मुक्तिनाथ विकास बैंक : कम्पनी विश्लेषण ( बुधबार, बैशाख २५, २०७६)
May 8, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १८ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बोनस शेयर वितरण गरेपछि बैंकको चुक्तापूँजी रू. ३ अर्ब ६ करोड पुगेको छ । बैंकले १८ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम चुक्तापूँजीको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले चालू आवको ९ महीनामा रू. ६० करोड २० लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकले रू. ४२ करोड ७५ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । मंगलवार बैंकको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा २१ हजार ३ सय ४७ कित्ता शेयर विक्री गर्ने र ४ हजार ३ सय ७१ कित्ता शेयर खरीद गर्ने माग थियो ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ६३ दशमलव ३२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ३२ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य २६ दिने औसत मूल्य र १४ दिने औसत मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ३ सय ८६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ९८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ७३ मा टेवा पाउने देखिन्छ ।