ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्ष २०७५ : पूँजीबजारमा अनलाइन कारोबार प्रणाली भित्रिएकोे वर्ष

Apr 12, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट) निर्माणको वर्ष - २०७५
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । नेपालको धितोपत्र बजार वर्ष २०७५ मा पूर्ण प्रविधिमैत्री बन्नेतर्फ उन्मुख छ । धितोपत्र दोस्रो बजार कारोबार गर्ने नेपालको एक मात्र कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यस वर्ष पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली भित्र्याएको छ । इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै स्थानबाट धितोपत्र खरीद विक्री आदेश प्रविष्टि गरी वास्तविक समयमा कारोबार गर्न सकिने गरी नेप्सेले अनलाइन कारोबार प्रणालीको विकास गरेको हो । यस प्रणाली भित्र्याउन नेप्सेले २०७२ फागुन ४ गते सम्झौता गरेको थियो । त्यस समयमा विभिन्न निकायमा परेको उजुरी, अदालती प्रक्रिया, प्रमुख कार्यकारी नियुक्तिमा ढिलाइ, सदस्य दलालतर्फको तयारी लगायतका कारणले सम्झौताले अपेक्षित गति लिएको थिएन । अन्ततः गत साउन १ गतेदेखि परीक्षणका रूपमा शुरू भएको स्वचालित अनलाइन कारोबार प्रणालीले पूर्णता पाइसकेको छ । हाल दोस्रो बजारमा कारोबारका लागि पुरानो र नयाँ प्रणाली सँगसँगै सञ्चालन गरिएको हो । यस प्रणालीमा लगानीकर्तालाई अभ्यस्त गराउन नेप्सेले ‘मोक ट्रेनिङ’देखि थप तालीमको समेत आयोजना गरेको थियो । हालसम्म अनलाइन प्रणालीमा ३ हजार ५५७ जना लगानीकर्ता आबद्ध भएको नेप्सेले जानकारी दिएको छ । यी मध्ये दैनिक अनलाइन कारोबारमा सक्रिय ५९६ मात्र छन् । अनलाइन कारोबार प्रणालीमा आबद्ध गराउन नेप्सेले आवश्यक प्रशिक्षणलाई निरन्तरता दिइरहेको समेत बताएको छ । लगानीकर्ताको असन्तुष्टि र हर्षको पाटो यस वर्ष नेपालको पूँजीबजारका विषयमा अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नो अभिव्यक्तिका कारण आम लगानीकर्ताबीच आलोचित बने । उनको बर्खास्तीको माग गर्न पनि लगानीकर्ता पछि परेनन् । पूँजीबजार नियामक निकायदेखि सम्बद्ध सरोकारवाला निकायहरूको यस वर्षको नीति तथा कार्यक्रममा उल्लेखित विषयहरूले पूँजीबजार सुधार होला भन्ने आश गरेका लगानीकर्ताले अधिकांश ती कार्यक्रमहरू कार्यान्वयन नभएको गुनासो गरेका छन् । पूर्ण अनलाइन कारोबार प्रणाली लागू भएपश्चात् पूँजीबजारमा सञ्जीवनी बुटीको काम गर्ने आश गरेका लगानीकर्ताले यसको प्रभावकारिता सोचेजस्तो पाउन नसकेको बताइरहेका छन् । पूँजीबजार सुधारको माग गर्दै रिले अनशनदेखि आमरण अनशनसम्मको कार्यक्रम यस वर्ष लगानीकर्ताले आयोजना गरे । नेप्सेले भित्र्याएको अनलाइन कारोबार प्रणालीले सोचेअनुसार काम गरे आपूर्ति बढी भएर थलिएको शेयर बजारमा माग बढाएर उठाउन सकिने तर्क लगानीकर्ताहरूको छ । अनलाइन प्रणालीमा देखिएको समस्या समाधानको विषय औपचारिक शुरुआतदेखि नै समस्या देखिएको नेप्सेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा रहेको समस्या समाधानमा नेप्से प्रयासरत छ । अनलाइन कारोबारलाई व्यवस्थित गर्दै लैजान नेप्सेले नयाँ प्रणालीबाट नेप्से वेबसाइटमा डाटा डिस्प्ले गर्दा डाटा स्ट्रक्चरमा देखिएको समस्या समाधान गरी रियल टाइम डाटा डिस्प्ले गरिँदै आएको जानकारी दिएको छ । डाटा मिस म्याचले गर्दा ‘यूसीसी जेनेरेट’ नहुने समस्यालाई डाटा क्लिन गरी समाधानगरिएको समेत नेप्सेले प्रष्ट पारेको छ । नेप्सेका अनुसार नेप्सेको प्रणाली सीडीएस एण्ड क्लियरिङ हाउस लिमिटेडको प्रणालीमा आबद्ध गराई क्लियरिङ हाउसका सदस्य अन्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन हस्तान्तरणको व्यवस्था मिलाउने कार्यलाई अगाडि बढाइएको छ । दोस्रो बजार कारोबार विकासका सम्बन्धमा अनलाइन प्रणाली कोशेढुंगो सावित हुने नेप्सेको विश्वास छ । पूँजीबजारको लागि सरकारी पहल यस वर्ष सरकारले पनि पूँजीबजार सुधारका लागि आवश्यक पहल गरेको देखिन्छ । यस वर्षको बजेटमै धेरैजसो व्यवस्था गरेको सरकारले उच्चस्तरीय समिति गठन गरी पूँजीबजारको लागि गर्नुपर्ने आवश्यक काम गर्न गराउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयद्वारा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय समिति बनाएर मुद्रा तथा पूँजीबजारमा देखिएका प्रवृत्तिहरूको समग्र मूल्यांकन गरिएको थियो । उक्त समितिले मुद्रा तथा पूँजीबजारमा देखिएका प्रवृत्तिहरूको मूल्यांकनपश्चात् ५८ बुँदे सुझाव सहित आफ्नो प्रतिवेदन सार्वजनिक गरेको थियो । धेरैजसो बुँदा पूँजीबजार सम्बद्ध रहेको र ती बुँदाहरू कार्यान्वयनका लागि सम्बद्ध सरोकारवाला निकायहरूलाई निर्देशन दिइएको थियो । सो निर्देशनबमोजिम सरोकारवाला निकायहरूले आ—आफ्नो तर्फबाट कार्यान्वयनको पहल गरिरहेको जानकारी दिएका छन् । यीबाहेक पूँजीबजार सुधारका लागि भएका महत्त्वपूर्ण कदम १. ब्रोकर कम्पनीमार्फत मार्जिन कारोबार सम्बन्धमा बोर्डको निर्देशनमा नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि लागू गरिसकेको र सोही बमोजिम नेप्सेबाट आवश्यक प्रक्रिया अघि बढेको । २. नेप्सेले सञ्चालनमा ल्याएको स्वचालित कारोबार प्रणाली सीडीएसएलको प्रणालीमा आबद्ध गरिएको । साथै स्वचालित कारोबार प्रणालीमा भएका कमीकमजोरीहरूलाई अध्ययन गर्न समाधानको प्रक्रिया अघि बढेको । ३. बजार निर्माता कार्यका लागि नागरिक लगानी कोषलाई संस्थागत व्यवस्थापन गर्न समन्वय भइरहेको । ४. न्यूनतम ग्रेडभन्दा कम्तीमा एक स्तर माथिको रेटिङ प्राप्त गरेका संस्थाहरूलाई मात्र सार्वजनिक निष्कासन अनुमति प्रदान गरी कार्यान्वयन गरिएको । ५. बजारमा सर्वसाधारण लगानीकर्ताहरूको पहुँच विस्तार गराई ऋणपत्र बजारलाई थप गतिशील बनाउन जारी रकमको कम्तीमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई विक्रीवितरण गर्न छुट्याउनुपर्ने व्यवस्था गरिएको । ६. नेटवर्थभन्दा बढी नहुने गरी एफपीओ जारी गर्न पाउने तथा नेटवर्थभन्दा दुई गुणा बढी नहुने गरी आईपीओ जारी गर्न पाउने व्यवस्था गरिएको । ७. खुलामुखी सामूहिक लगानीकोष सञ्चालन गर्न गरिएको व्यवस्था कार्यान्वयनको चरणमा रहेको । ८. प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड, हेज फन्ड जस्ता वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ यही फागुन २२ गतेदेखि लागू गरिएको । ९. लीलामी शेयरमा काठमाडौं बाहिरका जिल्लाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको । १०. आयोजना प्रभावित स्थानीयले पनि स्वैच्छिक रूपमा सी—आस्वा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको । १०. सार्वजनिक निष्कासनमा न्यूनतम ५० कित्ता आवेदन दिने व्यवस्थालाई परिवर्तन गरी न्यूनतम १० कित्ता आवेदन दिन पाउने व्यवस्था लागू भएको ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)