एनएमबी माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (बुधवार, ४ वैशाख २०७६)
Apr 17, 2019
 
लगानी
कम्पनी विश्लेषण
एनएमबी बैंकको सहायक कम्पनीको रूपमा रहेको एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले गतवर्ष समेतको मुनाफबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्तापूँजी रू. १६ करोड २० लाख ६ हजार पुर्याएको छ । कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ । गत पुसमा सम्पन्न साधारणसभा मार्फत कम्पनीले पूँजीवृद्धि गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी १ सय २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले आगामी दिनमा वित्तीय पहुँच कम भएका थप जिल्लामा शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ । कम्पनीले ५४ जिल्लामा १ सयओटा शाखा तथा उपशाखा कार्यालयमार्फत ९३ हजार ३५७ जना विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ । कम्पनीले चैत मसान्तसम्म रू. ३ करोड ३२ लाख ८१ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२.६२ प्रतिशत बढी हो । यस वर्ष सञ्चालन नाफा ५० प्रतिशत बढेकाले पनि नाफा बढेको हो ।
कम्पनीको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले चैत मसान्तसम्ममा रू. ९६ करोड ११ लाख निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ७९ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ५६ प्रतिशत र कर्जा प्रवाह ३० दशमलव ७८ प्रतिशत बढेको हो । कम्पनीले रू. २० लाख लगानी गरेको छ । कम्पनीले रिजर्भ कोषमा रू. ११ करोड ९९ लाख छुट्याएको छ । यो गत आवको सोही अवधिको तुलनामा २२ प्रतिशत बढी हो ।
चैत मसान्तसम्ममा रू. १४ करोड ३० लाख खुद ब्याज आम्दानी गरेको कम्पनीको सञ्चालन नाफा रू. ५ करोड ११ लाख छ । गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १९ दशमलव ८९ प्रतिशत र सञ्चालन नाफा ५० प्रतिशत बढी हो ।
कम्पनीको कर्मचारी खर्च ३४ प्रतिशत बढेर रू. १० करोड २३ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च रू. ३ करोड ९८ लाख छ । सम्भावित जोखिम बापतको व्यवस्थामा कम्पनीले रू. १ करोड ७० लाख छुट्याएको छ । गत आवको चैत मसान्तसम्ममा २ दशमलव ९३ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आवको चैत मसान्तमा २ दशमलव ४५ छ ।
तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. २७ दशमलव ३९, मूल्य आम्दानी अनुपात (वार्षिक) ३६ दशमलव ५५, तरलता अनुपात ११ दशमलव ६३ र प्रतिशेयर नेटवर्थ रू. १ सय ७४ दशमलव ०६ छ । मंगलवारको शेयरमूल्य रू. १ हजार ५३ कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.०१० गुणा
अर्निङ यिल्ड रेशियो : २.६० प्रतिशत
खरीद चाप : मंगलवार कम्पनीको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १ हजार ३५ कित्ता शेयर खरीद गर्ने र २ सय १२ कित्ता शेयर विक्री गर्ने माग छ ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५४ दशमलव २३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २१ दशमलव ४२ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. १ हजार ५३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ९० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार १ मा टेवा पाउने देखिन्छ ।