आईसीएफसी फाइनान्स : कम्पनी विश्लेषण (आइतवार, १५ वैशाख २०७६)
Apr 28, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको ९ महीनामा कम्पनीले रू. ९ करोड ५५ लाख १९ हजार खुद नाफा कमाएकोे छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो । गतवर्षको सोही अवधिमा कम्पनीको खुद नाफा रू. ८ करोड ८ लाख १४ हजार थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ८८ करोड २१ लाख पुगेको छ भने रिजर्भ कोषमा रू. ३० करोड ७९ लाख छुट्याएको छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बिहीवार कम्पनीको शेयर कारोबारमा विक्री चापभन्दा खरीद चाप बढी थियो । सो अवधिमा ७ हजार ५ सय २० कित्ता शेयर खरीद गर्ने र ४ हजार ७ सय २९ कित्ता शेयर विक्री गर्ने माग थियो ।
कम्पनीको ५४ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत गर्दैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ५९ दशमलव ४१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवार शेयरमूल्य रू. १ सय ६० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ६२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ५५ मा टेवा पाउने देखिन्छ ।