नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, १० वैशाख २०७६)
Apr 23, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. ९ करोड २७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५४ प्रतिशत बढी हो । गतवर्ष कम्पनीले रू. ९ करोड ४४ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ४५ प्रतिशत र सञ्चालन नाफा ५४ प्रतिशत बढेपछि नाफामा वृद्धि भएको हो । कम्पनीले शेयरधनीलाई २०७४÷७५ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको छ । चुक्तापूँजी रू. १५ करोड ८ लाख छ । कम्पनीले पाँचओटा शाखा कार्यालयबाट सातओटै प्रदेशमा ७५ हजारभन्दा बढी घरधूरीमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म १ हजार २ सय ७२ कित्ता शेयर विक्री गर्ने र ५ सय ७५ कित्ता शेयर खरीद गर्ने माग थियो ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तोे आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ६४ दशमलव ३४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६३ दशमलव ९६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. १ हजार ७ सय ४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ७ सय ५४ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. १ हजार ६ सय टेवा पाउने देखिन्छ ।