शाइन रेसुंगा डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (आइतवार, १५ वैशाख २०७६)
Apr 28, 2019
 
लगानी
कम्पनी विश्लेषण
गत आवमा १७ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले चैत मसान्तसम्ममा रू. ३१ करोड ९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. २३ करोड ७२ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफामा वृद्धि भएको हो । चुक्तापूँजी रू. १ अर्ब ६२ करोड रहेको कम्पनीले रिजर्भ कोषमा रू. ६४ करोड २३ लाख छुट्याएको छ । पूँजीवृद्धिका लागि यस कम्पनीले पूर्णिमा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । २०७५ फागुन २६ गते प्राप्ति गर्ने प्रारम्भिक सम्झौता भएको छ । बिहीवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा १७ हजार ३ सय ३० कित्ता शेयर खरीद गर्ने र ६ हजार ९ सय ३६ कित्ता शेयर विक्री गर्ने माग थियो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६८ दशमलव १५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव ३५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारकोे शेयरमूल्य रू. २ सय ५६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. २ सय ३२ मा टेवा पाउने देखिन्छ । कम्पनीको ६० दिनको कारोबार अवधिमा सबैभन्दा बढी रू. २ सय ५६ पुगेको छ ।