ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ दशकको बीमा बजार : अधिकांश क्षेत्र बीमाको दायरामा

May 15, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सुप्रिम तिवारी
काठमाडौं । नेपालमा ७ दशकअघि (विसं. २००४ मा) बीमा सेवाको शुरुआत भएको हो । तत्कालीन समयमा नेपाल बैंक लिमिटेडको सक्रियतामा ‘नेपाल माल चलानी तथा बीमा कम्पनी’ (हालको नेपाल इस्यारेन्स) को स्थापना गरी बीमा व्यवसाय शुरू गरिएको हो । यद्यपि उक्त कम्पनीले तत्कालीन समयमा नेपाल बैंकसँग सम्बन्धी व्यवसायको मात्र बीमा गर्ने गरेको थियो । त्यो अवस्थामा शुरू भएको नेपालको बीमा बजार अहिले निकै फराकिलो भएको छ । हाल नेपालमा निर्जीवन, जीवन र पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । शुरूका समयमा बीमा व्यवसायले धेरै क्षेत्रलाई समेट्न सकेको थिएन । तत्कालीन समयमा सञ्चालनमा रहेका बीमा कम्पनीहरूको व्यवसाय सरकारी कर्मचारी र सरकारी सम्पत्तिको बीमामा नै सीमित थियो । यद्यपि भारतीय बीमा कम्पनीहरूले अन्य क्षेत्रलाई पनि समेट्ने प्रयास गरेका थिए । तर आजसम्म आउँदा नेपालको बीमा बजार धेरै क्षेत्रलाई समेट्न सफल भएको छ । २०२५ सालमा बीमाक्षेत्रको नियामक निकायको रूपमा बीमा समिति स्थापना भएको थियो । तर नियामक निकायको रूपमा समिति आए पनि समितिको कार्यक्षेत्र र अधिकार साँघुरो भएकाले बीमाक्षेत्रले सोचेअनुरूप प्रगति गर्न सकेन । विसं. २०४९ मा बीमा ऐन, २०४९ लागू भएपछि समितिलाई काम गर्न धेरै अधिकार प्राप्त भयो । त्यसपछि निजी कम्पनीहरू पनि थपिए । र, आधारभूत क्षेत्रमा सीमित रहेको बीमा व्यवसायले अन्य क्षेत्रलाई पनि समेट्दै गयो । २०२४ सालमा स्थापना भएको राष्ट्रिय बीमा संस्थानले शुरूका वर्षमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै स्टल राखेर हवाई यात्रुको २ लाख रुपैयाँबराबरको यात्रा बीमा गर्ने गरेको इतिहास छ । तत्कालीन समयमा उक्त कम्पनीले प्रतियात्रु २० रुपैयाँ लिएर उनीहरूको बीमा गर्ने गरेको थियो । तर अहिले त्यस्ता यात्रुको बीमा हवाई टिकट लिँदा नै स्वतः हुन्छ । अझै पनि बीमाको पहुँच अत्यन्त न्यून छ । तर मानिसले चाहे भने कुनै पनि वस्तु, सम्पत्तिको बीमा गर्न सक्ने अवस्था भइसकेको बीमाविज्ञ भोजराज शर्माले बताए । उनका अनुसार मोबाइल, ल्यापटप, घर, उद्योग, कार्यालय, गाडी लगायत कुनै पनि भौतिक सम्पत्तिको बीमा गर्न सकिने भएको छ । जीवन बीमातर्फ पनि आधुनिक पोलिसीको विकास भइसकेको उनको टिप्पणी छ । उनले भने, ‘पहिले बीमा कम्पनीको व्यवसाय आधारभूत क्षेत्रमा सीमित थियो । तर अहिले धेरै क्षेत्र बीमामा समेटिएको छ । साथै कम्पनीहरूमा कुनै पनि क्षेत्रमा व्यवसाय विस्तार गर्न सक्ने क्षमताको विकास भएको छ ।’ कृषिक्षेत्र नेपाललाई पहिलेदखि नै कृषि प्रधान देश भनेर परिभाषित गरिँदै आएको छ । अझै पनि २१ दशमलव ५ प्रतिशत जनशक्ति कृषि व्यवसायमै संलग्न छन् । नेपालमा प्राकृतिक जोखिम अत्यधिक रहिआएकाले किसानहरूले कृषि व्यवसायमा नोक्सानी बेहोर्दै आएका छन् । तर यति लामो इतिहास बोकेको बीमा बजारले कृषिक्षेत्रलाई समेट्न सकेको थिएन । पछि २०६९ सालमा बीमा समितिले कृषिक्षेत्रलाई बीमामा समेट्यो, जसलाई यस क्षेत्रको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । अहिलसम्म कृषि बीमाअन्तर्गत अदुवा, कफी, चिया, धान, स्याउ लगायतको खेती र पशुपालनसम्बन्धी २२ ओटा बीमालेखका ढाँचा प्रचलनमा आइसकेका छन् । अटो बजार नेपालमा मोटर गाडीको खरीदविक्री व्यवसायले करीब ९ दशक पार गरेको छ । सन् १९२४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरले तराईदेखि मान्छेलाई बोकाएर काठमाडौंमा गाडी भिœयाएका थिए, जसअनुसार नेपालमा पहिलो औपचारिक गाडी भित्रिएको करीब ९५ वर्ष भएको छ । नेपालको अटो बजारमा हाल ३० लाखभन्दा बढी गाडी छन् । यति ठूलो अटो बजार पनि लामो समयसम्म बीमाको दायरामा आउन सकेको थिएन । यद्यपि सीमित व्यक्तिले स्वतस्फूर्त रूपमा आफ्नो गाडीको बीमा गराउने गरेका थिए । नेपालमा बीमा कम्पनी नहुँदा पनि भारतीय कम्पनीमार्फत गाडीको बीमा गराउनेहरू थिए । साथै नेपालमा सवारी दुर्घटनामा कयौं मानिसले ज्यान गुमाए, सवारीधनीले व्यावसायिक रूपमै नोक्सानी बेहोर्नुप¥यो । यस्ता विषयलाई ध्यानमा राख्दै बीमा समितिले ५ वर्षअघि मात्र मोटर बीमालाई अनिवार्य गर्‍यो । हाल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा बढी (४५ प्रतिशत) छ । चलचित्र क्षेत्र नेपालको चलचित्र क्षेत्रको इतिहास ५५ वर्षभन्दा लामो छ । तर यो क्षेत्र गत चैतदेखि मात्र बीमाक्षेत्रमा समेटिएको छ । नेपाल चलचित्र निर्माता संघको सहकार्यमा लुम्बिनी जनरल इन्स्योरेन्सले ‘फिल्म प्रोजेक्ट इन्स्योरेन्स पोलिसी’ ल्याएर यस क्षेत्रलाई बीमाक्षेत्रमा समेटेको हो, जसअनुसार निर्माताले सुटिङका क्रममा हुने जोखिमको रक्षावरण हुनेगरी फिल्म प्रोजेक्टको बीमा गर्न सक्नेछन् । साइबर सेक्युरिटी हाल विश्वभर साइबर जोखिम बढ्दै गएको छ । यसको प्रभाव नेपालमा पनि पर्दै गएको छ । यस्ता विषयलाई दृष्टिगत गर्दै नेपालमा पनि साइबर सेक्युरिटी बीमालेख प्रचलनमा ल्याइएको छ । नेपाल इस्योरेन्सले गत साउन ९ गतेदेखि उक्त बीमालेख प्रचलनमा ल्याएको हो । कुनै संस्थाले प्रयोगमा ल्याएको सफ्ट्वेयरमा ह्याकरले नोक्सानी पु¥याएमा बीमा कम्पनीले आर्थिक रूपमा क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था छ । स्वास्थ्य क्षेत्र नेपालमा कयौं मानिस अझै पनि गरीबीको रेखामुनि छन् । उनीहरूले बिरामी हुँदा उपचार गर्न नसकेर ज्यान गुमाउनु परेको छ । यस्तो विषयलाई दृष्टिगत गर्दै सरकारले ३ वर्ष अघिदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ, जसले गरीब नागरिकको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण सहयोग पुग्ने देखिन्छ । यद्यपि सरकारको यो कार्यक्रम बीमा समितिको नियमनअन्तर्गत छैन र विज्ञहरू यसमा ‘बीमा’ शब्दको प्रयोग भएकोमा आपत्ति गर्दछन् । बीमा कम्पनीहरूले पनि ‘मेडिकल’ इन्स्योरेन्सको सेवा दिइरहेका छन् । यस्तै बीमाको दायरामा अन्य क्षेत्र पनि समेटिएका छन् । यस्ता तथ्यांक हेर्दा अहिलेको बीमा बजार आजीवन जीवन बीमा, सावधिक जीवन बीमा, अग्नि, सामुद्रिक, हवाई बीमामा मात्र सीमित छैन । साथै आम मानिसले माग गरेमा कुनै पनि खालको बीमालेख तयार गर्न सकिने बीमा समितिका सल्लाहकारसमेत रहेको बीमाविज्ञ शर्माले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)