ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८ दशकको बैंकिङ इतिहास : भुक्तानी प्रणालीमा प्रविधि त भित्रियो तर विस्तारमा भने बाधा

Apr 26, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपालमा बैंकिङ सेवा शुरू भएको ८ दशकभन्दा बढी भएको छ । नेपाल बैंक लिमिटेडले १९९४ कात्तिक ३० गतेदेखि नेपालमा बैंकिङ सेवा शुरू गरेकोमा त्यसको करीब २ दशकपछि २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको हो । त्यसभन्दा अघि नेपाल बैंकले नै केन्द्रीय बैंकको पनि काम गरेको थियो । नेपालमा बैंकको स्थापना हुँदा नेपाल औद्योगिक युगमा प्रवेश गरेको थिएन । त्यतिखेर बैंकको व्यवसाय साना व्यापारिक कारोबारमा सहयोग गर्नेमै सीमित थियो । तर हाल बैंकिङ सेवाको दायरा निकै फराकिलो भइसकेको छ । स्थापना कालदेखि लामो सयमसम्म नेपालको बैंकिङ प्रणाली परम्परागत ढंगबाट अगाडि बढ्यो । शुरूका वर्षमा भुक्तानी प्रणालीमा चेक नै प्रमुख माध्यम थियो । तर अहिले भुक्तानी प्रणालीमा विभिन्न प्रविधिको विकास भइसकेको छ । हिमालयन बैंकले सन् १९९४ मा अटोमेटेड टेलर मेशिन (एटीएम) ल्याएपछि नेपालको भुक्तानी प्रणालीमा इलेक्ट्रोनिक प्रविधिको प्रयोग शुरू भएको हो । त्यसपछि विस्तारै विभिन्न प्रविधि नेपालमा भित्रिने क्रम जारी छ, जसले आन्तरिक भुक्तानी प्रणालीलाई थप सहज बनाएको छ । यद्यपि यसको देशव्यापी विस्तारमा भने अझै पनि चुनौती छन् । साथै यसले सबै वर्गका व्यक्तिलाई समेट्न नसकेको नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव सुब्बा बताउँछन् । आन्तरिक भुक्तानी प्रणालीलाई सहज बनाउन एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता प्रविधि भित्रिसकेका छन् । तर यसको विस्तार देशव्यापी हुन बाँकी छ र यसका प्रयोगकर्ता पनि धेरै बढेका छैनन् । त्यसैले यतिका विविध प्रविधि उपलब्ध हुँदा पनि बैंकहरूमा चेक साट्ने र रकम जम्मा गर्नेहरूको भीड बाक्लो हुने गरेको छ । अर्थात् नेपालको बैंकिङ प्रणाली अझै नगदमै आधारित छ । तथ्यांकअनुसार मोबाइल बैंकिङको आधारमा बचत खाता खोलेकामध्ये २४ दशमलव ९२ प्रतिशत ग्राहकले मात्र इलेक्ट्रोनिक प्रविधिको प्रयोग गरेको देखिन्छ । सुब्बा भन्छन्, ‘इलेक्ट्रोनिक प्रविधिको प्रयोगकर्ता बढ्यो भनेर खुशी हुने अवस्था छैन । कमैले मात्र यस्तो प्रविधि प्रयोग गरेका छन् ।’ अहिले नेपालमा दु्रत गतिमा इन्टरनेट सेवाको विस्तार भएको छ । साथै स्मार्ट मोबाइल फोनको प्रयोग पनि उच्च छ । तर त्यसको तुलनामा बैंकिङ प्रविधि पछाडि परेको सुब्बा बताउँछन् । सर्वप्रथम मोबाइल र इन्टरनेट प्रयोगकर्तामै बैंकिङसम्बन्धी प्रविधि पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

निर्माण क्षेत्र बैंकिङ प्रणालीमा आएन नेपालमा पछिल्लो समय भौतिक पूर्वाधारको निर्माणले गति लिन थालेको छ । त्यहाँ लाखौं कामदारले काम गर्दै आएका छन् । तर उनीहरूको पारिश्रमिक अझै बैंकिङ प्रणालीबाट भुक्तानी हुन सकेको छैन । अधिकांश निर्माण कम्पनीले श्रमिकलाई नगद भुक्तानी दिने गरेका छन् । निर्माण कम्पनीले कामदारलाई दिने पारिश्रमिक पनि बैंकिङ प्रणालीमा ल्याउनुपर्ने सुब्बाको भनाइ छ । प्रविधि विस्तारका चुनौती बैंकले चाहेर मात्र बैंकिङ क्षेत्रमा प्रविधिको विकास नहुने सीईओ सुब्बा बताउँछन् । उनी भन्छन्, ‘यसका लागि कानून पनि प्रविधिमैत्री बनाउनुपर्छ । साथै पेमेन्ट गेटवेको पनि विकास गर्नुपर्छ ।’ प्रविधि स्थापित गर्दाका चुनौती नेपालमा बैंकिङसम्बन्धी नयाँ प्रविधि भित्र्याउन त्यति ठूलो चुनौती भने देखिएन । तर त्यसको विस्तार गर्न भने अफ्ठ्यारो पर्ने गरेको देखिएको छ । उदाहरणका लागि नेपालमा एटीएम सेवाको शुरुआत गर्दा लोडशेडिङको समस्या थियो । साथै इन्टरनेट पनि उच्च गतिको थिएन, जसले गर्दा एटीएम सेवा प्रदान गर्न समस्या देखिएको थियो । साथै आम ग्राहकले एटीएम प्रयोग गर्न नजान्दा पनि समस्या भोग्नुपरेको सुब्बाको भनाइ छ । अहिले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमा पनि यस्तैखाले, तर नयाँ समस्या छन् । उदाहरणका लागि पेमेन्ट गेटवेको अभावलाई लिन सकिन्छ । प्रविधिको प्रयोगमा पनि छन् समस्या नेपालमा प्रविधि भित्रिए पनि त्यसको प्रयोगमा विभिन्न समस्या देखिने गरेका छन् । विशेषगरी एटीएममा आम ग्राहकले विभिन्न समस्या झेल्दै आएको पाइन्छ । एटीएमबाट मागअनुसारको भुक्तानी नहुने, तर खाताबाट पैसा काटिने जस्ता समस्या आम ग्राहकले भोग्दै आएका छन् । विशेषगरी दशैंमा बैंकिङ कारोबार बढी हुने भएकाले यस्तो समस्या त्यो बेलामा झन् बढी हुने गरेको छ । समावेशिता प्रवर्द्धन गर्ने प्रविधि भित्र्याउनुपर्छ सञ्जीव सुब्बा सीईओ, एनबीआई बैंकिङ क्षेत्रमा प्रविधि भित्रिएको छ । तर बैंकिङ प्रणाली प्रविधिमय बनाउन अझै नयाँ नयाँ प्रविधिको आवश्यकता छ । साथै जति पनि प्रविधि भित्रिएको छ, त्यसले सबै वर्गका मानिसलाई समेट्न सकेको छैन । हुने–खाने वर्गले मात्र यसको प्रयोग गरेर पुग्दैन । तल्लो तहका व्यक्तिमा पनि त्यो पुग्नुपर्छ । साथै हातखुट्टा नभएका, आँखा नदेख्ने, कान नसुन्ने जस्ता फरक क्षमता भएका व्यक्तिले प्रयोग गर्न सक्ने प्रविधि भित्र्याउनुपर्छ । यसैगरी अहिले नोट व्यवस्थापनमा चुनौती देखिएको छ । अब ‘क्यासलेस’ कारोबारमा जान आवश्यक छ । त्यसैले सरकारले नोट छाप्ने मेशिन भिœयाउन भन्दा पनि नोटलाई विस्थापन गर्ने प्रविधिको प्रयोगमा बढावा दिनुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)