ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यापार र पर्यटन प्रवर्द्धनमा मेलाले सहयोग गर्नेछ

Apr 10, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
ललितपुर उद्योग वाणिज्य संघले गत वर्षदेखि पुनः शुरू गरेको ‘ललितपुर अन्तरराष्ट्रिय व्यापार मेला’ यस वर्ष बुधवारदेखि आयोजना हुँदै छ । संघले आगामी दिनमा निरन्तर रूपमा मेला आयोजना गर्ने लक्ष्य राखेको छ । यसै सन्दर्भमा नेपालको व्यापार प्रवर्द्धनमा मेलाको महत्त्वबारे संघका अध्यक्ष कृष्णलाल महर्जनसँग आर्थिक अभियानका संवाददाता निकेश खत्रीले गरेको कुराकानी : ललितपुर अन्तरराष्ट्रिय व्यापार मेला आयोजना गर्नुको मुख्य उद्देश्य के हो ? नेपालमा पहिलो व्यापार मेला आयोजना गर्ने संस्था नै ललितपुर उद्योग वाणिज्य संघ हो । यस प्रकारका अन्य व्यापार मेला आयोजनाको शुरुआत पनि संघले गरेको हो । म संघको महासचिव पदमा रहँदा २०६८ सालमा पनि ‘ललितपुर महोत्सव’ भनेर मेला आयोजना भएको थियो । तर, त्यसपछि केही समय ललितपुरमा मेलाको आयोजना गर्ने प्रचलन रोकिएको थियो । केही समययता रोकिएको मेलालाई गतवर्ष म अध्यक्ष भएपछि ‘ललितपुर महोत्सव’को नाममा पुनः शुरू भएको हो । त्यसैको निरन्तरताका लागि यस वर्ष पनि आयोजना हुन लागेको मेलाको नेतृत्व संघले गर्नेछ । यो मेला आगामी दिनमा निरन्तर आयोजना गर्न तयारीका रुपमा हुन लागेको हो । कुनै समय धेरै आर्थिक क्रियाकलाप हुने ललितपुर महानगरमा अहिले त्यो प्रकारको आर्थिक कारोबार हुने गरेको छैन । त्यसकारण ललितपुरको आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित मेलाको आयोजना गरिएको हो । यसका साथै ललितपुरमा उत्पादित सामग्रीहरूको व्यापार प्रवद्र्धन पनि मुख्य उद्देश्य रहनेछ । साथै, ललितपुर महानगर विश्वको ३५औं हस्तकला नगरीमा समेटिएको छ । सो सूचीमा परेपछि त्यसलाई प्रमाणित गर्न ललितपुर महानगरले आयोजना गरेको सांस्कृतिक महोत्सवमा पनि ललितपुर उद्योग वाणिज्य संघ र हस्तकला महासंघले मुख्य भूमिका निर्वाह गरेको थियो । नेपालमा यस प्रकारका विभिन्न व्यापार मेलाको आयोजना हुँदै आएको छ । यस मेलाको औचित्य के हो ? अहिले हुन लागेको मेला औपचारिकताको लागि मात्र हैन । मेलाले ललितपुरको व्यापारलाई मात्र नभई पर्यटन व्यवसायलाई पनि प्रवद्र्धन गर्नेछ । ललितपुरमा पर्यटकको प्रशस्त सम्भावना हुँदाहुँदै पनि सदुपयोग गर्न सकिएको छैन । ललितपुरको पाटन क्षेत्रमा घुम्न आउने पर्यटकहरू १ दिन मात्र बस्छन् । उनीहरू लतिलपुरमा रात समेत कटाउँदैनन् । ललितपुरमा आएर यहीँ बस्ने वातावरण छैन । सोही कारण आयोजना भइरहेको मेलाबाट ललितपुरलाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने योजना पनि संघले बोकेको छ । आगामी वर्ष हुन लागिरहेको भ्रमण वर्ष २०२० लाई पनि यस मेलाले सहयोग गर्नेछ । साथै, नेपाल घुम्न आउने पर्यटकलाई १ दिन भए पनि ललितपुरमा राख्ने वातावरण बनाउन मेलाले भूमिका निर्वाह गर्नेछ । यस्तै, भर्खर सम्पन्न भएको नेपाल लगानी सम्मेलनमा ललितपुर जिल्लाको कुनै पनि योजना परेन । प्रशस्त सम्भावना हुँदाहुँदै पनि लगानी बोर्डले ललितपुरको कुनै पनि आयोजनालाई सोकेसमा समेत राखेन । ललितपुर जिल्लामा पर्यटन र कृषिको सम्भावना हुँदाहुँदै पनि लगानी सम्मेलनमा समेटिन सकेन । त्यसैले ललितपुरमा पर्यटन र कृषिको अथाह सम्भावना छ भनेर सरकारलाई देखाउन मेलाले भूमिका निर्वाह गर्नेछ । यस्तै, मेलामा आउने विदेशी व्यापारीले ललितपुरमा लगानीको सम्भावना पहिल्याऊन् भनेर मेला आयोजना हुन लागेको हो । मेलाले ललितपुरको र समग्र नेपालको व्यापार प्रवर्द्धन गर्न कसरी सघाउ पुर्‍याउँछ ? मेलामा सहभागी हुन आउने विदेशी व्यवसायीले नेपालमा उत्पादित सामग्री अवलोकन गर्नेछन् । उनीहरूले आफ्नो देशमा उत्पादित सामग्रीको प्रदर्शन गर्नेछन् । यसले दुवै देशमा उत्पादित सामग्रीहरू प्रवद्र्धन हुनेछ । मेलाले विश्वबजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धाका लागि केही सहयोग हुने अपेक्षा मैले गरेको छु । मेलाबाट आयोजक देश र सहभागी हुने देश दुवैलाई फाइदा पुग्नेछ । मेलाको मुख्य आकर्षणका रूपमा ललितपुरको हस्तकला हुन्छ वा अन्य कुनै वस्तु रहन्छ ? ललितपुर हस्तकला नगरीको उत्कृष्ट ३५ मा परेपछि स्थानीय सरकारले ललितपुरको हस्तकला क्षेत्रलाई विकास गर्न ध्यान पुर्‍याएको छ । ललितपुरमा रहेका सम्पूर्ण सम्पदाहरू संरक्षणका लागि ललितपुर महानगरले चासो देखाएको छ, जसले गर्दा ललितपुरमा रहेको ऐतिहासिक र परम्परागत धरोहर संरक्षणमा टेवा पुग्नेछ । नत्र प्रत्येक ४ वर्षमा परिवर्तन हुने सूचीबाट नेपाल हट्न पनि सक्छ । त्यसकारण स्थानीय बासिन्दा पनि उक्त पहिचान जोगाउनलाई लागिपरेका छन् । ललितपुर महानगरले एउटा कमिटी गठन गरेर हस्तकला र पुरातात्त्विक धरोहर जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने कोसिस गर्दै छ । नेपाल आउने पर्यटकहरूलाई हामीले सम्पदा देखाएर मात्र आम्दानी गर्दै आएका छौं, तर त्यसको संरक्षणमा ध्यान पुर्‍याएका छैनौं । २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण भत्किएका पाटन क्षेत्रका विभिन्न मन्दिर पुनर्निर्माणमा ललितपुर उद्योग वाणिज्य संघको महत्त्वपूर्ण भूमिका छ, जसका लागि संघले कमिटी नै गठन गरेको छ । मेलामा विभिन्न देशबाट व्यापारीहरू सहभागी हुने बताइएको छ । यसबाट नेपाललाई कस्तो फाइदा हुन्छ ? मेलामा विभिन्न देशका उद्योगी, व्यापारी र अवलोकनकर्ता आउनेछन् । उनीहरूले ललितपुरमा बनेका विभिन्न हस्तकलाका सामग्रीहरू अवलोकन गर्ने अवसर पाउनेछन् । साथै, नेपालमा बनेका हस्तकलाका सामग्री खरीद गर्नेछन् । ललितपुरमा र नेपालका अन्य जिल्लामा नेपालमा रहेका लगानीका सम्भावनालाई नजीकबाट नियाल्नेछन् । सरकारले लिएको भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई पनि मेलाले सहयोग गर्नेछ । प्रवेश रू. ३० लाग्ने मेलाबाट करीब रू. ५ करोडको कारोबार लक्ष्य संघले लिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)