ग्लोबल आईएमई बैंक : कम्पनी विश्लेषण (बुधवार, १८ वैशाख २०७६)
May 1, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको ९ महीनामा बैंकले रू. १ अर्ब ८७ करोड नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३२ प्रतिशत बढी हो । बैंकले गत आवको चैत मसान्तसम्ममा रू. १ अर्ब ४१ करोड नाफा कमाएको थियो । चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । बैंकले शेयरधनीलाई गत आवको नाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । चुक्तापूँजी रू. १० अर्ब ३१ करोड पुगेको छ भने रिजर्भ कोषमा रू. २ अर्ब ७३ करोड छुट्याएको छ । एनएफआरएस प्रणाली अनुसार बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ४१ करोड छ । मंगलवार भएको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा ४३ हजार ३ सय ४७ कित्ता शेयर विक्री गर्ने र २६ हजार ३ सय ९३ कित्ता शेयर खरीद गर्ने माग थियो ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई ओभरबट जोन ७१ दशमलव २९ विन्दुमा छ । यसले शेयर खरीद चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ७२ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ३ सय १३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय २२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय ९७ मा टेवा पाउने देखिन्छ ।