लुम्बिनी विकास बैंक : कम्पनी विश्लेषण (आइतवार, १५ वैशाख २०७६)
Apr 28, 2019
 
लगानी
कम्पनी विश्लेषण
चैत मसान्तसम्ममा कम्पनीले रू. ३४ करोड ३४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ८६ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. १८ करोड ४४ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीले रू. ७८ लाख २९ हजार खराब कर्जा उठाएकाले र खुद ब्याज आम्दानी बढेकाले नाफामा वृद्धि भएको हो । हाल कम्पनीको पूँजी रू. २ अर्ब २० करोड छ । साथै, कम्पनीले १७ दशमलव ३५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । बिहीवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । २४ हजार ८ सय ८९ कित्ता खरीद गर्ने र १५ हजार ३ सय ६१ कित्ता शेयर विक्री गर्ने माग थियो ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई ओभरबट जोन ८२ दशमलव ६२ विन्दुमा छ । यसले शेयर खरीद चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव १९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १ सय ९७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ सय ७८ मा टेवा पाउने देखिन्छ । ६१ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य सबैभन्दा बढी रू. १ सय ९७ पुगेको छ । नाफामूलक वित्तीय विवरण प्रकाशित गरेपछि शेयरमूल्य बढेको हो ।