परापूर्वकालमा मानव सभ्यता विकास गर्ने क्रममा विभिन्न संस्कार बसाल्ने क्रममा भक्तपुरमा फागुको उत्सव विशेष रूपमा मनाउने गरिएको बुझाइ भक्तपुरवासीको छ । फागु संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वास्थ्यसँग पनि जोडिएको मान्यता छ ।
पुरुष जननेन्द्रियका प्रतीक काठको लिंग र स्त्री जननेन्द्रीयका प्रतीक कपडाको योनीलाई भीमसेन मन्दिरमा समागम गराएपछि भक्तपुरमा फागु पर्व शुरू हुन्छ । झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए तापनि कुनै सञ्चारको माध्यम नभएको परापूर्व कालमा देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको प्रस्ट हुन्छ । शारीरिक सम्बन्ध राख्ने तरीका सबै मानिसले बुझून् अनि यसलाई अश्लील र छाडा सिकाइ भन्ने भान नपरोस् भनेर भीमसेन र द्रोपदीको समागमको रूपमा यौन शिक्षा दिइएको बुझ्न सकिन्छ ।
जगत्प्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिरसँगै रहेको भीमसेनको मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर फागुको शुरुआत गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको काठको ठूलो लिंग (स्थानीय भाषामा लग)लाई टोल–टोलमा घुमाएर पूजा गरिन्छ । काठबाट बनेको दुई हात लामो लिंग करीब ३० इञ्च मोटाइको हुन्छ ।
कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने फागु पर्व भक्तपुरमा भने भीमसेन र द्रौपदीसँग सम्बन्धित छ । फागुन शुक्ल अष्टमीका दिन लिंग र योनीको समागम गर्नुलाई स्थानीय भाषामा ‘चीर स्वायगु’ भनिन्छ । यसले गहिरो सम्बन्ध गाँस्ने भने अर्थ बुझाउँछ । लिंगको टुप्पोमा कपास झुन्ड्याइएको हुन्छ । लिंग र योनीको समागम गराउँदा कपास खस्नेगरी धकेल्नुपर्छ भनी स्थानीयहरू जिस्किने गर्छन् । यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिन सकिन्छ । कपास खसाल्न सके घरमा झगडा नहुने मान्यता छ । फागुको १ हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्रौपदीको योनीमा भीमसेनको लिंग घचेटेर ढोग्ने गर्छन् । यसले गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने विश्वास छ ।
भीमसेन गुठीका गाइजुहरू, जो विगतमा गाइने थिए, उनीहरू ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिंगदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको होे कि’ भनेर भजनकीर्तन गर्छन् ।
भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘अबिरया फागु तंचाया ल्यासे, अबिर छगुं ख्व हिसी दयेक बी’ अर्थात् ‘अबिरको फागुले रिसायौ की युवती, अबिरले तिम्रो मुहार राम्रो बनाउनेछ’ भनेर भाका हाल्ने गर्छन् । पूर्णिमाको दिन युवाहरू आफूले मन पराएको केटीको आँगनमा गई यही भाका हाल्छन् र प्रेम प्रस्ताव गीतमार्फत राख्छन् । केटीले मन पराए अबिर गालामा दल्न दिन्छन् र मन नपराएमा टाढाबाट अबिर छर्केर युवाहरू चित्त बुझाउँछन् ।
पूर्णिमाका दिन भीमसेनको लिंग बोकेर ब्र≈मायणी नदीमा लगेर धोए छोरा जन्मिने जनविश्वास पनि छ । यही विश्वासका आधारमा लिंग बोक्न चाहनेकोे प्रतिस्पर्धा नै हुने गर्छ । यसले समागमपछि यौनांग धुनुपर्छ भने सन्देश दिएको छ । पूर्णिमाको साँझ लिंग धोएपछि भक्तपुरमा फागुको विधिवत् अन्त्य हुन्छ । विशेषगरी वसन्त पञ्चमीदेखि फागु पूर्णिमासम्म विवाहको लगन हुन्छ । यसअवधिमा नवविवाहिताहरूलाई समागम गर्ने तरीका सिकाइ यौनउमंग जगाउने र यौनांग सफा राख्नुपर्छ शिक्षा संस्कृतिमार्फत दिएको पाइन्छ ।
फाल्गुण शुक्ल पूणिर्माका दिन रङको फागु खेलेपछि उक्त दिन साँझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गुलाबको फूल, अत्तर र अमुखसहित पूजा गरेपछि नगर परिक्रमा गर्ने प्रचलन पनि छ । त्यसबेला बाटोमा रहेको देवीदेवतालाई तेलमा मुछेको अबिरको डल्लाले छरी साँझ परेपछि दत्तात्रय मन्दिर पु¥याउने प्रचलन रहिआएको छ ।
होलिया मेला, मय्जू मस्युला अबिर भचाः नः, तये मज्युला
‘फागुको बेला मैयाँलाई थाहा छैन र, अबिर अलिकति पनि राख्नु हुन्न र’ अर्थको योे गीत नेवारी समाजमा फागुपर्वमा गाइने सर्वाधिक लोकप्रिय गीत हो । त्यसैगरी, झ्या दकंः तुँकं मा व हे ल्यासे जित म, व ल्यासे मदेकः जा हे मनया अर्थात् ‘झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न’ भन्ने बोलले पनि फागु महिला लक्षित चाड भएको पुष्टि हुन्छ । विशेषगरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यंग्य गर्ने चाड फागु भक्तपुरमा भने बेग्लै रौनक र तरीकाले मनाउने गरिन्छ ।
फागुपर्वलाई विशेषगरी नेवारी समुदायमा महिला लक्षित पर्वका रूपमा लिने गरेको पाइन्छ । फागुका परम्परागत लोकभाका र गीतसंगीत पनि महिला र यौनसँग सम्बन्धित छन् । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूल फुल्न थाल्ने मनोरम वातावरणले मानिसको मन मस्तिष्कमा एक खालको तरंग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद् ओम धौभडेल बताउँछन् । उनका अनुसार १७औँ शताब्दीदेखि यस्तो चलन चलेको हो ।
कृषि पेशामा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौन रसयुक्त संगीत गुन्जने गरेको उनको भनाइ छ ।