ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिमको फागु

Mar 19, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशमा मनाइने मुख्य चाडपर्वमध्ये होली पनि एक हो । यो पर्वलाई प्रदेशवासीले विशेषरूपमा मनाउने गरेका छन् । विगतमा जस्तै यस वर्षको होलीलाई पनि भव्यसँग मनाउन प्रदेशवासी जुटिसकेका छन् । सद्भाव र आत्मीयता बाँड्ने अवसरको रूपमा प्रदेशवासी हरेक वर्ष यो पर्वमा सहभागी हुँदै आएको सुदूरपश्चिम सांस्कृतिक संवद्र्धन समिति, धनगढीले बताएको छ । सुदूरपश्चिममा होलीको माहौल बनिसकेको समितिले बताएको छ । प्रदेशका केही पहाडी जिल्लामा १ महीनासम्म होली खेलिन्छ । बैतडी र दार्चुलामा रङको होली खेलिन्छ भने अछाम, बझाङ र बाजुरामा अबिरको होली खेलिन्छ । अबिरसहित आफ्नो परम्परागत संस्कृति झल्किने पोशाकमा यहाँ बासिन्दा होली खेल्छन् । बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी भएर होलीलाई भव्यसँग मनाउने चलन परापूर्वकालदेखि चल्दै आएको समितिका संस्थापक सदस्य मायाप्रकाश भट्टले बताए । प्रदेशभित्रका डोटी र डँडेलधुरामा रङ र अबिर खेलेर होली मनाउने गरिएको उनले बताए । प्रदेशका अछामलगायत जिल्लामा भगवान् कृष्णको गाथा गाएर १५ दिनसम्म होली मनाइन्छ भने कैलाली–कञ्चनपुरमा राना थारू समुदायले प्रेम बाँड्ने अवसरको रूपमा यसलाई १ महीनासम्म मनाउने गरेको सांस्कृतिक अभियन्ता पदमराज जोशीले बताए । ‘महŒवपूर्ण चाडको उद्गमस्थल सुदूरपश्चिम प्रदेश हो,’ उनले भने, ‘रङको साथ लामो समयसम्म होली मनाइने प्रदेश पनि यही हो ।’ यो प्रदेशमा थारू समुदायले मनाउने होलीमा पहाडी समुदायको साथ हुन्छ भने पहाडी समुदायले मनाउने होलीमा थारू समुदायको साथ हुने गरेको छ । त्यसैले होलीलाई अनेकतामा एकताको सन्देश दिने पर्वको रूपमा प्रदेशवासीले हेर्ने गरेको संस्कृति संवद्र्धन अभियन्ताहरू बताउँछन् । प्रदेशमा विभिन्न सामाजिक संघसंस्थाले होली सामूहिक रूपमा मनाउने तयारी गरेका छन् । प्रदेशभित्र लामो समयसम्म होली मनाउने परम्परा भएकाले यसले आर्थिक गतिविधि बढाउने समितिका सदस्य भट्टले बताए । संघसंस्थाहरूले आयोजना गर्ने होली विशेष कार्यक्रमबाट आर्थिक संकलन समेत हुने गरेको छ । यस्तो रकम विभिन्न सामाजिक कार्यमा लगाउन मद्दत पुग्ने भएकाले पनि संघसंस्थाको नाममा होली खेल्नेहरू बढ्दै गएका छन् । पहाडी समुदायले भन्दा थारू समुदायले यो क्षेत्रमा मौलिक रूपमा होली मनाउने गरेको पर्यटन व्यवसायी रबिनकान्त पन्तले बताए । ‘राना थारू समुदायले आफ्नो परम्परागत पोशाकसहित मनाउने मुख्य पर्व होली पनि हो,’ उनले भने । पछिल्लो समय होलीको मौलिकतामा क्रमिक ह्रास आउन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘पुरानो पुस्ता संस्कृति जोगाउने भावनाले होलीमा सहभागी हुन्छ,’ उनले भने, ‘नयाँ पुस्ता भने सांस्कृतिक संरक्षणका लागि भन्दा पनि रमाइलो र पेशनको रूपमा होली खेल्ने गरेको पाइन्छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)