कन्काई विकास बैंक : कम्पनी विश्लेषण (बिहीवार, २३ फागुन २०७५)
Mar 7, 2019
 
लगानी
कम्पनी विश्लेषण
विक्रम संवत् २०६४ वैशाख २० गतेदेखि कारोबार शुरू गरेको कन्काई विकास बैंकले १२औं वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । हाल एक केन्द्रीय कार्यालय र १६ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्षभित्र झापा र मोरङ जिल्लामा थप पाँच शाखा विस्तार गर्ने तयारी गरेको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रवीन्द्र अर्यालले जानकारी दिए । झापा मोरङ र सुनसरी जिल्लामा मात्र हाल सेवा प्रदान गर्दै आएको बैंकको आगामी वर्ष भने पाँचथर र सुनसरी जिल्लामा पनि एकएक शाखा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । पुस मसान्तसम्म ५० करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकले सोही पूँजीको आधारमा गतवर्षको मुनाफाबाट ३ प्रतिशत बोनस र बोनस शेयर कर प्रयोजनका लागि ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । नगद लाभांश वितरण गरे पनि बोनस शेयर भने वितरण गर्न बाँकी रहेको बैंकको भनाइ छ । बोनस वितरणका लागि पनि शेयर रजिष्ट्रारको कार्यालय सिद्धार्थ क्यापिटलमा पठाइसकेकाले केही दिनभित्र वितरणको प्रक्रिया शुरू हुने बैंकले जानकारी दिएको छ ।
बैंकको चालू आर्थिक वर्षको दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
बैंकको जगेडा कोष रकम गतवर्षको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा साढे २६ प्रतिशत घटेको छ । गतवर्षको दोस्रो त्रैमासमा रू. ९ करोड ३७ लाख १९ हजार रहेको जगेडा कोष रकम यस वर्षको सोही अवधिमा रू. ६ करोड ८८ लाख ३९ हजार कायम भएको छ ।
कम्पनीले गतवर्षभन्दा करीब २५ प्रतिशत बढेर रू. १ अर्ब ९० करोड ९८ लाख २८ हजार निक्षेप संकलन गरेको छ भने ३२ प्रतिशत बढी यस वर्ष रू. ३ करोड १३ लाख ७१ हजार कर्जा प्रवाह गरेको छ ।
गतवर्षभन्दा यस वर्ष ३४ प्रतिशत बढी रू. १४ करोड ३६ लाख ५५ हजार ब्याज आम्दानी गरेको बैंकले करीब ४३ प्रतिशत बढेर रू. ६ करोड ९० लाख ४० हजार ब्याजमा खर्चिएको छ ।
बैंकको स्थिर सम्पत्ति १२ प्रतिशत बढी रू. ३ करोड ३९ लाख ३९ हजार र अन्य सम्पत्ति गतवर्षभन्दा २२ प्रतिशत बढी रू. ३ करोड ८१ लाख ४२ हजार छ ।
निष्क्रिय कर्जा ०.७६ प्रतिशत छ भने कम्पनीले गतवर्षको तुलनामा ६५ प्रतिशत बढी रू. १ करोड ४३ लाख ७० हजार खराब कर्जा उठाएको छ ।
पुस मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १० दशमलव ४८, मूल्य आम्दानी अनुपात ११ दशमलव ५४, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ५ सय ११ दशमलव शून्य ६, प्रतिशेयर नेटवर्थ रू. १ सय १६ दशमलव २१ र तरलता अनुपात ३२ दशमलव ८९ प्रतिशत छ ।
अर्निङ पावर रेशियो : ०.०१० गुणा
अर्निङ यिल्ड रेशियो : ८.७३ प्रतिशत
खरीद चाप : बैंकको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म २ हजार ६ सय २ कित्ता खरीद र ७ सय ९० कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बैंकले शेयरमूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ५१ स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन २ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुन्छ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. १ सय २० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय २२ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. १ सय १४ मा टेवा पाउने देखिन्छ ।