सन्तोष पुर्कुटी
ताप्लेजुङ । २०६७/०६८ सालतिर अलैंचीको मूल्य बढेर प्रतिमन रू. १ लाख २० हजारमा कारोबार हुन थालेपछि ताप्लेजुङका किसान यसको खेतीतर्फ निकै आकर्षित भए । सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्कीले महँगो ब्याजदरमा ऋण लिएर झण्डै रू. ७ लाखको लगानीमा अलैंची खेती विस्तार गरे । २५ मुरीभन्दा बढी धान फल्ने खेतमा राम्रो आम्दानी लिने सोचसहित उनले अलैंची रोपेपछि परिवारलाई खाने चामल खरीद गर्न थाले ।
अलैंची फल्छ, अनि बेचेरै ऋण तिरौंला भनेका उनी अन्ततः घर नै छाडेर अन्तै बसाइँ सर्न बाध्य भए । अहिले उनी नुवाकोटमा गुजारा चलाउँदै छन् । ‘न अलैंची राम्रो फल्यो, न त मूल्य नै राम्रो भयो, दिनानुदिन ऋणमाथि ऋण थपिँदै गएपछि विकल्प खोज्न परिवारसहित नुवाकोटमा काम गरिरहेको छु,’ उनले भने ।
‘त्यस बेला लिएको ऋण सावाँ र ब्याज हिसाब गर्दा झण्डै रू. १५ लाख पुगेछ, यसपालि बल्लतल्ल डेढ मन अलैंची फलेछ, अहिलेको भाउअनुसार ५० हजार पनि आउँदैन, केले ऋण तिर्ने, होश उडिसक्यो,’ उनी बताउँछन् ।
‘निल्नु न ओकल्नु भयो’
त्यही ठाउँका राजकुमार भट्टराई पनि यस्तै समस्याबाट गुज्रिएका छन् । वर्षभर पुग्ने अन्नपात उब्जाउ हुने धान खेत मासेर अलैंची खेती गरेयता दिनरात पिरलो छ उनलाई । ‘झण्डै रू. ३ लाख ऋण गरेर सिँचाइको व्यवस्था गरें, अलैंची राम्रो पनि फलेन, भाउ पनि फेदैमा पुग्यो, अलैंची खेती निल्नु न ओकल्नु भयो,’ भट्टराई भन्छन् । सबले अलैंची खेती थालेपछि फुङलिङ नगरपालिकाका भिङ्मारे लिम्बुले बिरुवा बेचेरै आम्दानी गर्ने सोचले अलैंची नर्सरी गर्न थाले । तर, उनको पनि लगानी त्यसै खेर गएको छ ।
जिल्लाभरकै अलैंची किसानको व्यथा उस्तै छ । वर्षभर खान पुग्ने अन्नपात उब्जाउ हुने खेतबारी अलैंची र जंगलले ढाकिएका छन् । खेतबारी नै मासेर बसेका किसानका घरमा झापादेखिका व्यापारीले धान लगेर बेच्न थालेका छन् । तिनै किसानले कुनै समयमा आफै उत्पादन गरेको धान बेचेर आम्दानी गर्थे ।
व्यापारीलाई पनि समस्या
किसान मात्रै होइन यतिबेला अलैंची व्यापारी समेत हैरान छन् । छोटो–छोटो अवधिमा मूल्यमा आउने उतारचढावले उनीहरू समस्यामा परेका हुन् । ‘किसानबाट एउटा मूल्यमा लिएको अलैंची कहिले घाटामा कहिले नाफामा बेच्नुपर्छ, नाफाभन्दा घाटा नै धेरै हुन्छ,’ अलैंची व्यापारी बुद्ध दहालले बताए ।
ठूला व्यापारी सीधै भारतका व्यापारीसँग कारोबार गर्छन् । साना व्यापारी बिर्तामोडका ठूला व्यापारीसँग कारोबार गर्छन् । साना ठूला दुवै व्यापारी अन्ततः भारतकै भरमा चल्छन् । ‘भारतका व्यापारीले जे भन्यो त्यही मान्नुपर्छ, आज एउटा मूल्य भनेको छ, अर्को दिन तुरुन्तै फेरिन्छ, मूल्य उनीहरूको मुखमा भर पर्छ,’ अलैंची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष बालमणी बरालले भने । सरकारले यतातिर चासो नदिएको उनको गुनासो छ ।