कालिका लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, १० वैशाख २०७६)
Apr 23, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चैत मसान्तसम्ममा रू. २ करोडभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीको नाफा रू. १ करोड ९२ लाख थियो । चैत मसान्तसम्ममा कम्पनीले रू. १ करोड ७४ लाख खराब कर्जा उठाएकाले र खुद ब्याज आम्दानी ३९ प्रतिशत बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्तापूँजी रू. १० करोड ८० लाख पुगेको हो । कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म १ हजार २ सय ६० कित्ता विक्री गर्ने र ७ सय ९५ कित्ता शेयर खरीद गर्ने माग थियो ।
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४१ दशमलव ५२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २० दशमलव ६२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ७ सय ७७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ५ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ७ सय ६५ मा टेवा पाउने देखिन्छ ।