ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऊर्जामा महिला : क्षेत्र एक, अवसर अनेक

Mar 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दुर्गा लामिछाने
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् विकास विभागमा गरी जम्मा १ जना सहसचिव र ४ जना उपसचिव महिला छन् । ८ हजार ८ सय ८४ कर्मचारी रहेको नेपाल विद्युत् प्राधिकरणमा केवल १ हजार १ सय २३ जना मात्रै महिला कर्मचारी छन् । त्यसमध्ये पनि उच्च तहमा पुग्ने महिलाको संख्या निकै कम छ । यही अवस्थालाई ध्यानमा राखी प्राधिकरणले सम्भव भएसम्मका जिम्मेवारीमा महिलाको सहभागिता बढाउन जोड दिइरहेको छ । देशका ११४ विद्युत् वितरण केन्द्रमध्ये काठमाडौं उपत्यकाको एक केन्द्रमा महिलालाई जिम्मेवारी दिन लागिएको उप–कार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यले जानकारी दिइन् । यसअघि नै पनि प्राधिकरणले जनशक्ति, जनसम्पर्क लगायत केही विभागको जिम्मेवारी महिलालाई दिइसकेको छ । नीतिगत रूपमा महिलालाई नेपालको ऊर्जा क्षेत्रमा लाग्न राज्यले लैंगिक विभेद गरेको छैन । तर पनि सरकारीमा मात्रै होइन, निजीक्षेत्रमा पनि टिकेर काम गरिरहेका महिलाको संख्या त्यति सन्तोषजनक छैन । छोरी मान्छे त्यस्तो ठाउँमा गएर काम गर्दा के हुने हो भन्ने मान्यताका कारण यस क्षेत्रमा महिला सहभागिता बढ्न नसकेको यही फागुनको ८ र ९ गते सम्पन्न दक्षिण एशियाको ऊर्जा क्षेत्रमा संलग्न महिलाको पहिलो सम्मेलन (वीपावर)का सहभागीको तर्क थियो । तर फिल्ड जाँदा जोखिम नै हुने अवस्था नेपालमा नरहेको प्राधिकरणकी उप–कार्यकारी निर्देशक शाक्य बताउँछिन् । ‘महिला एक्लै फिल्ड जाने नभई साथमा जवाफदेही अरू पनि हुन्छन्,’ उनी भन्छिन्, ‘महिला स्वयंले आँट गर्ने र परिवारले भरोसा गर्ने हो भने यो क्षेत्रमा महिलाको सहभागिता धेरै माथि पुग्न सक्छ ।’ फिल्ड जाने पुरुषहरू पुरुष मात्रै जान पाए खुलारूपमा हिँड्न, खानपिन गर्न पाउने भएका कारण पनि सकेसम्म साथमा महिला स्टाफ लिएर जान चाहँदैनन् । यो अवस्था चिर्न संस्थाले अनिवार्य महिला सहभागिताको नीति अवलम्बन गर्नुपर्ने उनको धारणा छ । त्यसैगरी यो क्षेत्र झट्ट हेर्दा विकट डाँडाखोलासँग सम्बन्धित भए पनि वास्तविकता त्यति मात्र नरहेको ऊर्जाक्षेत्रमा लामो समयदेखि काम गरिरहेका महिलाहरू बताउँछन् । परियोजनाको योजना तथा कार्यतालिका बनाउने, डिजाइन गर्ने लगायत धेरै काम एक दुई पटक फिल्डमा गएर बाँकी डेस्कमै सम्पन्न हुन्छन् । सरकारी तवरबाट अघि बढेका अपर अरुण, अपर मोदी, तामाकोशी ४ लगायत आयोजनामा डिजाइनको काम महिला इन्जिनीयरले नै गरिरहेका छन् । निजीक्षेत्रका पनि केही आयोजनामा साइट इन्चार्ज, डिजाइनर, इन्जिनीयर लगायत जिम्मेवारी महिलाले पूरा गरिरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का उपाध्यक्ष कुमार पाण्डे बताउँछन् । हरेक विद्युत् आयोजनाका फिल्ड कार्यालय हुन्छन् । त्यहाँ हुने गैर प्राविधिक काममा महिलालाई सहभागी गराउन सकिन्छ । यसले गर्दा उक्त आयोजनाको फिल्डसम्बन्धी काममा प्रवेश गर्न अन्य महिलालाई आत्मविश्वासको वातावरण बन्छ । विद्युत्मा छात्रा
  • सिभिल इन्जिनीयरिङ विद हाइड्रो (केयू) : ६० सीटमध्ये कम्तिमा १० प्रतिशत
  • विद्युत्सम्बद्ध ७ ओटा कार्यक्रम (त्रिविवि) : २०/२० जनाको सीटमा कम्तिमा १० प्रतिशत (स्नातकोत्तर)
  • विद्युत्सम्बद्ध कार्यक्रम (त्रिविवि–स्नातक) : प्रति ब्याच करीब २०० जना
आफूलाई महिला भन्दा कर्मचारी सोच्नु उचित शान्तिलक्ष्मी शाक्य उप–कार्यकारी निर्देशक नेपाल विद्युत् प्राधिकरण महिला भएपछिका प्राकृतिक तथा सामाजिक दायित्व आफ्नो ठाउँमा छन् । तर कार्यस्थलमा हुँदा आफूलाई कर्मचारी हुँ भन्ने सोचियो भने आत्मविश्वास र आत्मबल बढ्छ । त्यसपछि तपाईंलाई देख्ने मानिसले पनि यसले दिएको जिम्मेवारी पूरा गर्छ भन्ने विश्वास गर्न सक्छ । घर व्यवस्थापन गर्ने महिला कार्यालयको व्यवस्थापन पनि उत्तिकै राम्रोसँग गर्न सक्छन् । महिलाले काम गरेको ठाउँमा भ्रष्टाचार एकदमै कम हुन्छ । त्यसैगरी कर्मचारी व्यवस्थापन पनि पुरुषलेभन्दा राम्रोसँग गर्न सकेका उदाहरण छन् । यो क्षेत्र मेरो पनि हो भन्ने सोच्ने बेला आएको छ पूजा दाहाल चीफ अपरेटिङ अफिसर अपर बलेफी हाइड्रोपावर आफ्नो इन्जिनीयरिङ ब्याचमा अध्ययन सम्पन्न गर्ने म एक्ली महिला थिएँ । आयोजनास्थल जाँदा शुरुआती दिनमा निकै अप्ठ्यारा आए । सेफ्टी हेलमेट र बुट लगाएर हिँड्दा अचम्मको दृष्टिले हेरिन्थ्यो । सबै चुनौतीलाई अवसरका रूपमा लिई अघि बढेकैले हाल यस क्षेत्रमा पहिचान बनाउन सफल भएकी छु । मैले सकेँ भने तपाईंले किन नसक्ने ? यस क्षेत्रले इन्जिनीयरिङको मात्र होइन, व्यवस्थापनमा समेत दक्षता दिलाउँछ । म महिला हुँ र यो क्षेत्र मेरा लागि होइन भन्ने सोचाइ हटाएर म दक्षता प्राप्त व्यक्ति भएकाले यो क्षेत्र मेरो पनि हो भन्ने सोच्ने बेला आएको छ । काम गर्दै गएपछि रुचि बन्छ मिस्सु भण्डारी सूचना व्यवस्थापन अधिकृत प्रसारण लाइन परामर्शदाता कम्पनी कुनै पनि क्षेत्रमा त्यसको प्राविधिक मात्रै नभई अन्य काम पनि हुन्छन् । सिक्न इच्छुक व्यक्तिले अन्य जिम्मेवारीमा रहेर पनि सिक्न सक्छन् । ऊर्जा क्षेत्रको बारेमा केही पनि जानकारी नहुँदा म इप्पानमा प्रवेश गरी ८ वर्ष सूचना व्यवस्थापन अधिकृतको भूमिकामा काम गरें । काम गर्दै जाँदा यो क्षेत्रलाई बुझें र यसैमा रुचि पनि विकास भयो । त्यही रुची र योबीचमा कमाएको अनुभवले अहिले म एक ठूलो विद्युत् प्रसारण आयोजनाको परामर्शदाता कम्पनीमा आबद्ध भएर काम गर्ने अवसर पाएकी छु । विविध अवसर छन् पार्वता भट्ट, वरिष्ठ अधिकृत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र एईपीसीमा मलगायत तीन महिला व्यवस्थापकीय भूमिकामा छौं । म आफै पनि विगत ८ वर्षदेखि एईपीसी (वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र)को अनुदान प्रशोधन एकाइमा रहेर काम गरिरहेकी छु । सरकारले एईपीसीमार्फत अनुदान प्रदान गरी सञ्चालन गर्ने परियोजनाका लागि यस एकाइबाट अनुदान परिचालन गर्ने गरिन्छ । वातावरणीय तथा सामाजिक सुरक्षण इकाइको पनि प्रमुखका रूपमा काम गरिरहेकी छु । यसरी ऊर्जाकै पनि विविध जिम्मेवारीमा महिलालाई अवसर छन् । महिला सहभागिता बढाउनेप्रयत्न भइरहेको छ वर्षा पाण्डे अपरेशन एनालिस्ट इनर्जी ग्लोबल प्रोग्राम, विश्व बैंक विश्व बैंकले सहयोग गर्ने परियोजनाको तयारी चरणमै उक्त परियोजनामा महिला सहभागिता हुन्छ कि हुँदैन विश्लेषण गरिन्छ । कुनै परियोजनामा महिलाको सहभागिता कमजोर हुने अवस्था देखिए वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेर पनि निश्चित प्रतिशत पुर्‍याइन्छ । कुनै पनि परियोजनामा महिला हुनुले धेरै फरक पार्छ । त्यसैले आफूले विगतमा भोगेका समस्याबाट आफ्ना सहकर्मीलाई जोगाउने र उपयुक्त हुने परियोजना तथा क्षेत्रसँग जोड्ने प्रयास गर्ने हो भने हरेक क्षेत्रमा महिला सहभागिता बढाउन सकिन्छ । लगानी जुटाउने भूमिकामा महिला पूजा चन्द ठाकुर प्रवर्द्धक, चमेलिया छेत्तीगाड जलविद्युत् आयोजना मैले संसारका धेरै ठाउँका परियोजनाका लागि लगानी जुटाउने, वित्तीय व्यवस्थापन गर्ने कार्यमा महिलाको उल्लेख्य सहभागिता रहेको देखेकी छु । त्यहाँ उनीहरूले प्रभावकारी काम गरिरहेका छन् । नेपालमा अब विस्तारै जलविद्युत्मा शेयरबाट लगानी जुटाउने समय ओह्रालो लाग्दै गएको छ । यस्तो अवस्थामा परियोजनाले दिने लाभको मार्केटिङ गरेर लगानी जुटाउनुपर्नेछ । यसका लागि सोसल मिडिया, यूट्यूब च्यानल, ब्लग आदिको प्रयोग गर्नुपर्ने हुन्छ । ऊर्जाक्षेत्रमै रहेर यस्ता कामबाट महिलाले सजिलै आफूलाई स्थापित गर्न सक्छन् । जिम्मेवारी दिए गर्न सकिन्छ प्रविना क्षेत्री असिस्टेन्ट म्यानेजर भारप्रेषण केन्द्र देशभरको विद्युत् व्यवस्थापनको काम गर्ने यस केन्द्रमा पहिलो महिलाका रूपमा प्रवेश गरी काम गरेको ७ वर्ष भयो । शुरूमा त रातदिन नभनी पुरुषको माझमा रहेर देशभरिको विद्युत् व्यवस्थापन जस्तो काम गर्नु चुनौतीपूर्ण हुने सम्झेर मैले यो जिम्मेवारी लिन मानेकी थिइनँ । तर व्यवस्थापनले गर्न सक्छौ भनी प्रत्साहन गरी जिम्मेवारी दिएपछि राम्रोसँग गरेँ । अहिले प्रणालीको समग्र योजना, सञ्चालन तथा अनुगमनको काम गरिरहेकी छु ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)