ग्लोबल आईएमई लघुवित्त : कम्पनी विश्लेषण (बुधवार, ११ वैशाख २०७६)
Apr 24, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चैत मसान्तसम्ममा रू. ४ करोड ८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २ सय ५५ प्रतिशत बढी हो । गत आवको सोही अवधिको तुलनामा कम्पनीले रू. १ करोड १४ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १ सय ३९ प्रतिशत र सञ्चालन नाफा २ सय ३६ प्रतिशत बढेकाले नाफामा वृद्धि भएको हो । यस लघुवित्त कम्पनी ग्लोबल आईएमई बैंकको सहायक कम्पनी हो । कुल शेयरमध्ये ७० प्रतिशत शेयर ग्लोबल आईएमई बैंकको छ । कम्पनीको चुक्तापूँजी १५ प्रतिशत बढेर रू. ११ करोड ४ लाख पुगेको छ । १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी वृद्धि भएको हो । प्रतिशेयर आम्दानी (वार्षिक) रू. ४९ दशमलव २८ छ । कम्पनीको मंगलवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ६ सय १० कित्ता शेयर विक्री गर्ने माग र ५ सय २० कित्ता शेयर खरीद गर्ने माग थियो ।
कम्पनीको ५३ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव ०७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३८ दशमलव ५८ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. १ हजार १ सय २८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार १ सय ७० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ६८ मा टेवा पाउने देखिन्छ ।