सरकारले बोकेको समृद्धिको सपना पूरा गर्न यतिबेला ठूलो परिमाणको लगानी आवश्यक छ । त्यसमा पनि विकासको मेरुदण्ड भनिएको ऊर्जामा त प्राथमिकताका साथ लगानी गर्नुपर्नेछ । यसै मान्यताका साथ पछिल्लो समयमा सरकारले अन्य पूर्वाधारका साथै ऊर्जाका परियोजना विकासमा बाधक बनेका सवालमा नयाँ ऐन, नियमावलीहरू ल्याउने तथा संशोधन गर्ने कामसमेत गरेको छ ।यसअघिको लगानी सम्मेलन (सन् २०१७)का बेला पनि ऊर्जा क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गर्ने लगानीकर्ताहरू आएका थिए । तर धेरै विद्युत् उत्पादनका लागि ठूलो लगानी भिœयाउन तत्पर उनीहरू त्यतिबेला विद्युत् निर्यातको नरहेका कारण लगानी लिएर आएनन् । यो २ वर्षको अवधिमा परिदृश्य परिवर्तन भएको छ । नेपालमा उत्पादित विद्युत् भारत निर्यात गर्न सकिने मात्रै होइन, एक देशपारिको बंगलादेशसमेत नेपालको जलविद्युत्मा लगानी गरेर उत्पादन गर्न तथा यहाँबाट विद्युत् किनेर लैजान पनि तत्पर भएको छ ।विद्युत्को ठूलो बजार रहेका यी देशहरूसँगको सकारात्मक अवस्थाले यो पटकको लगानी सम्मेलनबाट ऊर्जाक्षेत्रमा इच्छा मात्रै व्यक्त नभई लगानी नै आउने अपेक्षा गरिएको छ । शुक्रवारदेखि शुरू हुने गरेको लगानी सम्मेलनको ऊर्जाका सन्दर्भमा औचित्यबारे आर्थिक अभियान दैनिकले केही दिनअघि सरोकारवालाहरूबीच छलफल आयोजना गरेको थियो । प्रस्तुत छ, छलफलमा व्यक्त भनाइको सार :नेपालमा लगानीको वातावरण बनेको छप्रवीणराज अर्यालसहसचिवऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
लगानी सम्मेलन अगाडि ऊर्जाका साथै अन्य क्षेत्रका केही ऐन, नियमावलीहरू ल्याउने काम भएका छन् । ऊर्जाकै लागि भनेर हेजिङ सम्बन्धी नियमावली ल्यायौं । वैदेशिक लगानी सम्बन्धी ऐन पनि स्वीकृत भइसकेको छ । धेरै समयदेखि परियोजना निर्माण गर्न वनको जग्गाको सट्टा जग्गै दिनुपर्ने प्रावधानका सम्बन्धमा धेरै कुरा उठेको थियो । यो विषय प्रधानमन्त्री ज्यूको समेत सहभागिता रहने राष्ट्रिय विकास समस्या समाधान समिति (एनड्याक)को बैठक लगायत विभिन्न ठाउँमा हाम्रो मन्त्रालयले राख्दै आएको छ । यही क्रममा कोषको परिकल्पना आयो र कार्यान्वयन गरौं भन्दा ऐन नआई गर्न नमिल्दो रहेछ । त्यसैले अहिले ‘केही नेपाल ऐन’ संशोधन भएर वन विकास कोष स्थापना गर्ने काम सकिएको छ । यस आधारमा अब वन मन्त्रालयले पनि २०७४ को कार्यविधि परिमार्जन गर्नुपर्ने हुन्छ ।
अघिल्लो पटकको लगानी सम्मेलनमा आएका प्रतिबद्धताले उत्साहित भएरै बाधाका रूपमा रहेका ऐन, नियमावली, कार्यविधिहरू परिमार्जन, सरलीकृत गर्नुपर्छ भन्ने महसूसका साथ काम भएका छन् । ऊर्जाक्षेत्रमा लगानी आउन बजारको उपलब्धता, उत्पादित ऊर्जा बजारसम्म पुग्ने सुनिश्चितता अर्थात् प्रसारण लाइनको व्यवस्था र बजार सहज हुनुपर्ने हुन्छ । नजीक भएको हिसाबले विगतदेखि नै भारतको बजार ताकिरहेका थियौं । बंगलादेशले पनि यहाँबाट बिजुली लैजाने समझदारी भइसकेको छ । यस विषयमा नेपाल, भारत र बंगलादेश त्रिपक्षीय छलफलहरू गर्ने भन्ने विषयमा तीनओटै देश सहमत भएका छन् ।
नेपालमा जल तथा ऊर्जा आयोगको सचिवालयले ७ दशमलव ९ प्रतिशत र ९ प्रतिशत आर्थिक वृद्धिको अवस्थामा हुने हाम्रो ऊर्जा मागको प्रक्षेपण गरेको छ । सरकारले आन्तरिक रूपमै विद्युत्को बजार खोज्ने नीति पनि लिएको छ । त्यसमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै गएको छ । गार्हस्थ्य उपभोगले विद्युत्को त्यति ठूलो बजार निर्माण हुँदैन । त्यसका लागि उद्योगधन्दाको विकास नै आवश्यक हुन्छ । यो पाटो ऊर्जा मन्त्रालयको नभई अर्को निकायले हेर्नुपर्छ ।
विगतमा ठूलो संख्यामा भारतीय लगानीकर्ता यहाँ विद्युत् उत्पादनका लागि आएको र पछि फर्किएकोमा हाम्रो प्रसारण प्रणाली पनि एउटा कारण थियो होला भन्न सकिन्छ । अहिले विद्युत् उत्पादनमा सरकारका साथै निजीक्षेत्रको निकै उत्साहजनक सहभागिता छ । त्यसैकारण यतिबेला हामी प्रसारण प्रणालीमा धेरै नै काम गरिरहेका छौं ।
योभन्दा अगाडिको लगानी सम्मेलनको अवस्था र अहिलेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा मूल्यांकन गर्दा बजार (अन्तरराष्ट्रिय) पहिलेभन्दा केही हदसम्म स्पष्ट भएको छ । यसको मतलव आज उत्पादन भएको बिजुली भोलि नै गइहाल्छ भन्ने होइन । भारततर्फ पनि सेन्ट्रल इलेक्ट्रिसिटी रेगुलेटरी कमिशन (सीईआरसी)ले पहिले प्रसारण लाइन कहाँबाट कहाँ लाने भन्ने स्पष्ट व्यवस्थासहित कार्यविधि बनाउनुपर्छ ।
हेजिङको व्यवस्था
लगानी भित्र्याउन बाधक रहेको एउटा कुरा विदेशी मुद्रासँगको हाम्रो मुद्राको विनिमय दरमा रहेको उतार–चढाव हो । त्यसैलाई सम्बोधन गर्न सकिन्छ कि भनेर हेजिङ नियमावली ल्याइएको छ । अधिकतम १० वर्षसम्म हेजिङ सुविधा उपलब्ध गराउने भनी नियमावलीमा व्यवस्था गरिएको छ । त्यसको शुल्क निर्धारण चाहिँ सम्बन्धित प्रवद्र्धक, सम्बन्धित मन्त्रालय र राष्ट्र बैंक बसेर गर्ने भन्ने छ । यो सुविधामा स्वदेशी र विदेशी लगानीकर्ता भनेर विभेद गरिएको छैन ।
निजीक्षेत्रलाई बेवास्ता गरेको छैन
निजीक्षेत्रले हामीले भोगेका समस्या समाधानमा सरकारले सहजीकरण नगरेको तथा प्रतिबद्धता पूरा नगरेको तर विदेशी लगानीकर्ताका लागि भने अनेक सुविधा दिएको भन्ने आरोप लगाउने गरेको छ । यसमा हाम्रा समस्या त समाधान गर्दै जाउँला, विदेशी लगानीका लागि चाहिँ अलि सहज वातावरण बनाऊँ भन्ने सरकारको सोच हो कि भन्ने पनि देखिन्छ । हाम्रा मन्त्रीज्यूलाई निजीक्षेत्रका विषय हरेकचोटि भन्ने गरेकै छौं । त्यसबाहेक राष्ट्रिय योजना आयोग, वन मन्त्रालयका उपाध्यक्ष, मन्त्री तथा प्रधानमन्त्रीज्यूसँगका औपचारिक, अनौपचारिक जुनसुकै भेटमा पनि हाम्रा निजीक्षेत्रलाई दिनुपर्ने सुविधाका सम्बन्धमा भन्न छुटाएका छैनौं ।
लगानी सम्मेलनका लागि ऊर्जाका कुन कुन आयोजना शोकेसमा राख्ने भन्ने सम्बन्धमा विभिन्न चरणमा मन्त्रालयको समेत सहभागितामा छलफल भएको थियो । हामीले मिल्नेसम्मका निजीक्षेत्रका आयोजना राख्न पहल गरेका छौं ।
मैले डलर भित्र्याएपछि डलर नै लैजान पाउँछु कि पाउँदिनँ, कति पाउँछु भन्ने चासो र सरोकार जहिले पनि विदेशी लगानीकर्ताको हुन्छ । अर्को, नेपालमा लगानी गर्न के कति अप्ठ्यारा छन्, ती कुरा पनि उनीहरूले हेरिरहेका हुन्छन् । सरकारको पनि आफ्नै चिन्ताको विषय हुन्छन् । हामीसँग भएको डलर धेरैजस्तो तेल आयातमै जान्छ । बाँकी रहेको अन्य वस्तु आयातमा जान्छ । हामीसँग डलरको पर्याप्त सञ्चिति भएन भने पूर्वाधारमा आएको डलर तिर्न नसकिएला कि भनेर सरकार डराउने अवस्था बन्छ । ऊर्जा उत्पादनका लागि हाम्रै निजीक्षेत्रले आयोजना विकास गर्दा होस् या विदेशीले, धेरैजसो सामान विदेशबाटै आयात गर्नुपर्छ । त्यस्तै कतिपय ठेकेदार तथा कामदार पनि बाहिरकै प्रयोग हुन्छन् । यस्तो अवस्थामा निजीक्षेत्रका हुन् वा विदेशी लगानीकर्ताका आयोजना हुन्, सरकारले डलरको सुविधा दिनैपर्छ ।
भारतीय र चिनियाँ लगानी उनीहरूकै मुद्रामा ल्याऔंज्ञानेन्द्रलाल प्रधान ऊर्जा उद्यमी
अहिलेको लगानी सम्मेलन ऊर्जाक्षेत्रको हकमा विगतको भन्दा निकै सकारात्मक वातावरणमा हुँदै छ । लगानीकर्ता विगतमा पनि इच्छुक थिए । ऊर्जामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) चाहिन्छ भनेर सरकारले पहिले पनि भन्थ्यो, अहिले पनि भनेकै छ । तर विगतमा बजार थिएन, अहिले बजारको अभाव छैन । बंगलादेशले ९ हजार मेगावाट विद्युत् खरीद गर्ने भएको छ भने भारतले गत डिसेम्बरपछि नेपाल र भुटान समेतबाट विद्युत् किन्ने बाटो खुला गराइसकेको अवस्था छ ।
नेपाल सरकार पनि १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । नेपालमा अहिले लगानीको वातावरण सबै तयार भएको छ । तर मन्त्रालयबीच द्वन्द्व, प्रशासनिक पद्धति, नियन्त्रणमुखी प्रणाली र लगानीकर्तालाई सेवासुविधा दिन कन्जुस्याइँ गर्ने प्रथा परिवर्तन हुन सकेन भने २००६ र ०७ मा नेपालको ऊर्जामा लगानी गर्न भनेर आएका भारतीयहरूको भीड फर्किएजस्तै अवस्था अहिले पनि नहोला भन्न सकिन्न ।
उति बेला भारतीय आएजस्तै अहिले चिनियाँ लगानीकर्ता धेरै आएका छन् । धेरै टाढाको लगानीकर्ता खोज्नुभन्दा पहिला आन्तरिक र त्यसपछि छिमेकी देशका लगानीकर्ता आकर्षित गर्न सकियो भने पुग्छ ।
ऊर्जा उत्पादनमा जलस्रोतभन्दा अन्य स्रोतको महत्त्व बढेको भनेर चिन्ता लिनु आवश्यक पर्दैन । ऊर्जाका स्रोतमा थर्मल, न्यूक्लियर तथा सोलार पर्दछन् । यीमध्ये सोलार अहिले नेपालको सन्दर्भमा जलस्रोत क्षेत्रको ठूलो प्रतिस्पर्धी हो । तर सोलार उत्पादन हुने दिउँसो मात्र हो । उच्च माग हुने समय साँझ र बिहानको सन्तुलन मिलाउन नेपालका लागि जलविद्युत् मात्र भरपर्दो माध्यम हो ।
अहिले भारतले नेपालबाट उत्पादित हुने बिजुलीलाई त्यसै बजार दिएको होइन । भारतले आफ्नै आवश्यकता पूरा गर्न र साथसाथै आफूलाई यस क्षेत्रको नेतृत्व गर्ने देशको रूपमा छवि बनाउन यो बजार दिएको हो । हामी हाम्रो जलविद्युत् उत्पादन सबै आफै खपत गर्ने कुरा त गर्छौं । तर आजको दिनको वास्तविकता के हो भने अहिले हामीले खपत गरिरहेको ५५ प्रतिशत विद्युत् भारतबाटै आयात भइरहेको छ । ४५ प्रतिशत नेपाल विद्युत् प्राधिकरण र निजीक्षेत्रले उपलब्ध गराउन सकेका छन् । तथापि वर्षायाममा नेपालमा उत्पादन हुने विद्युत् सबै खपत नभएर खेर जाने अनि हिउँदमा नपुग्ने अवस्था छ । जस्तो कि माथिल्लो तामाकोशीले बर्खामा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गरे पनि हिउँदमा घटेर ९० मेगावाटसम्म आइपुग्छ । यसकारण देशबाहिर नजीकै एउटा ठूलो बजार नभई नेपालको जलस्रोतको विकास कहिले पनि हुन सक्दैन ।
नेपालका लागि त्यस्तो ठूला बजार भनेको भारत र बंगलादेश नै हुन् । अहिले जलस्रोतमा भारतीय लगानी आउन सक्ने अवस्था छैन । कारण, उनीहरू यतिबेला सोलारमा बढी केन्द्रित छन् । अनि भारतमा ब्याजदर धेरै छ । चीनमा भने ब्याज सस्तो छ । त्यस्तै बंगलादेशमा ग्यास पर्याप्त छ । त्यसकारण उसलाई नेपालको बिजुली के काम भन्ने गरेको पनि सुनिन्छ । तर वास्तविकता के हो भने त्यहाँको ग्यास भण्डार रित्तिँदै गएको छ । र, त्यहाँ ऊर्जाको माग भने तीव्ररूपमा बढिरहेको छ ।
२००६ मा ५ हजार मेगावाट जडित क्षमता भएको बंगलादेशलाई अहिले २० हजार मेगावाट विद्युत् हुँदा पनि पुगेको छैन । त्यसैले उसले ९ हजार मेगावाट नेपालसँग खरीद गर्ने भन्दै आएको छ । भुटान जलस्रोतमा अहिले नेपालको प्रतिस्पर्धी हुँदै गएको छ । भुटानमा जुन किसिमको एकद्वार प्रणाली छ, नेपालमा त्यो छैन । तर भुटानबाट विद्युत् लैजाँदा भारतलाई दुई ओटा फाइदा छन् । एक त यसरी पाइने पानीको आफ्नै मूल्य छ भने अर्को पिकिङ पावर आयोजना बढी छन् । हाइड्रोपावर गर्नेबित्तिकै बाढी नियन्त्रणदेखि सिँचाइको सुविधा पनि सँगसँगै आउँछन् ।
अब हामीले गर्नुपर्ने पनि पानीको ‘मूल्य’ बढी आउने प्रोजेक्टलाई अगाडि बढाउने हो । नेपालले आन्तरिक क्षमता पनि बढाउनुपर्छ । विदेशी लगानीकर्ताले आयोजनामा जहिले पनि उत्कृष्ट र उच्च मूल्यको बजार खोज्छ । नेपालमा उत्पादित सबै विद्युत्को आन्तरिक खपत गर्ने भन्यौं भने त्यसले विदेशी लगानीकर्ताले खोजेको विश्वासको वातावरण बन्दैन ।
विद्युत्का लागि बाह्य बजार नभई हुँदैन । त्यस्तै बाह्य बजारले लगानीकर्तालाई पनि आकर्षित गर्छ । सरकारले जलस्रोतमा विदेशी लगानीकर्तालाई खुला छोड्दिनुपर्छ । यो लगानी सम्मेलन भारतीय लगानी भारतीय मुद्रामा र चिनियाँ लगानी चिनियाँ मुद्रामा भिœयाउन केन्द्रित हुनुपर्छ ।
नेपालमा नेपाल विद्युत् प्राधिकरणलाई मात्रै खरीदविक्री गर्ने निकाय बनाइयो भने यसको विकास हुन सक्दैन । बजारमा प्रतिस्पर्धी रूपबाट विद्युत् खरीद र विक्रीको वातावरण भए मात्रै चाहिएको विद्युत् मात्र किन्ने (टेक अर पे) प्रावधानमा विद्युत् खरीद विक्री सम्झौता (पीपीए) गर्न सकिन्न भन्ने अहिलेको विवाद अन्त्य हुन्छ ।
स्वदेशी लगानीलाई प्राथमिकता दिनुपर्छशैलेन्द्र गुरागाईंअध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)
देशमा विदेशी मुद्राको सञ्चिति बढाउन सकिएको छैन, बढाउनुपर्छ भनिएको छ । हामी भारतीय बिजुली, एलपी ग्यास, डिजेल, पेट्रोल इत्यादि विदेशी मुद्रामा किनेर ल्याइरहेका छौं । साथै ऊर्जामा विदेशी लगानी भिœयाउने हो भने लगानीकर्ताले प्रतिफल पनि विदेशी मुद्रामै लैजान्छन् । यसले देशको विदेशी मुद्राको सञ्चिति झनै घटाउँछ । त्यसैले विदेशी लगानीको सञ्चिति बढाउने हो भने स्वदेशी लगानीकर्तालाई लगानीका लागि आवश्यक वातावरण तयार गर्नुपर्छ ।
हामीकहाँ अहिले विद्युत्मा ३ हजार मेगावाट निर्माणाधीन प्रोजेक्ट छन्, ३ हजार मेगावाटको विद्युत् खरीद/विक्री सम्झौता (पीपीए)को काम सकिएको छ र अरू २० हजार मेगावाटको अध्ययन भइरहेको छ । यो सबै काम निजीक्षेत्रले गरिरहेको छ । त्यसैले स्वदेशी लगानीकर्तालाई सुविधा दिइयो भने विदेशी मुद्रा सञ्चिति आफै जोगिन्छ ।
विदेशमा बिजुली निर्यात हुन्छ/हुँदैन भन्ने सवाल छ, त्यो दोस्रो शर्त हो । हाल देशमा वार्षिक औसतमा प्रतिव्यक्ति २ सय युनिट बिजुली खपत भइरहेको ऊर्जा मन्त्रालयको तथ्यांक छ । आगामी १० वर्षमा १५ सय युनिट र २० वर्षमा ३५ सय युनिट पु¥याउने लक्ष्य नेपाल सरकारको छ । यसका लागि अहिले रहेको १ हजार मेगावाट विद्युत् उत्पादन वृद्धि गरी १७ हजार मेगावाट पु¥याउनुपर्छ । यति बिजुली त स्वदेशी प्रयोजनमै आवश्यक छ । एलपी ग्यास, दाउरा लगायत वस्तुलाई ऊर्जाको प्रयोजनबाट हटाउन, बिजुलीबाट चल्ने रेल, बस लगायत सवारीसाधन सञ्चालन गर्न, पेट्रोल डिजेल विस्थापित गर्न तथा ठूला उद्योग चलाउन सो मात्राको बिजुली हामीलाई नै चाहिन्छ ।
बाहिरी देशमा बेच्ने कुरा त्यसपछि मात्र आउँछ, जसका लागि आन्तरिक लगानी प्रवर्द्धन गर्नुपर्छ । कम्तीमा १५ प्रतिशतसम्म आन्तरिक लगानीलाई बढी सुविधा हुनुपर्छ भन्ने पञ्चायतकालमा बनेको ऐन थियो, त्यसलाई मात्र हामीले पछ्याउन सकेको भए धेरै लगानीकर्ता आइसकेका हुने थिए । विद्युत् संकट निवारणका लागि तयार गरिएको १० वर्षे कार्ययोजनामा २०७३ सालमा २०० मेगावाट, २०७४ सालमा ८५० मेगावाट र २०७५ सालमा ४५० मेगावाट बिजुली आउँछ भनिएको थियो । तर यो वर्ष जम्मा ३९ दशमलव ६ मेगावाट मात्र बिजुली उत्पादन भयो । हाम्रो प्रगति सुस्त भएको छ । धेरै आयोजनाको निर्माण शुरू भए पनि सम्पन्न भएनन् । किनकि वनले समयमा स्वीकृति दिएन, बैंकले समयमा ऋण दिएन, गृह मन्त्रालयले सुरक्षा दिएन, भूमिसुधारले जग्गा उपलब्ध गराउन ढिलाइ ग¥यो, रक्षा मन्त्रालयले विस्फोटक पदार्थ दिएन । यिनै कारण आयोजना सम्पन्न हुन सकेनन् ।
हामीले थप ३ हजार मेगावाट क्षमताका आयोजना पीपीए गरेका छौं । विदेशीलाई दिए बराबर मात्र पनि सुविधा स्वदेशी लगानीकर्तालाई दिने हो भने ६ हजार मेगावाट बिजुली उत्पादनका लागि लगानी जुटाउन गाह्रो कुरा होइन । हामीले बनाउने आयोजनाभित्रै विदेशी लगानीकर्ता पनि आउन सक्थे । १ सय मेगावाटभन्दा माथिका आयोजनालाई मात्रै हेजिङ सुविधा दिने भनिएको छ । यसलेगर्दा निजीक्षेत्रले विकास गर्ने त्यसभन्दा कम क्षमताका आयोजनामा विदेशी लगानीकर्ता आउने वातावरण रहेन । मेगावाटको सीमा नराखी विदेशी लगानीलाई हेजिङ सुविधा दिने र स्वदेशीलाई नदिने भनिएको भए सही हुन्थ्यो । निजीक्षेत्रको लगानीलाई समेटिने गरी ऐन कानून आउनुपर्छ ।
लगानी सम्मेलन हुनुअघि सरकारले निजी साझेदारी ऐन र हेजिङमा नयाँ ऐन ल्यायो । निजी साझेदारी ऐनमा ६ अर्ब रुपैयाँभन्दा बढी र २०० मेगावाटभन्दा बढीका आयोजनाका लागि लगानी बोर्डअन्तर्गत काम गर्ने व्यवस्था भयो । त्यसले पनि स्वदेशी लगानीलाई सहजीकरण गर्ने प्रावधान ल्याएन । विभिन्न कारण प्रोजेक्ट ढिलाइ हुने भएकाले द्रुत गतिमा आयोजना विकास गर्न सकिने व्यवस्था (फास्टट्र्याक मोडल) लागू गर्न हाम्रो माग थियो । यसलाई छिटो गर्न सकिन्न भने सिंगल डेस्क बनाउँन हामीले भनेका थियौं, खुशीको कुरा सरकारले त्यसलाई आत्मसात् गर्यो ।
देशमा लगानी सम्मेलन हुनु जरुरी छ । बाहिरी लगानी देश भित्रिँदा देशभित्रका सम्बन्धित क्षेत्रका उद्योगमा प्रतिस्पर्धा भई सुधार आउँछ । लगानी सम्मेलनमा आएको विदेशी लगानीले स्वदेशी उत्पादनलाई अपग्रेड गर्छ । यसका लागि ऊर्जा मन्त्रालयले विशेष पहल र नेतृत्व गर्दा निजीक्षेत्रले साथ दिन्छ ।