काठमाडौं । भूकम्पले क्षति पुगेकामध्ये ५६ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाखको भूकम्पले ७ हजार ९२३ विद्यालयलाई क्षति पुर्याएको थियो, जसमध्ये ३ सय ७० विद्यालयलाई अन्य विद्यालयमा मर्ज गर्दा ७ हजार ५५३ विद्यालय पुनर्निर्माण गर्नुपर्ने अवस्थामा थिए । यसमध्ये ४ हजार २५३ को पुनर्निर्माण सकिएकोे छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पहरूले विद्यालयका कुल ४९ हजार ६८१ ओटा कक्षाकोठामा क्षति पुगेको थियो । क्षतिग्रस्त शैक्षिक संस्थाहरूको निर्माण २०७९ असारसम्ममा सम्पन्न हुने प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना पुनर्निर्माण एकाइ (शिक्षा)ले जानकारी दिएको छ । एकाइका आयोजना प्रमुख इमनारायण श्रेष्ठका अनुसार शैक्षिक संस्था पुनर्निर्माणका लागि कुल रू. ३ खर्ब ३२ अर्ब रुपैयाँ नेपाल सरकार, गैरआवासीय नेपाली संघ र विदेशी दातृ निकायबाट जुटाइएको छ ।