युनाइटेड फाइनान्स : कम्पनी विश्लेषण (शुक्रवार, ८ चैत २०७५)
Mar 22, 2019
 
लगानी
कम्पनी विश्लेषण
२०५१ सालमा वित्तीय कारोबार शुरू गरेको युनाइटेड फाइनान्सले हालसम्म २४औं वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । एक केन्द्रीय कार्यालयसहित १४ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको यस कम्पनीले नेपाल राष्ट्र बैंकले तोकेबमोजिम ८० करोड रुपैयाँ चुक्तापूँजी आर्थिक वर्ष २०७३/७४ मै पुर्याइसकेको छ । पूँजीवृद्धिका लागि यस अवधिमा बोनसलाई माध्यम बनाएको कम्पनीले गतवर्षको मुनाफाबाट भने ५.२६ प्रतिशत नगद लाभांश दिएकोे छ । कम्पनीले चालू आर्थिक वर्षभित्र भारतको कोचीस्थित प्रधान कार्यालय रहेको मुथुट फाइनान्स लिमिटेडलाई वैदेशिक साझेदारको रूपमा संस्थापक शेयरधनी अन्तर्गत रहने गरी भित्र्याउने योजना लिएको छ । यसका लागि कम्पनीले प्रिमियमसहित प्रतिकित्ता रू. १९० का दरले २१ लाख कित्ता थप संस्थापक शेयर जारी गर्नेछ । कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. ३ करोड ३३ लाख ४० हजार खुद नाफा गरेको छ । यस त्रैमासमा सञ्चालन नाफा ऋणात्मकबाट सुधारिएकाले खुद नाफा गतवर्षको भन्दा ३ गुणा बढेको हो । गतवर्ष दोस्रो त्रैमासमा रू. १ करोड ४ लाख ६६ हजार सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष रू. १ करोड ८६ लाख ९ हजार सञ्चालन नाफा गरेको छ ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
गतवर्षको तुलनामा चुक्तापूँजीमा कुनै परिवर्तन देखिएको छैन । कम्पनीको चुक्तापूँजी रू. ८० करोड ५ लाख १९ हजार छ ।
जगेडा कोष रकम यस वर्ष रू. २१ करोड ६८ लाख ९५ हजार छ । यो रकम गतवर्षको यसै अवधिमा रू. १७ करोड ६ लाख ३६ हजार थियो । २७ प्रतिशत जगेडा कोष रकम बढेको छ ।
निक्षेप संकलन गतवर्षको तुलनामा ७ प्रतिशत बढी रू. ५ अर्ब ९७ करोड ७० लाख २ हजार र कर्जा प्रवाह करीब १६ प्रतिशत बढी रू. ५ अर्ब ३४ करोड २९ लाख ५८ हजार छ ।
यस वर्ष साढे १८ प्रतिशत बढी रू. ४१ करोड ४६ लाख ९० हजार ब्याज आम्दानी गरेको कम्पनीले करीब ७ प्रतिशत बढी रू. २७ करोड ४५ लाख ४७ हजार ब्याजमा खर्चिएको छ ।
खराब कर्जा संकलन ११८ प्रतिशत बढेको छ । गतवर्षको दोस्रो त्रैमासमा रू. १ करोड ५५ लाख ३ हजार खराब कर्जा उठाएको कम्पनीले यस वर्ष रू. ३ करोड ३७ लाख ८५ हजार उठाएको छ ।
कम्पनीको पूँजीकोष लागत ९ दशमलव ८२ प्रतिशत र पूँजीकोष पर्याप्तता १६ दशमलव ६६ प्रतिशत छ ।
दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ८.३३, मूल्य आम्दानी अनुपात १९ दशमलव ८१ गुणा, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. ९११ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. १२७ दशमलव ०९ छ भने तरलता अनुपात २० दशमलव ५० प्रतिशत छ ।
अर्निङ पावर रेशियो : ०.००४ गुणा
अर्निङ यिल्ड रेशियो : ४.०२ प्रतिशत
निष्कर्ष
कम्पनीको ३७ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रिभर्स हुने संकेत गर्छ । यसको विश्वसनीयता भने सामान्य छ । आरएसआई ओभरबट जोन ७८.९१ स्केलमा छ । यसले शेयर खरीद चाप बढेको देखाउँछ । त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन १८ दशमलव ७४ विन्दुमा छ । उतारचढाव कम छ ।
यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । २६ दिने औसत मूल्यरेखा र १४ दिने मूल्यरेखाभन्दा हालको मूल्यमाथि छ । हालको शेयरमूल्य रू. २ सय ७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय १२ मा प्रतिरोध र सस्तिएमा रू.१ सय ४८ मा टेवा पाउने देखिन्छ ।