ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३५ भन्दा बढी देशमा गाँजालाई कानूनी मान्यता

Mar 4, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
विश्वका धेरैजसो देशमा अहिले पनि गाँजा प्रतिबन्धित छ । प्रतिबन्ध लागेका देशमा गाँजाको औषधीय प्रयोग समेत गैरकानूनी र वर्जित छ । गाँजा प्रयोगमा लगाइएको प्रतिबन्ध उल्लंघन भएको भेटिएमा निकै कठोर सजाय भोग्नुपर्छ । सिंगापुर, इन्डोनेशिया र मलेशियामा त गाँजा तस्करलाई मृत्यु दण्ड नै दिइन्छ । अहिले विश्वमा ३५ भन्दा देशमा गाँजालाई कानूनी मान्यता छ । यसरी मान्यता प्राप्त देशमध्ये पनि धेरैमा औषधि प्रयोग मात्रै वैधानिक छ । गाँजाले कानूनी मान्यता पाउन थालेसँगै अहिले अन्तरराष्ट्रिय स्तरमा विस्तारै गाँजा अर्थतन्त्र फस्टाउन थालेको छ । क्यान्सर, मानसिक रोग, छारे रोग र दीर्घरोग आदिको उपचारमा प्रयोग हुने औषधिमा गाँजा उपयोग गर्ने क्रम अहिले बढेको छ । औंलामा गन्न सकिने केही देशले मनोरञ्जनका लागि समेत गाँजाको प्रयोगलाई खुला गरेका छन् । यस्तोमा हामीकहाँ गाँजालाई कानूनी मान्यता दिनुपर्ने आवाज उठ्नु स्वाभाविक नै हो । गाँजाको सबैखाले प्रयोगलाई कानूनी मान्यता दिने उरुग्वे पहिलो देश हो । उसले सन् २०१३ मा गाँजालाई पूर्ण कानूनी मान्यता दिएको थियो । उरुग्वेलाई पछ्याउँदै क्यानडाले सन् २०१८ मा गाँजाको प्रयोगलाई वैधानिक मान्यता दियो । त्यहाँ गाँजाको औषधीय प्रयोग भने सन् २००१ देखि खुला गरिएको थियो । अहिले अमेरिकामा पनि ५० मध्ये ४६ ओटा राज्यमा गाँजा प्रयोगलाई कानूनी मान्यता छ । तर यीमध्ये अधिकांश राज्यमा औषधि प्रयोजनमा मात्रै यसको प्रयोग गर्ने छूट छ । अलास्का, क्यालिफोर्निया, कोलोराडोलगायत १० राज्यले मात्रै मनोरञ्जनात्मक गतिविधिमा गाँजा प्रयोगको अनुमति दिएका छन् । गाँजा र यसबाट बनेका औषधि निर्यात गरेर उरुग्वे, क्यानडा, इजरायल, अस्ट्रेलिया लगायत केही देशले गाँजा अर्थतन्त्रको प्रवर्द्धन गरिरहेका छन् । २०१७ मा अमेरिकाले गाँजाबाट मात्रै १६ अर्ब डलर आम्दानी गरेको थियो । अन्य देशले पनि यसबाट ठूलो रकम कमाइरहेका छन् । सन् २०२५ सम्ममा विश्वमा वैधानिक गाँजा बजारको आकार १ खर्ब ४६ अर्ब डलरभन्दा माथि पुग्ने गतवर्ष सार्वजनिक एक प्रतिवेदनमा बजार अनुसन्धाता संस्था ग्य्रान्ड भ्यू रिसर्च इंकले बताएको छ । सो अवधिमा औषधीय गाँजाको बजार भने ५५ अर्ब डलर माथि पुग्ने अध्ययनहरूले देखाएका छन् । गाँजाको औषधीय प्रयोग बढेसँगै अस्ट्रेलिया, क्यानडा, अमेरिका लगायत देशका शेयर बजारमा गाँजा कम्पनीको सूचीकरण हुने क्रम बढेको छ । अस्ट्रेलियाको बेञ्चमार्क शेयर परिसूचक एएसएक्समा मात्रै अहिले २० भन्दा बढी यस्ता कम्पनी सूचीकृत छन् । सन् २०१८ को अन्त्यसम्ममा अमेरिकाको न्यूयोर्क स्टक एक्सचेञ्ज, नास्डाक लगायत स्टक एक्सचेञ्जमा १० भन्दा कम्पनी सूचीकृत भएका छन् । गतवर्षको अन्त्यतिर अमेरिकी हल्का पेय उत्पादक कम्पनी कोका–कोलाले गाँजा हालेर बनाइएको पेय पदार्थ ल्याउने हल्ला पनि चलेको थियो । तर कम्पनीका सीईओले पछि सो अफवाहको खण्डन गरेका थिए । यद्यपि गाँजाले कानूनी मान्यता पाउने क्रम बढेसँगै भविष्यमा यस्ता पेय पदार्थ पनि नआउलान् भन्न सकिँदैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)