ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकिङमा महिला सहभागिता : समग्रमा बढ्दो, नेतृत्वमा कम

Mar 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
बैंक तथा वित्तीय संस्थाभित्र पस्नासाथ काउन्टरमा प्रायः महिला कर्मचारी नै देखिन्छन् । यस्तो देख्दा अधिकांशलाई बैंकमा महिला सहभागिता धेरै छ भन्ने पर्न सक्छ । बैंकिङ क्षेत्रमा महिलाको आकर्षण बढेको छ । तर नेतृत्व तहमा महिलाको उपस्थिति पुरुषको तुलनामा कम छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा महिला कर्मचारी औसत ३४ दशमलव ११ प्रतिशत मात्र छन् । केन्द्रीय बैंकको हकमा माघ मसान्तसम्मको तथ्यांकले १ हजार ४७ कर्मचारीमध्ये २० दशमलव ४४ प्रतिशत महिला छन् । सरकारले हरेक क्षेत्रमा महिलाको आरक्षण ३३ प्रतिशत तोके पनि केन्द्रीय बैंकमै यो पूरा हुन सकेको छैन । निजी बैंक तथा वित्तीय संस्थामा भने महिलाको उपस्थिति उल्लेख्य देखिएको छ । नेपाल राष्ट्र बैंकले लोकसेवा परीक्षामार्फत पछिल्लो समय लिएका ९६ कर्मचारीमध्ये ३५ महिला छन्, जब कि २१ वर्षअघि आरक्षण नभएकै बेला खुला प्रतिस्पर्धाबाट राष्ट्र बैंक प्रवेश गरेकी (हाल कार्यकारी निर्देशक पदमा रहन सफल एकमात्र महिला) नीलम ढुंगाना तिम्सिनाले त्यतिबेला ४९ जनामध्ये ६ महिलाले नाम निकालेको अनुभव सुनाइन् । बैंकमा महिलाको आकर्षण तथा सहभागिता बढे पनि नेतृत्व तहमा भने तुलनात्मक रूपमा कम छन् । यद्यपि केही वर्षयता बैंक तथा वित्तीय संस्थामा महिलाहरू नेतृत्व तहमा समेत पुग्न सफल भएका छन् । सरकारी होस् वा निजीक्षेत्रका बैंकिङ क्षेत्रमा महिलाले कुशलतापूर्वक नेतृत्व सम्हालिरहेका उदाहरण छन् । बैंक तथा वित्तीय क्षेत्रका लागि महिला पनि सक्षम छन् भन्ने एक उदाहरण मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेली हुन् । करीब २८ वर्षअघि बैंकिङ पेशा अँगालेकी उनी अधिकांश महिला इमानदार हुने भएकाले यस क्षेत्रमा महिलाको उपस्थिति बढेको बताउँछिन् । नेतृत्व तहमा महिला पुग्न कामप्रति समर्पित हुन आम महिला बैंकरलाई उनको सुझाव छ । मेगाको नेतृत्व तहमा उनीबाहेक रविना देशराज श्रेष्ठ, प्रज्ञा पाण्डे, डेनी श्रेष्ठ र जेनु थापा कार्यरत छन् । यस्तै सनराइज बैंकको व्यवस्थापन समूहमा सिनियर डेपुटी म्यानेजरको रूपमा कार्यरत आशाराना अधिकारी छिन् । अबको केही वर्षमा बैंकिङ क्षेत्रमा महिलाको वर्चस्व रहने सम्बन्धित महिला कर्मचारी बताउँछन् । अन्य क्षेत्रको तुलनामा बढी सुरक्षित तथा प्रतिष्ठित हुनुका साथै आकर्षक तलब तथा राम्रो सेवासुविधा भएकाले बैंकिङमा महिलाको आकर्षण बढेको उनीहरूको भनाइ छ ।
महिला अब्बल हुँदा न्यून मूल्यांकन गरिनु हुँदैन नीलम ढुंगाना तिम्सिना, कार्यकारी निर्देशक, आन्तरिक लेखापरीक्षण  २०५४ मङ्सिरमा आरक्षणको व्यवस्था नहुँदा नै खुला प्रतिस्पर्धाबाट ४९ जना सहायक अधिकृतमध्ये छनोट हुन सफल भएँ । यसबीच हालसम्म विभिन्न ६ ओटा विभागमा काम गर्ने अवसर मिल्यो । दत्तचित्त भई काम गर्दा प्रतिभा र क्षमताको मूल्यांकनको कदर हुने रहेछ । अब राष्ट्र बैंक सेवामा महिला कर्मचारी धेरै आउनुपर्दछ । हाम्रो पालामा आरक्षणको व्यवस्था थिएन । तर अहिले आरक्षणको व्यवस्थाले पनि महिलालाई बैंक सेवा प्रवेशमा अझ बढी सहज बनाएको छ । महिला कर्मचारीलाई पर्ने मुख्य चुनौती भनेको कार्यक्षेत्रमा सधैं अब्बल प्रमाणित गर्न धेरै मेहनत गरिरहनुपर्ने मेरो अनुभव छ । एउटै काममा पुरुषलाई विश्वास गर्ने, तर महिलाले गर्न सक्दैनन् भन्ने सोच देखिन्छ । घरव्यवहार, प्रसूति समय, बच्चाको लालनपालन र जागीरको सन्तुलन मिलाउन पनि महिला कर्मचारीलाई धेरै चुनौतीपूर्ण हुन्छ । पुरुष कर्मचारीसरह शैक्षिक, प्राज्ञिक र कामको क्षेत्रमा अब्बल हुँदा समेत महिला कर्मचारीको न्यून मूल्यांकन हुने गरेको छ । यद्यपि निरन्तर अध्ययन, काममा मेहनत, पदीय मर्यादा, पेशागत आचारसंहिता, संस्थागत सुशासन, दक्षता र प्रतिस्पर्धात्मक क्षमताको विकास गरी महिलाले सम्बन्धित पेशाको नेतृत्व तहमा पुग्ने लक्ष्य लिनु जरुरी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)