ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामाजिक अन्तरघुलन र मित्रताको साझा पर्व

Mar 19, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपालमा धर्म, जाति र भौगोलिक क्षेत्रअनुसार विभिन्न पर्व मनाइँदै आएको छ । यस्ता पर्वको आ–आफ्नै विशेषता छन् । यस्तै पर्वमध्ये फागू पूर्णिमा (होली) पनि एक हो । मुख्यतः आपसमा रङ लगाएर मनाइने फागु पर्व सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ, जसले नेपाली समाजमा छुट्टै पहिचान बनाएको छ । विशेषगरी यो पर्व सामाजिक सद्भाव, बन्धुत्व र आत्मीयता बढाउने माध्यम बन्दै आएको छ । नेपालका अन्य कतिपय पर्व घरपरिवार र आफन्तबीच मनाइन्छ । यस्तै केही पर्व भौगोलिक क्षेत्र, जाति तथा वर्ग समुदायमा केन्द्रित हुन्छन् । नेपालीको महान् पर्व मानिने बडादशैं घरपरिवार र आफन्तजनसँग मनाइन्छ । तिहार मुख्यगरी दिदीभाइ तथा दाजुबहिनीमा सीमित हुन्छ । यसैगरी तीजले महिलालाई मात्र जोडको देखिन्छ । साथै ल्होसार, इद जस्ता अन्य पर्व पनि सम्बन्धित धर्मलम्बीसँग मात्र सम्बन्धित छन् । यी पर्वका आफ्नै विशेषता छन्, मौलिकता र विशिष्टता नभएका होइनन् । तर पनि आमरूपमा यस्ता चाडपर्वले सम्पूर्ण नेपाल समाजलाई जोड्न नसकेको महसूस बेलाबेला गरिँदै आएको छ । चाहना हुँदाहुँदै पनि धार्मिक तथा पारिवारिक मान्यताका कारण नेपाली समाजमा बसोवास गर्ने सबै मानिससँग बसेर यी पूर्व मनाउन सकिँदैन । तर फागु पर्व भने जातजाति, भाषाभाषी, धर्म–सम्प्रदाय, भूगोल र वर्गको साँघुरो दायराभन्दा निकै उदार छ । फागु पर्वको धार्मिक तथा पौराणिक पृष्ठभूमि हिन्दू धर्म नै भए पनि यसलाई जहाँ, जसले र जसरी पनि मनाउन सक्छन् । फलस्वरूपमा समाजमा हुने विभिन्न विभेद मेटाउन समेत यसले महत्त्वपूर्ण टेवा पुगेको छ । होली यस्तो उत्सव हो, जसलाई सबैले उत्तिकै हार्दिकता, अपनत्व र हर्षोल्लासका साथ मनाउँछन् । वास्तवमा यो पर्वले नेपाली समाजलाई सधैं एकता र समभावको सन्देश दिने गरेको छ । काम विशेषले विश्वका विभिन्न कुनामा पुगेका नेपालीहरू यो पर्व मनाउन छुटाउँदैनन् । यसले उनीहरूमा आपसी मेलमिलाप, राष्ट्रियता र सामाजिक भावना समेत बढाउँदै आएको छ । रङको प्रयोग फागु पर्वको मुख्य विशेषता नै हो । परम्परागत रूपमा हेर्दा यो पर्वमा मुख्यतः अबिरको प्रचलन हुने गरेको देखिन्छ । समय परिवर्तन र चाडपर्व मनाउने शैली फेरिएसँगै अहिले भने रातो बाहेकका रङको प्रयोग पनि स्वीकार्य हुन थालेको छ । यद्यपि पर्व मनाउने नाममा विभिन्न विकृति पनि देखिनु चिन्ताको विषय बनेको छ । फागु पर्व बालकदेखि वृद्धसम्मले मनाउने भए पनि यसले विशेषगरी युवा जमातलाई बढी आकर्षित गरेको देखिन्छ । फागु पूर्णिमाको दिन स्थानीय स्तरमा देखिने उनीहरूको उपस्थितिले पनि यसको संकेत गर्छ । उनीहरू यसलाई उत्साहका साथ मनाउँदै आएका छन् । पछिल्लो समय विदेशीहरू पनि होली खेल्न, यो पर्वमा रमाउन नेपाल आउने गरेका छन् । उनीहरूले काठमाडौं, पोखरा, चितवत, विराटनगर जस्ता प्रमुख शहरमा हुने होली विशेष कार्यक्रममा मनोरञ्जन लिँदै आएका छन् । यसले सर्वसाधारणलाई विदेशी नागरिकसँग सम्बन्ध कायम गर्न सघाउ पुगेको छ । साथै पर्यटन प्रवर्द्धनमा पनि उल्लेख्य टेवा पुर्‍याएको छ । यसरी फागु पर्व आम नेपालीलाई आपसमा जोड्ने सेतु बनेको छ । पछिल्लो समय फागु पर्वमा विकृति पनि बढ्दै गएको छ । अस्वस्थकर रङ, लोला, पिचकारी लगायतको नशालु तथा मादक पदार्थको सेवनले सुरक्षामा पनि चुनौती देखिएको छ । यस्ता समस्याको न्यूनीकरणमा सर्वसाधारणदेखि सबन्धित निकायले पनि बेलैमा ध्यान दिनुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)