ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजी बजारमा महिला : कुल लगानीकर्तामा ३९ प्रतिशत

Mar 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी
विसं १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले पहिलोपटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि अनौपचारिक रूपमा शुरू भएको नेपालको पूँजीबजार हालसम्म आइपुग्दा प्राविधिक रूपमा निकै अघि बढिसकेको सकेको छ । पछिल्लो समय प्राविधिक रूपमा विकसित बन्दै गएको पूँजीबजार लगानीकर्ताको मनोबल बढाउने अवस्थामा नरहेको भन्दा खासै फरक नपर्ला । पूँजीबजारको इतिहासमै सबैभन्दा उच्च विन्दु १८८१ कायम गरेको नेप्से हाल १११३ विन्दुमा छ । विगतको इतिहास हेर्दा पूँजीबजारमा कमाउने पनि उल्लेख्य छन् भने गुमाउने पनि त्यत्तिकै छन् । पूँजीबजार सम्बद्ध पक्षहरूले १५ लाख हाराहारीमा लगानीकर्ता रहेको दाबी गरिरहेको अवस्थामा हितग्राही खाता खोलेका लगानीकर्ता १४ लाख ५७ हजार ५ सय ७४ रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले जानकारी दिएको छ । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले कुल लगानीकर्तामध्ये ३९ प्रतिशत महिला लगानीकर्ता रहेको बताए । पूँजीबजारमा महिला लगानीकर्ताको संख्या विगतको तुलनामा बढ्दै गएको उनको भनाइ छ । गुप्ताका अनुसार हाल पूँजीबजारमा ५ लाख ६१ हजार ७ सय ७ महिला लगानीकर्ता छन् । पूँजीबजार यस्तो लगानीको क्षेत्र हो, जहाँ लगानी गर्न थोरै पूँजीदेखि कम समय पर्याप्त हुन्छ । अहिलेको व्यस्त जीवनयापनमा पूँजीबजारलाई केही बुझेका महिला लगानीकर्ताले घरमै बसेर लगानी गरी प्रतिफल पाइरहेको बताएका छन् । धितोपत्र कारोबारको अवधि बिहान ११ देखि ३ बजेसम्म तोकिएकाले गृहिणी महिलाका लागि उपयुक्त समय रहेको देखिन्छ । यसले पनि महिलाहरू पूँजीबजारमा थपिने क्रम जारी रहेको नेपाल इन्भेस्टर्स फोरमकी सदस्य दुर्गा तिवारीले बताइन् । अहिले त पूँजीबजारमा युवा महिला लगानीकर्ताको पनि आकर्षण बढी देखिएको छ । पढ्दै गरेका युवा महिला पनि पूँजीबजारमा पछिल्लो समय सक्रिय देखिएको उनको भनाइ छ । पूँजीबजारमा १ दशक बिताइसकेकी तिवारीले आफू यस क्षेत्रमा प्रवेश गर्दा महिलाको संख्या न्यून रहेको बताइन् । तर अहिले कारोबारमा महिला सक्रिय भएको देख्दा खुशी लागेको उनले सुनाइन् । आफू यसै क्षेत्रमा लागेर आत्मनिर्भर भएको बताउने उनी बुझेर लगानी गरे जो कोही आत्मनिर्भर बन्न सक्ने क्षेत्रको रूपमा पूँजीबजारलाई लिन्छिन् । दुर्गा तिवारीजस्तै पूँजीबजारमा १ दशकको अनुभव बटुलिसकेकी सृजना सुवदी नारीलाई सबैभन्दा मन पर्ने गहना बेचेर पूँजीबजारमा प्रवेश गरेकी हुन् । पूँजीबजारप्रतिको लगाव र यसबाट पाएको उपलब्धिका कारण गतवर्ष वूमन विथ भिजन नामक संस्थाले सुवदीलाई बिजनेश ‘वूमन अफ दी इयर’को उपाधि समेत प्रदान गरेको थियो । यस क्षेत्रबाट पाएको उपलब्धिबाट सन्तुष्ट रहेको भन्दै उनी निरन्तर यसै क्षेत्रमा आफ्नो लगानी सुरक्षित गर्ने बताउँछिन् । सुवेदी पनि लगानीकर्ताको हित र पूँजीबजारको विकास तथा विस्तारका लागि संगठित संस्था नेपाल इन्भेस्टर्स फोरमकी सदस्य हुन् । पूँजीबजारमा सक्रिय रहेका महिला लगानीकर्ता दुर्गा तिवारी र सृजना सुवेदी त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्ता लाखौं महिला यो क्षेत्रमा सक्रिय रहेको त सीडीएससीको तथ्यांकले नै स्पष्ट पारेको छ । महिला लगानीकर्ता पूँजीबजारमा सक्रिय एवम् आत्मनिर्भर भएको कुरा गरिरहँदा यस क्षेत्रमा युवा महिलाले पूँजीबजार विकास तथा विस्तारका लागि नेतृत्व गरेको विषय पनि जोड्नुपर्ने देखिन्छ । हाल लगानीकर्ताको हकहित र पूँजीबजार विकास तथा विस्तारका लागि लगानीकर्ताका पाँच संगठन सक्रिय छन् । यीमध्ये दुई संगठनको नेतृत्व युवा महिलाले गरिरहेका छन् । नेपाल पूँजीबजार लगानीकर्ता संघको अध्यक्षमा राधा पोखरेल र नेपाल पूँजीबजार संघको अध्यक्षमा संरक्षणा चौधरी छन् । राधा पोखरेल लगानीकर्ता संघको नेतृत्व गर्ने पहिलो महिला हुन् भने संरक्षणा चौधरी दोस्रो । अन्य संगठनमा पनि महिलाको सहभागिता भए पनि नेतृत्व भने पुरुषहरूले नै गरिरहेका छन् । युवा महिला रोजगारी र गुणस्तरीय शिक्षाका लागि विदेश पलायन भइरहेको अवस्थामा पूँजीबजारमा सहभागी युवा महिला भने आफूहरू पूँजीबजारबाटै आत्मनिर्भर भइरहेको बताउँछन् । नेपालमा पूँजीबजारको विकास विस्तार र लगानीकर्ताको हकहितका लागि संगठित संस्थाको नेतृत्व गर्दै सक्रिय दुई नेत्रीको विचारमा पूँजीबजार :
राधा पोखरेल धेरैजसो महिलामा यो क्षेत्रसम्बन्धी ज्ञानको कमी नै छ । यसका लागि म र मेरो संघको तर्फबाट शेयरसम्बन्धी जनचेतना जगाउने काम हुँदै आएको छ । पूँजीबजारको विकास गर्न नै संघको नेतृत्व लिएकी हुँ । म यही क्षेत्रमा लागेर आत्मनिर्भर भएकी हुँ । पूँजीबजारमा लगानी गर्दा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्छ । जसले जोखिम न्यूनीकरण गर्न जान्दछ, उसले कहिल्यै घाटा खाँदैन । विशेषगरी दिउँसो खाली समय पूँजीबजारमा सदुपयोग गर्दै आत्मनिर्भर बन्न गृहिणी महिला दिदीबहिनीलाई मेरो सुझाव छ । संरक्षणा चौधरी पूँजीबजारमा सक्रिय हामी महिलाले छोटो समयमा गरिने थोरै लगानीलाई कसरी दीर्घकालीन लगानी बनाउन सकिन्छ भनेर सिक्ने अवसर पाएका छौं । थोरै थोरै बचतले भोलिका दिनमा केही हदसम्म राहत मिल्छ भने आज गरिएको लगानीले भविष्यमा लाभदायक फल अवश्य दिनेछ । यस क्षेत्रमा जागीरेदेखि गृहिणी महिलाले समेत लगानी गर्न उपयुक्त छ । पूँजीबजारले लगानीलाई मात्र नभई अनावश्यक खर्च सही तरीकाले व्यवस्थित गर्ने हुँदा पनि महिलाले आफूले गरेको बचत लगानीमा परिणत गर्न सके आत्मनिर्भर बन्न सजिलो हुने थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)