हिरण्यकश्यपुकी बहिनी होलिकाले विष्णुका भक्त प्रह्लादलाई मार्न अग्नि नजीक जाँदा होलिका आफै जलेर नष्ट भएको कारण असत्यमाथि सत्यको जित भएको दिनको रूपमा फागु पर्व (होली) मनाइन्छ । हिन्दू धर्म मान्नेहरूको बाहुल्य भएको नेपालमा यसको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुन्छ ।
नेपालमा पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन र तराईमा भोलिपल्ट होली मनाइन्छ । नेपालको विशेष शहरहरू काठमाडौं, पोखरा, धरान, चितवन, विराटनगर, धनगढी लगायत ठाउँमा यो पर्वको बेग्लै माहौल हुने गर्छ ।
प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागु पर्व शुरू हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रूखको हाँगालाई पूर्णिमाको अघिल्लो अष्टमीका दिन विशेष पूजा गरी ठड्याइने गरिन्छ । रंगीचंगी कपडा झुन्ड्याइएको टुप्पोमा मयलको रूखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकआपसमा अबिर छ्यापी फागुको शुभारम्भ गरिन्छ
उक्त अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ । असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चीर उठाउने र एक सातापछि फागु पूर्णिमाका दिन सो चीर ढलाएर टुँडिखेलमा पुर्याई दहन गर्ने परम्परा छ
होलिका दहन
फाल्गुण शुक्ल पूणिर्माको साइतमा चीरलाई ढाली तानेर लगी टुँडिखेलको मध्यभागमा पु¥याएर दाह गरेर पर्व समापन गरिन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । टुँडिखेलमा दाह गर्नुअघि चीरको अन्तिममा दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुको निकै घुइँचो लाग्ने गर्छ । चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा मानिसले घर–घर लैजाने चलन छ । यसैगरी ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य (चक्रमणशीलको मूर्तिलाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा ९ पटक ओहोरदोहोर गराउने परम्परा छ । नेपाल भाषामा यसलाई ‘गुह्रु न्यायेकेगु’ भनिन्छ । त्यसो गर्नुअघि मूर्तिलाई बाजागाजाका साथ होली खेल्दै जात्रा गरेर ठमेल नगर परिक्रमा गराइन्छ । सिंहसार्थ बाह भनिने उक्त मानवाकृत रातो चकँ द्यको मूर्तिलाई बाजागाजासहित जात्रा गर्दै ठमेलबाट ज्याठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार पु¥याउने परम्परा छ । चकँ द्य जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैले लेखेको भनिने ‘प्रज्ञापारमिता’ नामका ठूल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो । तर केही वर्षयता ‘ठ्यासफु’का रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडिएको छ ।
व्यापारीहरूको नेतृत्व गर्दै ल्हासामा व्यापार गर्न गएका सिंहसार्थ बाह स्वदेश र्फकने क्रममा सँगै आएका सबै व्यापारी मारिएका र उनी मात्र बाँचेर सकुशल आफ्नो घर फर्केको खुशियालीमा सिन्दूर जात्रा गरी होली खेल्न थालेपछि चकँ द्य जात्रा गर्ने परम्परा चलेको लोककथन पनि छ । ऋतुराज वसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमणीय देखिन थालेको वातावरमा ८ दिनसम्म एकआपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यस राष्ट्रिय पर्वमा भाङ, घोट्टा पिउने तथा ख्याली, टप्पा, वसन्त राग गाउँदै नाच्दै निकै रमाइलो गरिन्छ । युवायुवतीले यस पर्वलाई आफूले मन पराएकासँग लामो समयदेखि आफूले प्रकट गर्न नसकेको मायाप्रीतिलाई नाच गानको माध्यमबाट प्रकट गर्ने अवसरको रूपमा पनि लिने गर्दछ ।
विभिन्न देशमा होली
नेपाली र हिन्दू धर्मावलम्बी पुगेका हरेक देशमा फागु पर्व मनाइँदै आएको छ । अमेरिकामा रहेका नेपालीले गत हप्तादेखि नै आफ्नो समय अनुकूलमा होली मनाउन थालिसकेका छन् ।
होली अन्य देशमा विभिन्न नामले मनाइन्छ । थाइल्यान्डमा ‘संक्राङ’ नाममा होली मनाइन्छ भने म्यान्मामा धिजङ पर्वको रूपमा यो प्रसिद्ध छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले, अमेरिका, जापान, इजिप्ट, इन्डोनेशिया आदि देशमा पनि आआफ्नै प्रकारले यो पर्व मनाइन्छ । पाकिस्तान, भुटान, बंगलादेश, गयाना, बेलायत, मौरिसस, फिजी, दक्षिण अफ्रिका, अमेरिकालगायत देशमा पनि होलीलाई धुमधामसँग मनाउने गरिन्छ ।
होली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ । भगवान् श्रीकृष्णको व्रजभूमि मथुरा, वृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न पर्यटकको ओइरो नै लाग्छ । गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलंगाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर पञ्जाव, मध्य प्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ । त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले प्रहार गर्ने होली) निकै लोकप्रिय छ । धार्मिक र सामाजिक रूपले महिलालाई जिस्काउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो । किंवदन्ती अनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्काएका थिए । प्रतिकारमा बर्सनाका महिलाले उनलाई लखेटेका थिए । त्यति बेलादेखि नै यो परम्परा कायम रहेको प्रसंग पाइन्छ । छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ । त्यहाँको जोगिरा गायन अर्थात् ‘जोगिरा सरर...’ पूरा एशियामा लोकप्रिय छ ।