ज्योति विकास बैंक : कम्पनी विश्लेषण (सोमवार, २५ चैत २०७५)
Apr 8, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको दोस्रो त्रैमासमा यस विकास बैंकले रू. १७ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ६१ प्रतिशत बढी हो । कम्पनीले गत आवमा रू. १४ करोड २५ लाख नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा ३६ प्रतिशत र सञ्चालन मुनाफा २१ प्रतिशत बढेपछि नाफा बढेको हो । कम्पनीले हाल ३५ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा सुविधा दिँदै आएको छ । कम्पनीको ११औं सभाले ८ दशमलव ४ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभामा संस्थापक समूहको शेयर स्वामित्व ६० दशमलव ४५ प्रतिशत रहेकाले संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्न यसतर्फको बाँकी शेयर सर्वसाधारणमा परिवर्तन गर्न स्वीकृति दिएको छ । यस कम्पनीले हाम्रो विकास बैंकलाई एक्वायर गरी चैत १५ गते एकीकृत कारोबार शुरू गरेको छ ।
बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १७ करोड ४ लाख नाफा आर्जन गरेको छ । कम्पनीले गत आवमा रू. १४ करोड २५ लाख नाफा कमाएको थियो । यो गत आवको तुलनामा १९ प्रतिशत बढी हो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा ३६ प्रतिशत बढेको छ । गत आवमा रू. ३४ करोड १५ लाख रहेको खुद ब्याज आम्दानी चालू आवमा रू. ४६ करोड ६६ लाख पुगेको छ ।
कम्पनीको सञ्चालन मुनाफा गत आवको तुलनामा २१ प्रतिशत बढेर रू. २६ करोड ७६ लाख पुगेको छ । कम्पनीको फिक्स सम्पत्ति रू. २४ करोड ३६ लाख छ भने अन्य सम्पत्ति रू. ३७ करोड ९५ लाख छ ।
कम्पनीले ब्याजबाट रू. १ अर्ब ४० करोड आम्दानी गरेको छ भने ब्याज खर्च रू. ९३ करोड ३७ लाख गरेको छ । कम्पनीले कर्मचारी खर्च रू. १३ करोड ५० लाख गरेको छ । कम्पनीले अन्य विविध सञ्चालन खर्च रू. १० करोड ९५ लाख गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव १४, पीई रेशियो १० दशमलव ५० प्रतिशत, प्रतिशेयर नेटवर्थ रू. १ सय १७ दशमलव ६४, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. १ हजार १ सय २८ दशमलव ६८ छ भने तरलता अनुपात २४ दशमलव ८२ प्रतिशत छ । आइतवारको शेयरमूल्य रू. १ सय ४० कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.९८१२५ गुणा
अर्निङ यिल्ड रेशियो : ९.३८ प्रतिशत
खरीद चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी छ । कारोबारको अन्तिम समयमा १६ हजार १२ कित्ता शेयर खरीद गर्ने माग र २ हजार ८ सय ५० कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
६२ दिनको शेयर कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । सोही अवधिको कारोबारमा आरएसआई न्युट्रल जोन ५७ दशमलव ३४ स्केलमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४९ विन्दुमा छ । यस अवधिमा उतारचढाव न्य्ून छ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. १ सय ४० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ४२ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा १ सय ३६ मा टेवा पाउन सक्छ ।