अभियान परिशिष्ट (सप्लिमेन्ट)
निर्माणको वर्ष - २०७५
नेपालको पर्यटन क्षेत्र २०७५ सालमा केही आशा र केही निराशाको सेरोफेरोमा गुज्रन पुग्यो । पर्यटन पूर्वाधारको विकास, मन्ट्रियल महासन्धि १९९९ लागू हुनु, क्रस बोर्डर हवाई रुटमा भएको प्रगति, राष्ट्रिय ध्वजावाहकको आगमन र निजी क्षेत्रले विमान सेवामा गरेको प्रगति यस वर्षका उल्लेख्य र आशलाग्दा गतिविधि हुन् । ताप्लेजुङको दारेभीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटना, युरोपियन युनियनको गम्भीर सुरक्षा चासोबाट नेपाल हट्न नसक्नु, वाइडबडी विमान खरीद विवादमा पर्नु भने यस वर्षका दुःखद र निराशाजनक घटना हुन् । तथापि, सरकारले समेत पर्यटन क्षेत्रलाई विकासको आधार मानेको अवस्थामा पर्यटन क्षेत्रमा यो वर्ष भएको विकास निर्माणले केही आसलाग्दा संकेत चाहिं अवश्य नै दिएको छ ।
मन्ट्रियल महासन्धि : महत्वपूर्ण उपलब्धि
नेपालले मंसिर २९ गतेदेखि मन्ट्रियल महासन्धि लागू गरेको छ जुन निकै महत्वपूर्ण उपलब्धि हो । यसबाट अन्तरराष्ट्रिय विमानमा यात्रा गर्ने नेपाली यात्रुको बीमा रकम सात गुणा बढेर १ लाख ६० हजार अमेरिकी डलर हाराहारी पुगेको छ । यो सन्धि लागू हुनुअघि उक्त बीमा रकम २० हजार डलर मात्र थियो ।
अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) का सदस्य १९२ मुलुकमध्ये यो महासन्धि अनुमोदन गर्ने देश १३५ पुगेका छन् । मन्ट्रियल महासन्धि खासगरी हवाई यात्रु पक्षधर महासन्धिको रूपमा तयार भएको छ । यो महासन्धि लागू भएसँगै नेपाली हवाई यात्रुले अधिकतम लाभ पाउने भएका छन् ।
वाइड बडी विमानको आगमन
नेपाल वायुसेवा निगमले २०७५ मा ‘अन्नपूर्ण’ र ‘मकालु’ गरी दुइटा वाइड बडी विमान भित्र्यायो । यी विमानहरू आउनु, विमान नभएर अन्तरराष्ट्रिय उडान गर्न नसकेको निगम र देशकै लागि गर्वको विषय बन्यो । तर वाइड बडी ए ३३०–२०० सिरिजका उक्त विमान खरीद गर्दा भ्रष्टाचार भएको विषय संसदीय समिति हुँदै अख्तियारसम्म पुग्नुले विमान आउँदा देखिएको खुशी लामो समय टिक्न सकेन । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको रु. १२–१२ अर्बको ऋणबाट दुईवटा विमान खरीद गरिएको हो ।
नयाँ हवाई प्रवेश विन्दु
भैरहवामा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल धमाधम निर्माण भइरहँदा भारतले हवाई विन्दु दिन्छ वा दिंदैन भन्ने ठूलो चासोको विषय थियो । तर भैरहवा र जनकपुरबाट क्रसबोर्डर हवाई प्रवेश विन्दु दिन भारत सहमत भयो, जो नेपाली उड्यन क्षेत्रका लागि सुखद पक्ष हो । क्रसबोर्डर हवाई प्रवेश रूट बनाउन नेपाल र भारतले अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) मा संयुक्त आवेदन दिइसकेका छन् । नेपालले भारतसँग नेपालगन्ज र महेन्द्रनगर रूट माग गरेको भए पनि हाललाई भैरहवा र जनकपुर रूटमा सहमति दिएको छ । हालसम्म ती विन्दु हुँदै विमानहरू भारततर्फ जान मात्र पाउँथे । उक्त सहमतिसँगै नेपाल आउने विमान पनि ती विन्दुबाट भित्रिन पाउनेछन् ।
राष्ट्रिय गौरवका आयोजना प्रगतितिर
राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य तीव्र गतिमा अगाडि बढेको छ । निर्माण निर्धारित समयमै सम्पन्न हुने प्राधिकरणले जनाएको छ । यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तोकिएको अवधिभन्दा ६ महीना पहिले सम्पन्न हुने देखिएको छ ।
निजगढस्थित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । गत वर्ष मन्त्रिपरिषद्ले सडक निर्माण तथा विमानस्थल क्षेत्रको रूख कटानको काम नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेअनुरुप सेना र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्बन्धमा स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार प्रथम चरणमा निर्माण गरिने क्षेत्रभित्रका रूख कटान आदेशका लागि प्रक्रिया अगाडि बढेको छ ।
विमानस्थलको क्षमता र उडान समयमा वृद्धि
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक २२ घण्टा सञ्चालन, पार्किङ एरिया विस्तार, अन्तरराष्ट्रिय उडान क्षेत्रतर्फ छओटा साना विमान र छओटा ठूला विमान गरी थप १२ विमान पार्किङ गर्न मिल्ने पार्किङ वेको निर्माण यस वर्ष उड्डयन क्षेत्रमा भएका विकास हुन् । यस्तै, लामो समयदेखि योजनामा मात्र सीमित रहेको विमानस्थलको धावन मार्ग पुनर्निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ । यो वर्ष नै चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा उपकरण जडान गरी रात्रिकालीन उडान समेत शुरू गरिएको छ ।
[caption id="attachment_333331" align="alignleft" width="800"] धुलिखेलमा जीप फ्लाइङ्ग गरिँदै[/caption]
सयओटा नयाँ पर्यटकीय गन्तव्य पहिचान
यो वर्ष मुलुकभर सयओटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । सन् २०१८ लाई आधार मान्दा २०७५ मै सबैभन्दा धेरै पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ मा करीब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो वर्ष नै जापान, कम्बोडिया, थाइल्यान्ड लगायत मुलुकसँग हवाई सम्झौता पुनरवलोकन गरी ३९ देशसँग हवाई सम्झौता भएको छ ।
ईयूको प्रतिबन्ध कायमै
हवाई क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय नछुट्याएको भन्दै सात वर्षदेखि नेपाललाई कालोसूचीमा राख्दै आएको युरोपियन युनियन (ईयू) ले यो वर्ष पनि नेपाललाई सो सूचीबाट हटाएन । यसले गर्दा दुईवटा वाइड बडी विमान खरीद गरेको नेपाल वायुसेवा निगमको युरोपेली आकाशमा पनि नेपाली विमानसेवा पुर्याउने योजनामा धक्का लागेको छ । अन्तरराष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) ले गत वर्ष नै नेपाललाई ‘सेफ्टी लिस्ट’ बाट हटाएको थियो ।
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना
ताप्लेजुङको दारेभीरमा फागुन १५ मा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको मृत्यु भयो । सो दुर्घटनामा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनीयर ध्रुवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्रीका अंगरक्षक अर्जुन घिमिरेको निधन भएको थियो । समग्रमा हेर्दा, केही निराशाजनक घटना भए पनि पर्यटन क्षेत्रमा भएको प्रगतिलाई सकारात्मक र उत्साहजनक नै मान्नुपर्छ । संघीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्मले विकासको आधार पर्यटनलाई मानेका छन् । यसले पनि आउने दिनमा आर्थिक विकासको मुख्य आधार र भरोसा पर्यटन क्षेत्र नै बन्ने देखिन्छ । सरकारले भिजिट नेपाल २०२० घोषणा गरी पर्यटन वर्ष मनाउन लागिरहेको अवस्थामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न भने पूर्वाधार विकासको गतिलाई थप तीव्र बनाउन आवश्यक छ ।