ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शीप सिकाइबाट आयआर्जनमा टेवा

Apr 25, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.
५१ हजार ६४९ लाई तालीम ४ वर्षअघिको भूकम्प निकै अप्रिय रहे पनि त्यसपछिको पुनर्निर्माण कार्यले भने केही सबल पक्षलाई बाहिर ल्याएको छ । उक्त भूकम्पपछि पुनर्निर्माणको शीपमार्फत भौतिक संरचना निर्माणमा टेवा मिलेको मात्र छैन, सम्बन्धित जनशक्तिको जीविकोपार्जनमा समेत उल्लेख्य योगदान पुगेको छ । प्राधिकरणले हालसम्ममा ५१ हजार ६४९ लाई भूकम्पपछिको पुनर्निर्माणका लागि तालीम दिइएको छ । प्राधिकरणका अनुसार ओजेटी (घर बनाउदै शीप सिक्ने) तालीम लिनेको संख्या १६ हजार ६४९ छ भने छोटो अवधि (७ दिन)को तालीम लिनेहरू ३५ हजार छन् । यस्तो तालीम पाएका जनशक्ति सुरक्षित आवास तथा भूकम्पप्रतिरोधी घर निर्माणका लागि योग्य हुन्छन् । साथै यो कार्यले सुरक्षित निर्माणका लागि पनि थप प्रेरित गरेको छ । खासगरी भूकम्पप्रतिरोधी घर तथा भौतिक संरचना निर्माणले दक्ष जनशक्ति उत्पादन गरेको दाबी प्राधिकरणको छ । नेपाल भूकम्पको जोखिममा रहेको भए पनि यसअघि यसप्रकारका तालीम तथा शीप सिकाउने विषयमा भने खासै चासो दिइएको थिएन । अहिले पुनर्निर्माण कार्यमा भूकम्पप्रतिरोधी निजी घर बनाएको प्रमाणित भएपछि मात्रै अनुदान दिने नियमले तालीमप्राप्त जनशक्तिको माग बढेको छ । यसले गर्दा युवाहरूले समेत शीप सिकाइलाई विशेष प्राथमिकता दिएका छन् । मुलुकमा रहेको बेरोजगारको समस्या, निम्नस्तरको आयआर्जनको अवस्था र निर्माण क्षेत्रमा पुरुषको एकाधिकार हटाउने पक्षमा भूकम्पपछिको पुनर्निर्माणले मुख्य भूमिका निर्वाह गरेको छ । भूकम्पपछिको पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा हुँदै आएको छ । पुनर्निर्माणको काम अघि बढाउँदा यससम्बन्धी काम गर्ने जनशक्तिको अभाव भएको थियो । त्यसैले सोही बेलादेखि पुनर्निर्माणका लागि दक्ष जनशक्ति तयार पार्ने परिकल्पना अघि सारिएको थियो । त्यसले कालान्तरमा रोजगारी सृजना गर्न उपयुक्त वातावरण बनाउने निश्चित थियो । प्राधिकरणबाट तालीम लिएर कपिलवस्तुको विरपुरबाट दोलखामा घर निर्माणका लागि पुगेका कमल विश्वकर्माले दैनिक रू. ९०० सम्म ज्याला लिएर काम गरेको अनुभव सुनाए । ‘आफ्नै देशमा काम पाइयो र उचित ज्याला पनि पाएका छौं,’ उनले भने । महिलाहरू पनि पुनर्निर्माणको काममा सहभागी भएर तालीम पाएपछि रोजगारी तथा निर्माणको काम पुरुषले मात्रै गर्ने हो भन्ने सोचसमेत परिवर्तन भएको छ । यसले महिलालाई आत्मनिर्भर बनाउनुका साथै आयआर्जनका लागि उपयुक्त अवसर बनेको छ । जीविकोपार्जनमा समेत यी तालीम तथा पुनर्निर्माणको कामले निकै सघाउ पुगेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । ‘आयस्तर सुधार्न, स्वदेशमै रोजगारी सृजना गर्न र महिलालाई पनि निर्माण क्षेत्रमा सहभागी गराउनका लागि सहज भएको छ,’ उनले भने । आ.व. २०७७/७८ भित्र निजी आवास सम्पन्न गर्ने लक्ष्य सरकारले राखेको छ । प्राधिकरणको मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार भूकम्पपछिको पुनर्निर्माणका लागि ७ लाख ६२ हजार ३०७ घर परिवारसँग अनुदान सम्झौता भएको छ । यसमध्ये ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रक्रियामा छन् । ३ लाख ८२ हजार २७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)