आईसीएफसी फाइनान्स : कम्पनी विश्लेषण (शुक्रवार, ८ चैत २०७५)
Mar 22, 2019
 
लगानी
कम्पनी विश्लेषण
आईसीएफसी फाइनान्स कम्पनीले २०६१ साउन २ गतेदेखि कारोबार शुरू गरेको हो । गुणस्तरीय सेवा प्रदान गर्नुका साथै नयाँ व्यावसायिक योजनाको विकास, लगानीका क्षेत्रहरूको खोजी, व्यावसायिक सञ्जाल वृद्धि तथा व्यावसायिक विकासका लागि शाखा विस्तार गर्दै लैजाने कम्पनीको आगामी योजना छ । कम्पनीले २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । चालू आव २०७५/७६ को दोस्रो त्रैमासमा रू. ६ करोड १७ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशत कम हो । गत आवको सोही अवधिमा कम्पनीले रू. ७ करोड १८ लाख नाफा कमाएको थियो । चुक्तापूँजी रू. ८८ करोड २१ लाख छ भने रिजर्भ कोषमा रू. २७ करोड ४१ लाख छुट्याएको छ ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
पुस मसान्तसम्ममा कम्पनीले रू. ९ अर्ब २ करोड निक्षेप संकलन गरेको छ भने रू. ७ अर्ब ६० करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप १९ प्रतिशत र कर्जा प्रवाह २५ प्रतिशत बढी हो । कम्पनीले रू. ७५ करोड ६७ लाख लगानी गरेको छ ।
कम्पनीले रू. १६ करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३५ प्रतिशत बढी हो । सञ्चालन नाफा ५१ प्रतिशत बढेर रू. ७ करोड ९१ लाख पुगेको छ । रू. ५ करोड ९७ लाख कर्मचारी खर्च भएको छ ।
सम्भावित जोखिमबापतको व्यवस्थामा रू. २ करोड २३ लाख छुट्याएको छ भने रू. १ करोड खराब कर्जा उठाउन सफल भएको छ । निष्क्रिय कर्जा शून्य दशमलव ३२ प्रतिशत, पूँजीकोष लागत ८ दशमलव ८६ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ दशमलव ३० प्रतिशत छ ।
कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दनी अनुपात रू. १४, मूल्य आम्दानी अनुपात ११ दशमलव ०१ र तरलता अनुपात २३ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३१ दशमलव ०८ छ । बिहीवारको शेयरमूल्य रू. १५० कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.००४ गुणा
अर्निङ यिल्ड रेशियो : ९.३३ प्रतिशत
निष्कर्ष
मैनबत्ती विश्लेषण : कम्पनीको ५४ दिनको कारोवारको अन्तिम दिनमा फोरप्राइस डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले ‘पर्ख र हेर’ को अवस्था देखाउँछ ।
आरएसआई : कम्पनीको ५४ दिनको कारोबारमा आरएसआई न्युट्रल जोन (५० दशमलव ५३ स्केल) मा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
स्ट्यान्डर्ड डेभिएशन : कम्पनीको ५४ दिनको कारोबारमा स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्छ ।
मुभिङ एभरेज : कम्पनीको ५४ दिनको कारोबारमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकआपसमा जोडिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । हालको मूल्य रू. १ सय ५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ५४ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. १ सय ४५ मा टेवा पाउने देखिन्छ ।