कुलमान घिसिङप्रमुख कार्यकारी निर्देशकनेपाल विद्युत् प्राधिकरण
सरकारले विदेशी मुद्राको विनिमयको जोखिमको के कति अंश लगानीकर्ता र के कति विद्युत् खरीदकर्ता (विद्युत् प्राधिकरण)लाई पर्ने भन्ने सही तरीकाले व्यवस्थापन गर्न सके विद्युत् उत्पादनमा लगानी आउँछ । ऊर्जामा अहिले सरकारको प्रमुख ध्यान विद्युत् प्रसारण र वितरण प्रणाली विकासमा छ । हामीलाई विश्वसनीय र अविछिन्न प्रसारण तथा वितरण प्रणाली तयार गर्न करीब ५ देखि ७ अर्ब अमेरिकी डलर आवश्यक छ । यति लगानी गर्न सक्यौं भने करीब ३५ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रणाली बन्छ । यति पैसा आजको भोलि नै चाहिएको होइन, अबको ५ वर्षभित्र उपलब्ध हुँदा हुन्छ ।
लीलामणि पौडेलचीनका लागि नेपाली राजदूत
विभिन्न चरणमा चीनमै गरिएका कार्यक्रमपछि उत्साहित भएर चीनियाँहरू लगानी सम्मेलनमा सहभागी हुन् । यो सहभागितालाई नतीजामा परिणत गर्न धेरै काम गर्नुछ । उनीहरूले कृषि, सूचना प्रविधि, जलविद्युत्, पूर्वाधार लगायत धेरै क्षेत्रमा काम गरेका छन् । त्यसैले आफूले आर्जन गरेको ज्ञान, शीप, क्षमता शेयर गर्दै हाम्रो आर्थिक समृद्धि पनि होस् र आफ्नो लगानी सुरक्षित पनि होस् भन्ने उनीहरू चाहन्छन् । धेरैजसो ऊर्जामा लगानी गर्न उत्सुक भएर आएका छन् । हाम्रा लेखिएका कुरा पालना होऊन् र नीतिहरू स्पष्ट होऊन्, दोहोरो अर्थ नलागून्, यति भयो भने लगानी गर्न सक्छौं भनेका छन् ।
शेखर गोल्छाउद्यमी
योपटक व्यक्तिगत कुराकानीका क्रममा पनि विदेशी लगानीकर्ताले लगानी गर्न इच्छुक रहेको बताएका छन् । नीतिगत परिवर्तन लगायत सरकारले गरेका विभिन्न कार्यका कारण पनि उनीहरूलाई लगानी गर्ने निर्णयको अझ नजीक पुर्याएको छ ।
सहभागीहरूको चासो आन्तरिक खपत हुने परिमाणको उत्पादनमा बढी रहेको छ । उक्त परिमाणमा उत्पादन गर्ने उद्देश्यले करीब १० जनाले मसँग एउटा उद्योगीले उद्योग स्थापना गर्नुअघि जसरी प्रश्न गर्छ, त्यसरी प्रश्न गरे । उनीहरू पर्यटन, सिमेन्ट, स्टील प्रशोधन, अटोमोटिभ कम्पोनेन्टसँग सम्बन्धित छन् ।
वर्षाश्रेष्ठबिजनेश हेड, इक्रा नेपाल
स्थिर सरकार र लगानीका लागि सहजता निर्माण गर्नेगरी विभिन्न नीतिमा परिमार्जन भएकाले विदेशी लगानी आह्वान गर्ने यो सही समय हो । लगानीकर्ताले विगतमा जस्तो विभिन्न निकाय निकायमा धाउनु नपर्ने एकै विन्दुबाट काम सम्पन्न हुनेगरी ल्याइएको नीति निकै प्रभावकारी हुने देखिन्छ ।
साथै जलविद्युत्, पूर्वाधार जस्ता क्षेत्रमा आन्तरिक लगानीमै काम पनि भइरहेको छ । यति भएपछि विदेशी लगानीकर्तालाई यहाँ लगानी गर्दा हुन्छ भन्ने विश्वासको सन्देश पुगेको छ ।