कालिका लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, ६ चैत २०७५)
Mar 20, 2019
 
लगानी
कम्पनी विश्लेषण
राष्ट्रिय स्तरको कालिका लघुवित्त वित्तीय संस्थाले ७० ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । चालू आवमा कम्पनीले कार्यक्रम विस्तार र गुणस्तर दुवै पक्षलाई साथै लैजाने नीति लिएको छ । सोहीअनुसार नयाँ क्षेत्रमा कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेको ठाउँलाई प्रथामिकता दिनेछ । आगामी दिनमा आफ्नो स्रोत र साधनलाई परिचालन गरी दिगो रूपमा लघुवित्त सेवा गर्ने योजना छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ४९ लाख १८ हजार नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २४ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ६५ लाख ४१ हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा कमी आएकाले नाफा घटेको हो । कम्पनीको चुक्तापूँजी ३० प्रतिशत बढेर रू. १० करोड पुगेको छ भने रिजर्भ कोषमा रू. ५ करोड १८ लाख छ । २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।
कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७४/७५ र २०७५/७६ बीच तुलना गर्दा :
पुस मसान्तसम्ममा कम्पनीले रू. ६० करोड २६ लाख निक्षेप संकलन गरेको छ भने रू. १ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ४१ प्रतिशत र कर्जा प्रवाह ५१ प्रतिशत बढी हो । कम्पनीको लगानी रू. १० लाख छ ।
कम्पनीले रू. ६ करोड २ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४५ प्रतिशत बढी हो । कर्मचारी खर्च शत प्रतिशत बढेर रू. ४ करोड ७० लाख पुगेको छ । शाखा विस्तार बढेकाले कर्मचारी खर्चमा वृद्धि भएको हो ।
रू. ४९ लाख ४८ हजार खराब कर्जा उठाउन कम्पनी सफल भएको छ । निष्क्रिय कर्जा १ दशमलव ५९ प्रतिशत पुगेको छ । कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. १ करोड ४२ लाख छुट्याएको छ । पूँजीकोष पर्याप्तता ९ दशमलव ६७ प्रतिशत र पूँजीकोष लागत ८ दशमलव ९१ प्रतिशत छ ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ११, मूल्य आम्दानी अनुपात १ सय, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ५ सय ७६ दशमलव २९, तरलता अनुपात ८ दशमलव ९९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ४८ दशमलव ०३ छ । मंगलवारको शेयरमूल्य रू. ८ सय ८ कायम भएको छ ।
अर्निङ पावर रेशियो : ण्.ण्ण्द्द गुणा
अर्निङ यिल्ड रेशियो १.१२ प्रतिशत
खरीद चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ४ हजार ८ सय १० कित्ता शेयर खरीद गर्ने र १ हजार १ सय ४० कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६१ दिनको शेयर कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा पछिल्ला आकृति इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । कम्पनीको आरएसआई न्युट्रल जोन ४२ दशमलव ५५ विन्दुमा छ । यसले शेयर खरीदविक्री सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १७ दशमलव १२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । कम्पनीको सोही अवधिको मुभिङ एभरेजमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ८ सय ८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ६६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ७ सय ७४ मा टेवा पाउने देखिन्छ ।