प्राइम कमर्शियल बैंक : कम्पनी विश्लेशण (आइतवार, ३ चैत २०७५)
Mar 17, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । चालू आव २०७५/७६ को दोस्रो त्रैमाससम्ममा एनएफआरएस वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा रू. ९३ करोड ४२ लाख छ । गत आवको सोही अवधिको तुलनामा वितरणयोग्य नाफा ५१ प्रतिशत वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ३ करोड छ भने रिजर्भ कोषमा रू. ४ अर्ब २२ करोड छुट्याएको छ । कम्पनीले आगामी दिनमा निक्षेप कर्जा लगानीमा प्रतिस्पर्धी ब्याजदर कायम गरी आफ्ना ग्राहकवर्गलाई गुणस्तरीय तथा आधुनिक बैंकिङ सेवा प्रदान गर्दै जाने रणनीति लिएको छ । कम्पनीले हाल ७३ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीकोे चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
पुस मसान्तसम्ममा कम्पनीले रू. ७६ अर्ब ७२ करोड निक्षेप संकलन गरेको छ भने रू. ७२ अर्ब ६० करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ७ दशमलव ९७ प्रतिशत र कर्जा प्रवाह १५ दशमलव २० प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले रू. ४ अर्ब ८१ करोड ब्याज आम्दानी गरेको छ भने रू. ३ अर्ब ४ करोड ब्याज खर्च भएको छ । कर्मचारी खर्च २१ प्रतिशत वृद्धि भएर रू. ३५ करोड ५२ लाख भएको छ । अन्य सञ्चालन खर्च रू. १८ करोड भएको छ । पूँजी कोष पर्याप्पता १२ दशमलव ६८ र पूँजीकोष लागत ८ दशमलव २९ प्रतिशत छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. २६ दशमलव ४१, मूल्य आम्दानी अनुपात १२ दशमलव ४२ गुणा, तरलता अनुपात २० दशमलव शून्य २ प्रतिशत, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार १ सय ४० दशमलव १६ र प्रतिशेयर शेयर नेटवर्थ रू. १ सय ५२ दशमलव ५५ छ । बिहीवारको शेयरमूल्य रू. ३ सय २० कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.०१ गुणा
अर्निङ यिल्ड रेशियो : ८.२५ प्रतिशत
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्ममा ९ हजार ९ सय ४४ कित्ता खरीद गर्ने माग र ६ हजार ५ सय ४३ कित्ता शेयर विक्री गर्ने माग छ ।
निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन लंगलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने–बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ । आरएसआई न्यूट्रल जोन ५८ दशमलव शून्य १ बिन्दुमा छ । यसले शेयर खरीदविक्री सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै कम्पनीको स्ट्यान्डर्ड डेभिएशन कम्पनीको ३ दशमलव ८१ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्य रेखा र १४ दिने औसत मूल्यरेखा एक–आपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ३ सय २० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ३ सय २३ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ३ सय ५ मा टेवा पाउने देखिन्छ ।