फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (सोमवार, २ वैशाख २०७६)
Apr 15, 2019
 
लगानी
कम्पनी विश्लेषण
लगानीकर्ताहरूलाई आकर्षक लाभांश वितरण गर्दै आएको फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनीले यस वर्ष ४५ प्रतिशत लाभांश वितरण गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । गतवर्षको मुनाफाबाट २० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस वितरणको प्रस्ताव गत पुस २९ गते नै साधारणसभा मार्फत पारित गरेको कम्पनीले नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिसकेको छ । हालसम्म कम्पनीले बोनस शेयर भने वितरण गरेको छैन । विक्रीप्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार कम्पनीले सूचीकरणका लागि गर्नुपर्ने काम हालसम्म पनि अघि बढाएको छैन । कम्पनीले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. १५ करोड ५१ लाख ३० हजार खुद नाफा गरेको छ । हाल रू. ३० करोड १ लाख ६५ हजार रहेको यस कम्पनीको चुक्तापूँजी २५ प्रतिशत बोनस वितरण गरेपछि रू. ३७ करोड ५२ लाख ६ हजार पुग्नेछ । कम्पनीले एक केन्द्रीय कार्यालय र ११६ ओटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्रीचापको तुलनामा खरीद चाप बढी थियो । सो अवधिसम्म १ हजार ४३२ कित्ता शेयर खरीद र ९८९ कित्ता शेयर विक्री गर्ने माग थियो । यस दिन कम्पनीको २६५ कित्ता शेयर कारोबार भएको छ ।
निष्कर्ष
कम्पनीको ६६ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ७७ विन्दुमा छ । यसले शेयर विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ५७ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई औसत रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १ हजार ५१७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ५२५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ५०६ मा टेवा पाउने देखिन्छ ।