काठमाडौं । दोस्रो ललित अन्तरराष्ट्रिय व्यापार मेला आज बुधवारदेखि ललितपुरको नटोलमा शुरू हुने भएको छ । ललितपुर क्षेत्रको हस्तकलाका सामग्रीलाई विश्वबजारमा प्रवर्द्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको हो ।
ललितपुर उद्योग वाणिज्य संघले मेला आयोजना गरेको हो । नटोलस्थित मदनस्मारक विद्यालयको प्रांगणमा आगामी पाँच दिन (वैशाख १ गते) सम्म मेला आयोजना हुनेछ । संघको ५२औं स्थापना दिवसको अवसर र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरूप मेला आयोजना गरिएको संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए । उनका अनुसार मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय भएको छ ।
ललितपुरमा उत्पादित सामग्रीको अन्तरराष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रूपमा ललितपुरलाई विकसित गर्न मेला आयोजना गरिएको महर्जनले जानकारी दिए । ‘राजधानीसँगै जोडिएको जिल्ला भए पनि ललितपुरको विकासमा राज्यको ध्यान अपेक्षाकृत रूपले परेको छैन । सोही कारण ललितपुरको विकासमा स्थानीय बासिन्दा नै लाग्ने भन्दै संघले मेला आयोजना गरेको हो,’ उनले भने ।
ललितपुरको आफ्नै सामथ्र्य र सम्भावना देखाउनकै लागि मेलाको आयोजना गरिएको उनको भनाइ छ । यसले राज्यको ध्यानाकर्षण गर्ने उनले बताए । संघका महासचिव मनोजबहादुर न्याछ्योका अनुसार मेलामा करीब सयओटा स्टल रहनेछन् । भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत विभिन्न देशका ३० ओटा स्टल रहनेछन् ।
नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीको स्टल रहने मेलामा करीब ५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा संघको छ । मेलामा दर्शकहरूले कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । विश्वसम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रको भीमसेन मन्दिरको संघको अगुवाइमा पुनर्निर्माण कार्य शुरू भइरहेको पृष्ठभूमिमा मेलाले पुनर्निर्माणलाई झनै सघाउने अपेक्षा गरिएको छ ।