४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय ७ मा टेवा पाउने देखिन्छ ।