बीमा समितिका ५० वर्ष : ५ दशकमा भएका कानूनी व्यवस्था र उपलब्धि
May 15, 2019
 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
विशेषगरी नेपालमा बीमाक्षेत्रको विकास गर्न बीमा समितिको स्थापना गरिएको हो । शुरूमा अर्थ मन्त्रालयको शाखाको रूपमा स्थापना भएको समितिले हालसम्म आउँदा थुपै्र नीतिगत व्यवस्था गरेको छ ।
समितिको प्रमुख कार्य बीमाक्षेत्रको नियमन गर्ने, आवश्यक नीतिगत व्यवस्था गर्ने नै हुन् । सोहीअनुरूप समितिले स्थापना कालदेखि नै काम गर्दै आएको छ । यद्यपि शुरूका वर्षहरूमा समिति बीमा अभिकर्तालाई इजाजतपत्र प्रदान गर्ने र सोही इजाजतपत्र नवीकरण गर्ने काममा बढी केन्द्रित रह्यो । शुरूका वर्षहरूमा थोरै कम्पनी थिए र उनीहरूको व्यवसाय पनि सानो थियो । त्यसकारण नियमनको आवश्यकता त्यति नभएको समितिका भूतपूर्व कार्यकारी निर्देशक रमेशराज भट्टराई बताउँछन् । यद्यपि बीमा बजारको विस्तार गर्न बीमा समिति पहिलेदेखि नै संघर्षरत रहेको उनको भनाइ छ ।
बीमा समितिको शुरूको वर्षमा नेपाल माल चलानी तथा बीमा कम्पनी (हालको नेपाल इन्स्योरन्स), राष्ट्रिय बीमा संस्थान र केही भारतीय बीमा कम्पनीका शाखाहरूले व्यवसाय सञ्चालन गर्दै आएका थिए । २०४४ सालमा नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी पनि थपियो ।
विसं. २०४९ मा बीमासम्बन्धी नयाँ ऐन आएपछि नयाँ कम्पनीहरू थपिने क्रम निकै बढ्यो । त्यसपछि बीमा समितिको जिम्मेवारी र काम पनि बढ्दै गयो । त्यसपछि समितिले बीमा क्षेत्रलाई नियमन गर्ने, कम्पनी थप गर्ने, बीमा पहुँच बढाउने जस्ता विषयमा विभिन्न गतिविधि गर्दै आएको छ ।
बीमा समिति स्थापना हुनुभन्दा पहिले नै अर्थात् विसं. २००४ सालदेखि नै बीमा व्यवसाय शुरू भएको थियो । त्यसपछि भारतीय बीमा कम्पनीहरूले पनि यहाँ आएर बीमा व्यवसाय गर्न थाले । विसं. २०२४ साल पुस १ गते रू. १ करोडको अधिकृत पूँजीमा राष्ट्रिय बीमा संस्थान प्रालि स्थापना भएको थियो । बीमाको बजारले विस्तार लिन थालेपछि नियमनको आवश्यता देखियो । त्यसपछि बीमा समितिको स्थापना गरिएको जानकारहरू बताउँछन् । बीमा ऐन २०२५ लागू गरेर बीमा समितिलाई सञ्चालनमा ल्याइएको थियो ।
हालै समितिले ५० वर्षको यात्रा पूरा गरेको छ । एक नियमनकारी निकायको हैसियतमा समितिले यस अवधिमा थुप्रै नयाँ नीतिगत व्यवस्था गर्यो । साथै केही महत्त्वपूर्ण उपलब्धि पनि हासिल गरेको छ, जसलाई यहाँ बुँदागद रूपमा प्रस्तुत गरिएको छ :
कुन दशकमा कस्तो व्यवस्था ?२०२५ देखि २०३५ सम्म
यो दशक शुरुआती चरण भएकाले समिति नीतिगत व्यवस्था गर्न र सञ्चालनमा रहेका कम्पनीहरूलाई नियमन गर्न तल्लीन
विसं. २०२५ मा राष्ट्रिय बीमा संस्थान प्रालि राष्ट्रिय बीमा संस्थानमा परिणत
विस. २०२९ देखि राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा व्यवसायको शुरुआत
विसं. २०४४ सालमा निजी स्तरको कम्पनीको रूपमा नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी (हालको एनएलजी र नेशनल लाइफ इन्स्योरेन्स) लिमिटेडको स्थापना
नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीद्वारा विसं. २०४६ देखि जीवन बीमा व्यवसायको शुरुआत
२०४५ देखि २०५५ सम्म
२०४७ प्रजातन्त्रको पुनर्बहाली भएपछि निजीक्षेत्रका निर्जीवन तथा जीवन बीमा कम्पनीहरू स्थापना हुन थाले ।
समितिलाई स्वायत्त बनाउँदै विसं. २०४९ मा नयाँ बीमा ऐन लागू
विसं. २०४९ मा नै बीमा नियमावली, २०४९ जारी
बीमा सर्भेयरसम्बन्धी आचार संहिता लागू
बीमा अभिकर्तासम्बन्धी आचार संहिता लागू
२०५५ देखि २०६५ सम्म
अग्नि बीमा दर सम्बन्धी सामान्य नियमहरू, २०५८ मा परिमार्जन
निर्जीवन र जीवन बीमासम्बन्धी पुनर्बीमा निर्देशिका, २०६५, लागू
‘सामुद्रिक बीमा दर सम्बन्धी निर्देशिका, २०६५’ जारी
२०६५ देखि २०७६ सम्म
बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०६९ जारी
बाली तथा पशुपन्छी बीमा निर्देशन, २०६९ लागू गर्दै कृषि बीमा कार्यक्रम शुरू
सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ जारी
बीमक गाभ्ने तथा गाभिनेसम्बन्धी निर्देशिका, २०७० जारी
लघुबीमासम्बन्धी निर्देशिका, २०७१ जारी गर्दै लघुबीमा व्यवसायको शुरुआत
विसंं २०७१ मा जीवन र निर्जीवन बीमा व्यवसायको लगानी सम्बन्धी व्यवस्था संशोधन
पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा सञ्चालन) सम्बन्धी निर्देशिका, २०७१ लागू
बीमकले सञ्चालन गर्ने बीमा अभिकर्ताको तालीम निर्देशिका, २०७२ लागू
२०७३ साउन १ गतेदेखि मोटर बीमा दर सम्बन्धी नयाँ निर्देशिका लागू
बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७३ जारी
बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ जारी गर्दै जीवन बीमकले रू. २ अर्ब र निर्जीवन बीमकले रू. १ अर्ब न्यूनतम चुक्तापुँजी पुर्याउनुपर्ने व्यवस्था
सम्पत्ति बीमा निर्देशिका २०७५ लागू
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी पुरानो निर्देशनलाई विस्थापन गर्दै २०७५ मा नयाँ निर्देशिका ।
बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ जारी गर्दै कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई कम्पनी छाडेर नयाँ कम्पनीमा जान ६ महीना पर्खनुपर्ने कुलिङ पिरियड लागू
बीमकको लगानीसम्बधी निर्देशिका २०७५ जारी गर्दै बीमा कम्पनीहरूलाई पब्लिक कम्पनीको डिबेन्चर, पूर्वाधार र घरजग्गा व्यवसायमा लगानी गर्न बाटो खुला
बीमक गाभ्ने तथा गाभिने सम्बन्धी निर्देशिका, २०७५ जारी गर्दै मर्जरमा जाने बीमा कम्पनीलाई विविध पक्षमा १० ओटा सुविधा प्रदान गरिने व्यवस्था
वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित बनाउन एकीकृत प्रणाली लागू
आव २०७४/७५ र २०७५/७६ मा भएका मुख्य उपलब्धि
कृषि तथा पशुपन्छी बीमा कार्यक्रम अन्तर्गत २२ प्रकारका बीमालेखको ढाँचा प्रचलनमा ल्याउँदै खाद्यान्न बाली, तरकारीखेती र विभिन्न प्रकारका पशुपन्छी पालन व्यवसायको बीमा गर्न सहज बनाएको
मोटर बीमालाई व्यवस्थित बनाउन यातायात व्यवस्था कार्यालयहरूको वरिपरि एउटा बीमकको एउटा मात्र कार्यालय हुनुपर्ने व्यवस्था
बीमा पहुँच बढाउन ‘स्थानीय तहसँग बीमा समिति’ कार्यक्रम सञ्चालनमा । १ वर्षको अवधिमा सात प्रदेशका विभिन्न १५ स्थानिय तहसँग अन्तरक्रिया सम्पन्न
विद्यार्थीसँग बीमा कार्यक्रम सञ्चालनमा
बीमा क्षेत्रमा दक्ष जनशक्तिको पूर्ति गर्न २०७५ सालदेखि नेपाल इन्स्योरेन्स इन्स्टिच्युटको स्थापना (हालसम्म १४ पटक गरेर बीमा, बैंक क्षेत्रमा कार्यरत ३२८ अधिकारी तालीम, कार्यशाला आदिमा सहभागी)
गत माघसम्म मुलुकभर बीमकका २ हजार ८१ शाखा पुगे
१० जीवन, तीन निर्जीवन र एक पुनर्बीमा कम्पनीको स्थापना