समता लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (आइतवार, १५ वैशाख २०७६)
Apr 28, 2019
 
लगानी
कम्पनी विश्लेषण
हाल कम्पनीले १० जिल्लामा २४ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा ६ ओटा शाखा कार्यालय थप गर्ने कम्पनीको योजना छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ६ दशमलव ६६ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ । शेयरधनीको डिम्याट खातामा उक्त लाभांश जम्मा भएको छ । चैत मसान्तसम्ममा कम्पनीले रू. १ करोड ४८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३ सय ११ प्रतिशत बढी हो । सोही अवधिमा कम्पनीले रू. ३६ लाख ९ हजार नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीले रू. ३५ लाख ६ हजार खराब कर्जा उठाएकाले र खुद ब्याज आम्दानी बढेकाले नाफामा वृद्धि भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५ करोड ६८ लाख छ । कम्पनीको बिहीवार भएको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा ३ सय ३० कित्ता शेयर खरीद गर्ने र १ सय ९६ कित्ता शेयर विक्री गर्ने माग थियो ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५० दशमलव ८९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १९ दशमलव ३३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १ हजार २ सय ४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार २ सय ८० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार २ सय २५ मा टेवा पाउने देखिन्छ ।