मिर्मिरे लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, १९ वैशाख २०७६)
May 2, 2019
 
कम्पनी विश्लेषण
चैत मसान्तसम्ममा कम्पनीको नाफा ६० दशमलव ५० प्रतिशत बढेको छ । कम्पनीले सो अवधिमा रू. ३ करोड ५९ लाख नाफा कमाएको छ । गत आवमा कम्पनीले रू. २ करोड १२ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा खुद ब्याज आम्दानी बढ्नुका साथै रू. ९३ लाख ६७ हजार खराब कर्जा उठाएकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी १ सय ९१ प्रतिशत बढेर रू. १३ करोड ११ लाख पुगेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन र २४ प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी बढेको हो । मंगलवार कम्पनीको शेयर खरीद चापको तुलनामा विक्री चाप बढी छ । उक्त समयमा २ कित्ता शेयर खरीद र ५६९ कित्ता शेयर विक्री गर्ने माग थियो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५६ दशमलव ९५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४१ दशमलव ४३ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ९ सय ६८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९ सय ८७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ८ सय ८१ मा टेवा पाउने देखिन्छ ।