कञ्चन डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (बिहीवार, २३ फागुन २०७५)
Mar 7, 2019
 
लगानी
कम्पनी विश्लेषण
कञ्चन डेभलपमेन्ट बैंक विक्रम संवत् २०६६ असोज १ गते नेपाल राष्ट्र बैंकबाट अनुमति लिई सोही वर्षको असोज ३ गतेदेखि कारोबार शुरू गरेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३ करोड ६१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. २ करोड १४ लाख नाफा कमाएको थियो । चालू आवको पुस मसान्तसम्ममा कम्पनीले रू. २ करोड ६६ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी १७ दशमलव ९५ प्रतिशत बढेर रू. ५३ करोड १३ लाख पुगेको छ । ५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्तापूँजी बढेको हो । २०७५/७५ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ६ दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको छ भने रिजर्भ कोषमा रू. ९ करोड ९७ लाख छुट्याएको छ । बैतडी र डोटीमा शाखा विस्तारको स्वीकृतिका लागि राष्ट्र बैंकलाई निवेदन दिएको कम्पनीका चिफ अपरेशन अफिसर जगतकुमार महतराले बताए । उनका अनुसार चालू आर्थिक वर्षमा चारओटा शाखा कञ्चनपुर, कैलालीमा खोल्ने योजना रहेको बताए ।
कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
पुस मसान्तसम्ममा कम्पनीले रू. ४ अर्ब ६४ करोड निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ४२ प्रतिशत र कर्जा प्रवाह ४० प्रतिशत बढी हो । लगानी रू. ४ करोड ४० लाख छ ।
कम्पनीले रू. ११ करोड १० लाख खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा ३६ प्रतिशत बढी हो । कर्मचारी खर्च २४ प्रतिशत बढेर रू. २ करोड ९९ लाख पुगेको छ ।
सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ४ करोड २९ लाख छुट्याएको छ । पूँजीकोष लागत ८ दशमलव २४ प्रतिशत र पूँजी कोष पर्याप्तता १३ दशमलव १८ छ । गत आवको दोस्रो त्रैमासमा २ दशमलव ०९ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आवको दोस्रो त्रैमासमा शून्य दशमलव ८३ प्रतिशत छ । कम्पनीले खराब कर्जा उठाउन सफल भएकाले निष्क्रिय कर्जा घटेको हो ।
चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. १३ दशमलव ५९, मूल्य आम्दानी अनुपात १२ दशमलव ७३, तरलता अनुपात २२ दशमलव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय १८ दशमलव ७७ छ । कम्पनीको बुधवारको शेयरमूल्य रू. १ सय ५७ कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.००६ गुणा
अर्निङ यिल्ड रेशियो : ८.६५ प्रतिशत
विक्री चाप : बैंकको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ७ सय ५३ कित्ता शेयर विक्री गर्ने माग छ भने खरीद माग देखाएको छैन ।
निष्कर्ष
कम्पनीको ३७ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५१ दशमलव २४ विन्दुमा छ । यसले खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ६० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा १४ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. १ सय ५७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ६३ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. १ सय ४१ मा टेवा पाउने देखिन्छ ।