लगानी सम्मेलनका बारेमा प्रधानमन्त्री लगायत विज्ञहरूको प्रतिक्रिया
Mar 31, 2019
 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
केपी शर्मा ओलीप्रधानमन्त्री
बुद्धको जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाजस्ता मनमोहक हिमाल पहाडको देश नेपाल हो । यिनै कुराले पनि विदेशी लगानीकर्तालाई नेपालमा पूँजी लगाउन उत्प्रेरणा मिल्ने विश्वास छ ।
विदेशी लगानीविना कुनै पनि देशको विकास हुँदैन । हामीले लगानी भित्र्याउन यसै वर्ष मात्रै ठूलो नीतिगत सुधार गरेका छौं । अहिले मुलुकमा बहुमतको स्थिर सरकार छ । यो सरकारले देशको विकास गर्न चाहन्छ । यो अवस्था लगानीकर्ताका लागि पनि सुखद हो । नेपाल लगानीका हिसाबले ‘भर्जिन ल्यान्ड’ हो । हामीले तयार पारेका७७ ओटा आयोजनामा जुनमा लगानी गरे पनि हुन्छ । यहाँ लगानी गरेर लगानीकर्ताले कमाएको नाफा ढुक्कका साथ लैजान सक्ने वातावरण छ । मुलुकको जलस्रोत विदेशी लगानीकर्ताका लागि मुख्य आकर्षण केन्द्र हो । उत्पादनमूलक अन्य क्षेत्रमा लगानी आवश्यक छ । नेपाल व्यापार–व्यवसाय र लगानीका लागि तयार छ । ढुक्क भएर लगानी गर्नुहोस्, तपाईंको लगानीको सुरक्षाका साथै मुनाफाको प्रत्याभूति हुनेछ । नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तरराष्ट्रिय लगानीकर्ता आवश्यक छ ।
चीन, भारत देशसँगको बहुआयामिक सम्पर्क सञ्जालभित्र सडक, रेल, जलमार्ग, हवाईमार्ग र प्रसारण लाइन समावेश गरेका छौं । यसले पनि लगानीका लागि नेपाल उपयुक्तस्थल हो भन्ने बुझाउँछ । निर्धारित मापदण्ड पूरा गरेका उद्योगलाई कर छूटको व्यवस्थाका साथै संस्थागत कर, आयात महशुल र निर्यात सहजीकरणमा आकर्षक प्रोत्साहन दिँदै आएका छौं । प्रतिस्पर्धी कर प्रणाली, परिश्रमी, युवा, सस्ता श्रमिक, बहुुशीपयुक्त जनशक्ति र मनासिव खर्चमा उत्पादन लिन सकिने जस्ता व्यवस्थाले नेपालमा लगानीको उच्च प्रतिफल प्राप्त हुनेछ ।
उद्योगका लागि चौबीसै घण्टा विद्युत् आपूर्तिको व्यवस्था गरेका छौं । अब चाँडै नै हामीसँग अतिरिक्त विद्युत् हुनेछ । देशभित्र र अन्तरदेशीय सडक सम्पर्क विस्तारमा उल्लेख्य सुधार आएको छ । काठमाडौं–तराई द्रुतमार्गको निर्माणले पनि नेपाल समृद्ध बन्ने निश्चित छ ।
डा. युवराज खतिवडाअर्थमन्त्री
नेपालमा राजनीतिक स्थिरता कायम छ । ठूलो प्रयासपछि अस्थिरता हटाउदै संघीय संरचनामा मुलुकलाई लगिएको छ । यसँसँगै प्रक्रियागत तथा संस्थागत सुधार एवं अन्य संरचनामा सुधार गरी लगानीयोग्य राष्ट्र बनाएका छौं ।
नेपालमा विशेषतः ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी आवश्यक छ । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा अंगीकार गरेको छ । तर मुलुकलाई समृद्ध बनाउन स्वदेशी पूँजीले मात्रै भ्याउँदैन । बाह्य लगानी जुटाउन लगानी सम्मेलन आवश्यक परेको हो । लगानीमैत्री वातावरण बनाउन सहज करका दर तयार पारिएको छ । त्यस्तै लगानीकर्ताको हितलाई ध्यानमा राखेर हालै मात्र नयाँ कानून तयार गरिएको छ । चीन र भारतजस्ता ठूला देशको बीचमा रहेकाले पनि ठूलो बजारको सम्भावना नेपालमा छ
विदेशी लगानीकर्ताले जुन क्षेत्रमा लगानी गर्न चाहन्छन्, सोही क्षेत्र उपलब्ध गराउन सरकार तयार छ । स्थायी सरकार, नीतिगत तथा संरचनागत सुधार गरी लगानीकर्तालाई सहज वातावरण सृजना गर्न सरकार प्रतिबद्ध छ ।
चक्रपाणि खनालमन्त्री, कृषि तथा पशुपक्षी मन्त्रालय
नेपाल सानो देश भए पनि कृषिमा लगानीको प्रशस्त सम्भावना छ । कृषिमा श्रमशक्ति पर्याप्त हुनुले यहाँ सञ्चालित परियोजनालाई जनशक्तिको अभाव हुन दिइनेछैन । सरकारले लगानीका लागि रासायनिक मल प्लान्ट तथा चितवन, सुर्खेत र काभ्रे, कैलाली, कास्की, पर्सा, रूपन्देही र मोरङमा एकीकृत कृषिसम्बन्धी आठ परियोजना अघि सारेको छ ।
मह, कफी र चिया मात्रै होइन, एग्रो फरेष्ट र एग्रो पर्यटनमा समेत लगानीको ठूलो सम्भावना छ । सरकारले अघि सारेका लगानीयोग्य परियोजनामा लगानी गर्न सके आन्तरिक र बाह्य बजारको समेत राम्रो सम्भावना छ । कानून परिमार्जन गरी लगानीमैत्री नीति नियम सरकारले बनाउन कुनै कन्जुस्याइँ गरेको छैन । कानूनमा धेरै सुधार भइसकेका छन् र कानूनी जटिलता समेत हटाइनेछ । नयाँ संविधान निर्माणसँगै संकमणकालको अन्त्य भएकाले नेपाल लगानीको सम्भावनायुक्त देश बन्न पुगेको छ । चीन र भारतसँग राम्रो सहकार्य हुँदै आएकाले नेपाली उत्पादनले पूर्णरूपमा बजार पाउनेछ । नाफा लैजान कुनै कानून बाधा छैन । सरकारले लगानीको पर्याप्त सुरक्षा दिन्छ ।
गोकुल बास्कोटामन्त्रीसञ्चार तथा सूचना प्रविधि मन्त्रालय
डिजिटल आधार नै आर्थिक वृद्धि हासिल गर्ने मार्गचित्र ‘रोड म्याप’ हो । नेपाल डिजिटल प्रविधिको प्रयोगबाटै आर्थिक तथा सामाजिक वृत्ति विकासका लागि अग्रसर भएको छ । तीव्र विकासका लागि सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका हुने भएकाले सरकारले ‘डिजिटल नेपाल कार्यक्रम’ अघि सारेको छ । अन्य योजनामार्फत मुलुकको सूचना प्रविधिको क्षेत्रमा सरकारले आन्तरिक र बाह्य लगानीको ढोका खोलेको छ । डिजिटल रूपान्तरणबाट नेपाल आर्थिक विकास गर्न चाहन्छ । अहिले मुलुकभित्र तीनओटा टेलिकम कम्पनीले ‘फोर जी’ सेवा दिइरहेका छन् । नेपालको सूचना प्रविधि क्षेत्रका पूर्वाधारहरू अप्टिकल फाइबर, डाटाबेस लगायत क्षेत्रमा लगानीका लागि सरकारले आह्वान गर्दै आएको छ । एसडीजीका लक्ष्य हासिल गर्न पनि यो क्षेत्रमा वैदेशिक लगानी आवश्यक छ । सूचना प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न सरकार आह्वान गर्छ । लगानीका लागि प्रशासनिक, कानूनी तथा नीतिगत प्रक्रिया सहज बनाएको छ ।
वर्षमान पुनमन्त्रीऊर्जा, जलस्रोत तथा सिँचाइ
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारा पर्याप्त ऊर्जा विना सम्भव छैन । ऊर्जा उत्पादन नेपालको अर्थतन्त्रको प्रमुख चालक शक्ति हो । नेपालमा हुने जलविद्युत् उत्पादनले यो क्षेत्रकै विद्युत् प्रणालीलाई भरपर्दो बनाउन मद्दत गर्दछ । मेरो मन्त्रालयले १० वर्षमा आन्तरिक खपत मात्रैका लागि १० हजार र निर्यातका लागि अर्को ५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ । यसका लागि खासगरी विदेशी निजीक्षेत्रको लगानी अपेक्षा गरिएको छ । यो क्षेत्रमा सक्रिय केहीले भोगेका समस्याका सम्बन्धमा हामी जानकार छौं । ती समस्या हल गर्न समय समयमा नीति परिमार्जन पनि हुँदै आएको छ । देशभित्रका बैंकले ठूला परियोजनामा लगानी गर्न पर्याप्त हुने अवस्था छैन । त्यसैले पनि हामीलाई विदेशी लगानी चाहिएको छ । जनताको जलविद्युत् परियोजनामा पनि हामीलाई बाहिरको लगानी आवश्यक छ । हामीसँग लगानीमैत्री वातावरण छ ।
डा. रामशरण महतपूर्व अर्थमन्त्री
नेपालमा लगानीको वातावरण सहज भएको छ । हाम्रो पार्टीले सन् १९९० को दशकमै निजीक्षेत्रको लगानी खुला गरेर आर्थिक उदारीकरण शुरू गरेको हो । तर सशस्त्र द्वन्द्व, संविधान निर्माण, भूकम्पजस्ता थुप्रै अप्ठ्याराले नेपालले पछिल्ला २० वर्षमा आर्थिक वृद्धि गर्न सकेको छैन ।
अप्ठ्यारो समयमा पनि विश्व बैंक र एशियाली विकास बैंकले नेपालको विकासमा सघाएका छन् । यो हाम्रा लागि खुशीको कुरा हो । हाम्रो आन्तरिक स्रोतबाट मात्र उच्च आर्थिक वृद्धि सम्भव छैन । त्यसका लागि वैदेशिक लगानी पनि आवश्यक पर्छ ।
भवानी राणाअध्यक्षनेपाल उद्योग वाणिज्य महासंघ
नेपाल लगानीका लागि योग्य देश हो । स्थायी सरकार, लगानीमैत्री नीतिगत व्यवस्था भएकाले नेपालमा लगानी गर्ने राम्रो अवसर छ । यति बेला नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । नेपाल संघीय संरचनामा गएपछि सरकारका साथै हरेक स्थानीय तहबाट समेत विकासका लागि सहायता मिल्ने भएको छ ।
लगानी गर्ने सम्भाव्य क्षेत्र धेरै छन् । यसमध्ये पर्यटन, ऊर्जा, कृषि, प्रविधि, सडक लगायत पूर्वाधार मुख्य हुन् । यसअघि नेपालमा लगानी गरेर मुनाफा कमाउँदै आएका स्ट्यान्डर्ड चार्टर्ड, युनिलिभर जस्ता बहुराष्ट्रिय कम्पनीहरू उदाहरण हुन् । छिमेकी मुलुक चीन र भारतमा नेपाली उत्पादन निकासी गर्दा भन्सार महशुल छूट दिनेगरी सहमति भएको छ । त्यसैले नेपालमा उत्पादित वस्तुले बजार नपाउला कि भन्ने चिन्ता छैन । हाल सरकारसँगै निजीक्षेत्र पनि ठूला परियोजनामा निर्माण गर्ने तयारीमा जुटेको छ । नेपालमा विद्युत् भार कटौतीको समस्या समाधान भएको छ । श्रम गर्न सक्ने जनशक्ति समेत पर्याप्त मात्रामा छन् ।
हरिभक्त शर्माअध्यक्षनेपाल उद्योग परिसंघ
नेपालमा निजीक्षेत्रले द्रुत गतिमा लगानी गरिरहेको छ । अहिले लगानीको सही मौका भएकाले आउनुस्, नेपाली लगानीकर्तासँग प्रतिस्पर्धा गर्नुस् । सही रणनीति लिएर लगानी गरे सहज छ । नेपालमा जुनसुकै मौसममा काम गर्ने वातावरण छ । लगानी गरेर बाहै्र महीना काम गर्न सकिने, कम्पनी बन्द गर्नुपर्ने मौसम नरहने भएकाले यो विश्वकै अनुकूल वातावरण भएको देश हो । नेपालमा कृषि तथा जडीबुटीको उत्पादन गर्न सकिने सम्भावना बढी भएकाले यसबाट उच्च मुनाफा हासिल गर्न सकिन्छ । सरकारले लगानीको सुरक्षा गर्ने प्रतिबद्धता गरिसकेकाले निर्धक्क भएर लगानी गर्न सकिन्छ । लगानी गर्नेबारे सल्लाह तथा जानकारी लिन चाहनहुन्छ भने उद्योग परिसंघ सेवा दिन सधैं तत्पर छ ।
दीपकराज जोशीप्रमुख कार्यकारी अधिकृतनेपाल पर्यटन बोर्ड
नेपालका लगानीयोग्य क्षेत्रमध्ये पर्यटन महत्त्वपूर्ण हिस्सा हो । यसका लागि आन्तरिक र बाह्य लगानीको खोजी नेपालले गरिरहेको छ । पर्याप्त लगानीविना पर्यटन पूर्वाधार बन्न सक्दैनन् । नेपालले ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरिसकेको छ भने त्यसमा २० लाख पर्यटक र आगामी १० वर्षभित्रमा ५० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ । पछिल्लो समय नेपालमा आउने पर्यटक बढेका छन् । नेपालको पर्यटन क्षेत्रबाट ‘लाइफ टाइम एक्सपेरियन्स’ लिन सकिन्छ । नेपालले पर्वतीय आर्थिक गतिविधिलाई केन्द्रमा राखेको छ । नेपालको पर्यटन साहसिक पर्यटनको पर्याय बनेको छ । प्याराग्लाइडिङ, बञ्जीजम्प, अल्ट्रालाइट, जीपलाइन, र्याफ्टिङ, होटल क्षेत्रमा लगानीका पर्याप्त सम्भावना छन् ।
डा. कृष्णप्रसाद ओलीसदस्य, राष्ट्रिय योजना आयोग
तापक्रम वृद्धिका कारण पछिल्लो समयमा हिमालय अत्यधिक मात्रामा पग्लिँदै गएका छन् । जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने हो भने कम हिउँ भए पनि बर्खामा परेको ठूलो परिमाणको पानी सञ्चित भई विद्युत् उत्पादन गर्न सकिन्छ । जति तापक्रम बढ्छ, त्यति बंगालको खाडीबाट पानी लिएर उठ्ने बादल बढी हुन्छ र त्यो आएर हिमालमा ठोक्किई वर्षा भई हाम्रा जलाशययुक्त आयोजनामा पानीको अभाव हुन पाउँदैन । साथै त्यहाँ सञ्चित हुने पानीले जल प्रणालीको संरक्षणका साथै बाढी नियन्त्रणमा सहयोगी हुन्छ । त्यसैगरी सुक्खा नियन्त्रण, पर्यटन विकास, सिँचाइ, पारवहन लगायत धेरै कुरा जलाशययुक्त आयोजनाका कारण सम्भव हुन्छन् । हामी स्वच्छ ऊर्जा उत्पादनमा प्रतिबद्ध भएर ऊर्जा विकासको दिशामा अघि बढिरहेको देश हौं ।
डा. रामकुमार फुयालसदस्यराष्ट्रिय योजना आयोग
पछिल्ला वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दो क्रममा छ । यसले नेपाल विश्वका पर्यटकको ध्यान खिच्न सफल भएको पुष्टि गर्छ । बढ्दो पर्यटकको आगमनले यस क्षेत्रमा लगानी बढाउन र विश्व समुदायको ध्यान केन्द्रित गराउन सफल भएको देखिन्छ । सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएअनुसार नै लगानी र यसको प्रतिफल सुनिश्चितताका लागि सहजीकरण गर्न तयार छौं । लगानी सम्मेलनले पर्यटन क्षेत्रमा नयाँ सोचका साथ लगानी गर्न सघाउनेछ ।
रघुवीर महासेठमन्त्रीभौतिक पूर्वाधार तथा यातायात
हामी पूर्वाधार निर्माणको महाअभियानमा होमिन चाहन्छौं । सडक, रेल्वे, हाइवे, मोनोरेल, मेट्रो रेल, स्काई रेल, जलमार्ग तथा हवाईमार्ग जस्ता पूर्वाधार निर्माण हाम्रो योजनामा छन् ।
त्यसैगरी यातायात पूर्वाधारमार्फत छिमेकी देशहरू भारत र चीनसँग जोडिने प्रयासमा पनि छौं । हामी पूर्वाधार निर्माणमा लगानीसँगै आधुनिक प्रविधि पनि खोजिरहेका छौं । त्यसैले हाम्रो यो अभियानमा विकास साझेदारका साथै निजीक्षेत्रलाई सहयोग गर्न आह्वान गर्दछु ।
डा. उपेन्द्र महतोसंस्थापक अध्यक्षगैरआवासीय नेपाली संघ
नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक हो । पछिल्लो समय लगानीका लागि व्यवधान छैन । यसैले अब लगानीको समस्या छ भन्ने सोच्नुपर्दैन । प्रशस्त अवसर भएकाले अब निर्धक्क भएर लगानी गर्नुहोस्, ३–४ वर्षमै नै नाफा कमाउन सक्नुहुन्छ ।
नेपालले सबै कारोबार बैंकिङ प्रणालीबाट गर्न जोड दिँदै आएकाले विश्व बजारमा कारोबार गर्न सहज छ । अन्तरराष्ट्रिय स्तरमा एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण गर्न कुनै समस्या छैन ।
शिसिन चेनउपाध्यक्षएशियाली विकास बैंक
विदेशी लगानी स्वागत गर्ने नेपालको तरीका आकर्षक छ । लामो समयदेखि एशियाली विकास बैंकले यहाँको विकासमा साझेदारी गरिरहेको छ । मध्यमस्तरको आय भएको मुलुकमा रूपान्तरणका लागि नेपालले भौतिक पूर्वाधारका क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने देखिन्छ । हामीले हालसम्म मेलम्ची खानेपानी आयोजना, भूकम्पबाट क्षतिग्रस्त विद्यालयका भवन पुनर्निर्माण, गौतमबुद्ध अन्तररराष्ट्रिय विमानस्थल लगायका परियोजनामा लगानी गरेका छौं । नेपालले विकास चाहिरहेको छ । यसैले यहाँको विकासमा थप लगानी गर्न हामी तयार छौं ।
सागरराज गौतमसिनियर डिभिजनल इन्जिनियरऊर्जा, जलस्रोत तथा सि“चाइ मन्त्रालय
८७ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको छ । प्रसारण गुरुयोजना तयार भएको छ । साथै देशभरि नै प्रसारण तथा वितरण प्रणाली विकास अघि बढिरहेको छ । भारत, बंगलादेश र चीनसँग द्विदेशीय सहमतिका आधारमा अन्तरदेशीय प्रसारण सम्पर्क स्थापना साथै व्यापारको विषय अघि बढिरहेको छ । लगानी फिर्ता लैजाने व्यवस्था सहज छ । यो क्षेत्रमा आएका लगानीकर्तालाई विभिन्न प्रकारका कर छूट र अनुदानको समेत व्यवस्था छ ।
माइक बोल्सोभरप्रमुख कार्यकारी अधिकृतसिल्भर हेरिटेज ग्रुप
पर्यटनलाई विश्वकै एक नम्बर उद्योग मानिन्छ । ट्राभल, एड्भेन्चर पर्यटन, अग्र्यानिक फार्म, नवीनतम सृजनाका साथै पर्यटन पूर्वाधारमा लगानी हुनुपर्छ । आम्दानीको राम्रो स्रोत भएकाले पर्यटनमा लगानी बढ्दो अवस्थामा छ । विश्वमा फैलिएको हस्पिटालिटी कल्चरको फाइदा नेपालले पर्याप्त मात्रामा लिनुपर्छ । लगानी सम्मेलन यसका लागि उपयुक्त माध्यम बन्न सक्छ । प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपालले प्रचार प्रसारका साथै प्रवर्द्धनात्मक कार्यक्रममा विशेष ध्यान दिनुपर्छ ।
संगीता श्रेष्ठप्रबन्ध निर्देशकद्वारिकाज ग्रूप अफ होटल्स एन्ड रिसोर्ट
नेपालको हस्पिटालिटी क्षेत्रमा प्रशस्त लगानी गर्न सकिन्छ । अहिलेको सम्मेलनमा पनि पर्यटन क्षेत्रका प्रोजेक्ट आएका छन् । नेपालमा राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण बनेको छ । हस्पिटालिटीमा आन्तरिक र बाह्य लगानी आउन जरुरी छ । नेपालको लगानीको प्रमुख क्षेत्र पर्यटन भएकाले विदेशी लगानीकर्तालाई यो क्षेत्रमा लगानी गर्न खुला छ । पर्यटनमा गरिने लगानी र यसबाट पाइने प्रतिफल पनि सुनिश्चित हुन्छ ।
केइको होन्डाउपाध्यक्ष तथाप्रमुख कार्यकारी अधिकृत, मिगा
नेपाल विदेशी लगानीका लागि योग्य भूमि हो । नेपालमा वैदेशिक लगानीमा वृद्धि भइरहेको छ । यस्ता लगानीले लाखौं रोजगारी सृजना हुने भएकाले नेपालीको जीवनशैली उकास्न समेत मद्दत पुग्छ । नेपालमा पूर्वाधारको विकासमा निजीक्षेत्रको लगानी जरुरी छ । पछिल्लो समय राजनीतिक स्थिरताले पनि नेपालमा लगानी गर्ने वातावरण बनेको छ ।
चन्द्र बलानीप्रमुखअमेजन इन्टरनेट सर्भिसेज प्रालि, भारत
प्रविधिको क्षेत्र अहिले तीव्ररूपमा फड्को मारेको क्षेत्र हो । यो क्षेत्रमा क्रिएशन र क्रियटिभिटी भयो भने यो क्षेत्रमा गरिएको लगानीबाट उच्च प्रतिफल पाउन सकिन्छ । आईसीटीमा इन्नोभेशन अर्थात् नवीनतम उपयोग निकै महŒवपूर्ण हुन्छ । स्टार्ट–अपहरूका लागि त यो क्षेत्र निकै फलदायी हुन्छ । यसका लागि सरकार तथा निजीक्षेत्रको सहयोग जरुरी हुन्छ । शुरूमा लगानी आवश्यक हुन्छ । र, त्यसपछि लगानीको प्रतिफल प्राप्त हुन्छ । सूचना र प्रविधिमा लगानी भित्र्याउन भारत, बंगलादेश लगायत देशका लगानीकर्तालाई नेपालले आकर्षण गर्न सक्छ । यसका लागि सरकारले सहज वातावरण र सहजीकरण गर्नुपर्छ ।
सोनिया बसिर कबिरम्यानेजिङ डाइरेक्टरमाइक्रोसफ्ट एशिया प्यासिफिक
सरकारले डिजिटलाइजेशनको प्रवद्र्धन, विकास तथा विस्तारमा ध्यान दिनुपर्छ । कुनै विदेशी लगानीकर्ता तथा आन्तरिक लगानीकर्ताले मात्रै यो क्षेत्रको वृत्ति विकास गर्न सक्दैनन् । सूचना प्रविधिको प्रयोगबाटै उच्च स्तरको डिजिटल अर्थतन्त्रमा पुग्न सकिन्छ । डिजिटलाइजेशनका साथै स्टार्टअप र डिजिटल शिक्षा पनि उत्तिकै आवश्यक हुन्छ । प्रविधिको प्रयोगबाट अहिले धेरै काम सहज भएका छन् । त्यसैले नेपालले पनि प्रविधि तथा डिजिटलाइजेशनमा लगानी बढाउन आवश्यक छ । प्रविधिको क्षेत्रमा ठूलो उपलब्धि हासिल हुन सक्ने उल्लेख गर्दै आईटी कम्पनी सञ्चालनका लागि सबै क्षेत्रको सहकार्य हुनुपर्छ ।
राजेश अग्रवालनिर्देशक, आरएमसी ग्रूप
निजीक्षेत्रलाई विश्वासमा नलिईकन कुनै प्रोजेक्ट नेपालमा आउन गाह्रो छ । स्थानीय पार्टनर भएमात्रै विदेशी लगानीकर्ताले यहाँका स्थानीय तथा अन्य समस्या बुझ्न र ती समस्या समाधान गर्न सजिलो हुन्छ । विदेशी लगानीकर्ताले लगानी गर्दा नियम कानून मात्र हेरेको हुन्छ । अन्य पक्षको सरलीकरण तथा सहजीकरणका लागि निजीक्षेत्र पार्टनर हुनुपर्छ । जबसम्म नेपालको निजीक्षेत्रसँग सहकार्य हुँदैन, तबसम्म विदेशी लगानी आउन गाह्रो हुन्छ । यसको उदाहरण हामीसँग छ । सरकारले जलविद्युत्का लागि जीएमआरसँग सम्झौता गरेको छ । तर त्यसबाट हालसम्म उपलब्धि हासिल हुन सकेको छैन । अहिलेको लगानी सम्मेलनमा सरकारले अघि सारेका ‘शोकेस’मा सम्झौता हुन्छ । स्थानीय–सामाजिक मुद्दा (लोकल–सोसल इस्युज) समधानका लागि निजीक्षेत्रको पार्टनरशिप तथा लोकल एजेन्ट हुनैपर्छ । ऐन परिवर्तन भए पनि कार्यान्वयन कत्तिको हुन्छ, त्यो महŒवपूर्ण हुन्छ । २०७२ मा यस्तो सम्मेलन ‘गर्न मात्रै गरिएको’ जस्तै थियो । त्यतिबेला हामीसँग ठोस कार्ययोजना थिएनन् । अहिले भने सरकारले परियोजनका ‘शोकेस’ र निजीक्षेत्रले पनि लगानीका परियोजना अघि सारेको छ । त्यसैले सकारात्मक आशा गर्ने ठाउँ धेरै छ ।
मासाहिरो मियासितामहाप्रबन्धक, सुमितोमो
विश्व अहिले ‘फाइभ जी’ प्रविधि भिœयाउने होडमा छ । यसले प्रविधिको क्षेत्रमा निकै परिवर्तन ल्याउने देखिन्छ । विश्वमा प्रविधिको क्षेत्रमा भइरहेका विकास र अभ्यासका अनुभवहरू एक देशबाट अर्काे देशमा आदानप्रदान गर्नुपर्छ । यसले प्रविधिको विस्तारमा टेवा पुग्छ । डिजिटल रूपान्तरणका लागि ड्रोन, रोबर्ट र सफ्टवेयरको प्रयोग अहिले सामान्य हुँदै आएका छन् । यसले मार्केटिङ, व्यवसाय, शिक्षा, स्मार्ट कृषि, उपभोक्ता कल सेन्टर जस्ता क्षेत्रलाई थप सहज र सरलीकरण गर्दै आएको छ । अहिले नेपालले दिगो विकास लक्ष्य (एसडीजी) योजना अघि ल्याएर २०३० सम्ममा यसका लक्ष्य हासिल गर्नेतर्फ अग्रसर छ । यो लक्ष्य प्राप्त गर्न आईसीटी क्षेत्रको विकास र लगानी सहयोग सिद्ध हुने विश्वास छ ।
नन्दलाल शर्माअध्यक्ष/प्रबन्ध निर्देशकसतलज जलविद्युत् निगम
नेपालमा जलविद्युत् क्षेत्रमा प्रशस्त सम्भावना छ । हाम्रो अनुभवमा यो क्षेत्रमा लगानीमैत्री वातावरण छ । नेपालमा लगानी गर्न जलविद्युत एक उत्कृष्ट क्षेत्र हो । भारतको मेगा परियोजना यसको उदाहरण हो । नेपाल सरकार यस्ता लगानीमा एकदम सकारात्मक छ । यसैले सरकारबाट सहायता मिल्छ । उच्च प्रतिफल प्राप्त हुने भएकाले हामीहरूले यसमा लगानी गरेका हौं । हामीले अरुण तेस्रो जलविद्युत् आयोजनामा गरेको लगानीबाट अबको करीब ५–६ वर्षमा प्रतिफल आउने अपेक्षा गरेका छौं । यसपछिको आम्दानी सबै मुनाफा हुनेछ । यसकारण नेपालको जलविद्युत् क्षेत्रमा विनाहिचकिचाहट लगानी गर्न सकिन्छ । कुल जलविद्युत् क्षमताको ५० प्रतिशत हिस्सा मात्र उत्पादन गर्न सके करीब साढे १ दशकभित्र नेपालीको प्रतिव्यक्ति आय ४ गुणा बढ्ने सम्भावना छ ।
इल्के फाइभरउपाध्यक्ष, एलियान्ज इन्भेस्टमेन्ट म्यानेजमेन्ट शेयरिङ
हामीले संसारभर २ सय ७० खर्ब यूरो लगानी गरेका छौं । लगानीको रणनीति जोखिम व्यवस्थापन, पूर्वाधार विकासको रणनीतिमा हामी केन्द्रित हुन्छौं । हामीले विशेष गरेर पूर्वाधार र रियल इस्टेटमा लगानी गर्ने गरेका छौं । यतिबेला हामी अन्य देशमा लगानी गर्न खोजिरहेका छौं । नेपालमा लगानी गर्न शुरूमा यहाँको समाज बुझ्न जरुरी छ, अध्ययन गर्नुपर्छ । तर नेपालीहरू पढेका, मेहनती र राम्रो बानी व्यवहार भएका कारण लगानी गर्दा सहज हुने अपेक्षा गरेका छौं । हामी लगानीका लागि निजी कम्पनीसँग सहकार्य गर्न इच्छुक छौं ।
आशिष रायप्रबन्ध निर्देशक, युनिलिभर नेपाल
बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल नेपालमा लगानी गरेर उच्च प्रतिफल प्राप्त गर्न सफल भएको छ । नेपालमा शिक्षित जनशक्ति धेरै छन् । ५४ ओटा देशमध्ये नेपालका विश्वविद्यालयबाट उत्पादन भएका बजारशास्त्रका विद्यार्थी उत्कृट भएको हाम्रो अनुभव छ । यसकारण उक्त जनशक्तिलाई प्रयोग गरेर जुनसुकै क्षेत्रमा मुनाफा आर्जन गर्न सकिन्छ । २७ वर्षदेखि नेपालमा काम गरिरहँदा हामीलाई कुनै समस्या परेको छैन ।
सञ्जय खजुरियावरिष्ठ उपाध्यक्ष, नेस्ले इन्डिया लिमिटेड
नेपालमा दुग्ध उद्योगको प्रचुर सम्भावना छ । यसलाई विस्तार गर्न जरुरी छ । दूधमा आत्मनिर्भर बन्ने नेपालको प्रयासमा साथ दिन हामी तयार छौं । त्यस्तै प्रशोधनको माध्यमबाट मुलुकको कृषि उत्पादनको गुणस्तरमा सुधार ल्याउन आवश्यक छ ।
पवनकुमार गोल्यानअध्यक्ष, गोल्यान समूह
मुलुकमा भएको पूँजी पर्याप्त छैन । बाह्य लगानी भिœयाउन हामीसँग पर्याप्त क्षेत्र छन् । कृषि, सिमेन्ट, ऊर्जा लगायत क्षेत्रमा लगानी आवश्यक छ । नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताले कुनै जोखिम लिनुपर्ने वातावरण देखिन्न । यहाँ लगानी गरेको दोस्रो दिनदेखि नाफा आउन थाल्छ । त्यसैले नेपालमा लगानीको उपयुक्त वातावरण छ । यसलाई बाह्य लगानीकर्ताले सहज रूपमा बुझ्न जरुरी छ ।
महबुबुर रहमानचीफ इन्जिनियरबंगलादेश पावर डेभेलपमेन्ट बोर्ड
सन् २०२१ मा विकासशील देशका रूपमा र सन् २०४१ मा विकसित देशको रूपमा पुग्ने हाम्रो गुरुयोजना छ । यो अवस्थामा पुग्न विद्युत्को निकै ठूलो भूमिका हुन्छ । त्यसैले हाम्रो विद्युत् प्रणाली गुरुयोजना अनुसार कुल खपत हुने विद्युत्को १५ प्रतिशत छिमेकी देशबाट ल्याउने भन्ने छ । यो भनेको बढीमा १२ हजार मेगावाटसम्म हुन्छ । हामी अहिले ११६० मेगावाट विद्युत् भारतबाट आयात गरिरहेका छौं । भारतको कोइलामा आधारित विद्युत् उत्पादक एक कम्पनीसँग अर्को १ हजार ६ सय मेगावाट खरीद गर्ने सम्झौता गरेका छौं । भविष्यमा ३ हजार मेगावाटको हाराहारीमा भारतबाट आयात गर्नेछौं । कुल आवश्यक १२ हजार मेगावाटमध्ये बाँकी ९ हजार मेगावाट नेपालको जलविद्युत्बाट प्राप्त गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
हरकिरतसिंह बेदीडाबर इण्डिया लिमिटेडका सार्क प्रमुख
डावरले नेपालले नेपालमा २० वर्षदेखि काम गर्दै आएको छ । हामीले लगानीको सुरक्षण पाएका छौं । नाफा पनि सहजै लैजान पाएका छौं । नेपालमा लगानी गर्न डाबर सधैं इच्छुक नै छ । लगानीका प्रशस्त क्षेत्र भएकाले अगामी दिनमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
राजीव गान्धीप्रमुख कार्यकारी अधिकृतहेस्टर बायो साइन्सेस लिमिटेड
हामीले कफीक्षेत्रमा लगानी गर्दै आएका छौं । नेपालको कफी गुणस्तरीय छ । यसलाई विश्व बजारमा लैजान आवश्यक छ । नेपालसँग सहकार्य गरेर काम गर्न इच्छुक छौं । नेपालको डेमो फार्मिङमा सुधार गर्नुपर्छ । कृषिमा नेपालले ठूलो फड्को मार्न सक्छ ।
सनोजकुमार झासचिव, केन्द्रीय विद्युत् नियमन आयोग, भारत
हाम्रोमा छिमेकी मुलुकबाट विद्युत् ल्याउने सम्बन्धमा निर्देशिका यसअघि रहेको व्यवस्थाका सम्बन्धमा नेपाल, भुटान, बंगलादेशबाट सुझाव पाएपछि त्यसमा रहेका केही अप्ठ्यारा बुँदालाई संशोधन गरियो । हाम्रो चाहना भनेको देशभित्रको विद्युत् प्रणाली अविछिन्न रहेर छिमेकी मुलुकहरूसँगको आदान–प्रदान पनि सहज होस् भन्ने हो । हामीसँग जलविद्युत्मा ठूलो क्षमता छ । तर विगत ४–५ वर्षको अवधिमा पर्याप्त जलविद्युत् उत्पादन गर्न सकिरहेका छैनौं । हामीलाई ठूलो परिमाणमा विद्युत् अभाव छ । र यसलाई पूरा गर्न जलविद्युत् नै चाहिन्छ । अप्रिल, मे र जुनमा भारतका जलविद्युत् आयोजनाबाट पर्याप्त विद्युत् उपलब्ध हुन गाह्रो छ । त्यो समयमा हामी नेपाल र भुटानबाट जलविद्युत् प्राप्त गर्न चाहन्छौं ।
सोङ तोङसेङमहानिर्देशक, पावर चाइना, चीन
हामी हामीले प्रयोग गरेर संसारका विभिन्न ठाउँमा जलविद्युत् क्षेत्रमा सफल भइसकेका चिनियाँ प्रविधिबाट यहाँ पनि परियोजना विकास गरौं भन्ने चाहन्छौं । नेपालसँग भएको जलविद्युत्को सम्भाव्यताले भारत, बंगलादेश र तिब्बतमा पनि विद्युत् प्रवाह गर्न सक्छ । हामीसँग जलविद्युत्मा लगानी गर्न सकिने ठूलो धनराशी तथा प्रविधि छ । आफ्नो देशमा अब यो क्षेत्रमा गर्नुपर्ने लगानीको आवश्यकता कम हुँदै गएका कारण हामी अन्य देशतर्फ अघि बढिरहेका छौं । त्यसैले नेपाल चिनियाँ लगानी, प्रविधि तथा अन्य जुनसुकै कुराको पनि ठूलो परिमाणमा लगानी हुने देश बन्नेछ भन्ने विश्वास लिएको छु ।
अर्णव वन्द्योपाध्यायलीड ट्रान्सपोर्ट स्पेशलिष्ट, विश्व बैंक
विश्व बैंकले अहिले भारत र बंगलादेशलाई जल मार्गको विस्तारका लागि सहयोग गरिरहेका छौं । दक्षिण एशियाको भविष्य निर्माणमा ठूलो यसको ठूलो भूमिका हुनेछ । नेपालले पनि गण्डकी र कोशी हुँदै उक्त परियोजनासम्म जल यातायात विकास गर्ने हो भने कोलकाता (भारत) र चटगाउँ (बंगलादेश)का बन्दरगाहसम्म सोझै जोडिने अवसर पाउनेछ । यो परियोजनाका लागि बन्दरगाह टर्मिनल, लजिस्टिक लगायत निर्माणमा निजीक्षेत्र आउन सक्छ ।
हान्स पिटर ल्यांकेसउपाध्यक्ष, अर्थशास्त्र र प्राइभेट सेक्टर डेभलपमेन्ट
नेपालमा डुइङ बिजनेशलाई जोड दिइएको अवस्था छ । कुनै पनि देशको विदेशी लगानी आउन देशकै रेटिङ हेरिन्छ । यसकारण नेपालले रेटिङ गर्न जरुरी छ । यो लगानीकर्ताका लागि लगानी गर्ने आधार हो । पाकिस्तानको बी माइनस, श्रीलंकाको बी प्लस रेटिङ छ । नेपालको पनि सबै सूचक हेर्दा रेटिङ राम्रो हुने अपेक्षा गर्न सकिन्छ । अन्तरराष्ट्रिय स्तरको राम्रा अभ्यासलाई स्वीकार्नु जररी छ । कानूनी सुरक्षा, विश्वासको आधार, खुला बजार अर्थतन्त्र लगायत भएमा लगानी गर्न सहज हुन्छ ।