बीमा समिति जेठ १ गतेदेखि ५०औं वर्ष पूरा गरेर ५१औं वर्षमा प्रवेश गरेको छ । स्थापना भएको लामो समयसम्म समितिको काम निकै सीमित थियो । यद्यपि पछिल्ला वर्षमा समितिले आफ्नो गतिविधिलाई चुस्त बनाउँदै गएको छ । समितिले विभिन्न नीतिगत व्यवस्था परिमार्जन गर्दै बीमाक्षेत्रलाई कानूनी रूपमै बलियो बनाउने र जनतामाझ विश्वसनीयता ल्याउने प्रयास गरिरहेको छ । फलस्वरूप हाल बीमा बजारले पनि फड्को मारेको छ । प्रस्तुत छ, यिनै विषयवस्तु र नियामक निकायको पछिल्ला गतिविधिबारे बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंसँग आर्थिक अभियानले गरेको कुराकानी :बीमा समिति ५०औं वर्ष पूरा गरेर ५१औं वर्षमा प्रवेश गर्दै छ । यो अवधिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
बीमा बजारलाई विश्लेषण गर्दा अन्तरराष्ट्रिय बजारमै दुई तथ्यांकलाई प्रमुख आधार मानिन्छ । एक, बीमाको पहुँच कति मानिसमा पुग्यो ? अर्काे देशको कुल गार्हस्थ्य उत्पादनमा बीमाक्षेत्रले कति योगदान दियो ? साथै, बीमाक्षेत्रले सृजना गरेको रोजगारीका आधारमा पनि बीमाक्षेत्रलाई मूल्यांकन गर्न सकिन्छ । यस्ता तथ्यांकलाई आधार मान्दा यस अवधिमा बीमाक्षेत्रले उत्साहजनक नतीजा हासिल गरेको छ । यद्यपि बीमा समिति स्थापना हुँदाको समयमा बीमाक्षेत्र द्रुत गतिमा अगाडि बढेको थिएन । तर पछिल्लो समय बीमाक्षेत्रले गति लिएको छ । विसं. २०७४ को अन्तसम्म बीमाको पहुँच १० प्रतिशत नेपालीमा मात्र पुगेको थियो । गत फागुनसम्म आउँदा बीमाको पहुँच १८ प्रतिशत नेपालीमा पुगेको छ । साथै गत आार्थिक वर्ष (आव) ७०७४/७५ को कुल गार्हस्थ्य उत्पादनमा बीमाक्षेत्रको २ दशमलव ३ प्रतिशत योगदान छ । चालू आवमा यस्तो योगदान ३ प्रतिशत पुग्ने अनुमान छ । साथै रोजगारीतर्फ हेर्दा बीमा बजारमा ९ हजार २८ कर्मचारी प्रत्यक्ष रूपमा कार्यरत छन् । लाखौं अभिकर्तासहित ५ सय सर्भेयरहरू पनि अप्रत्यक्ष रूपमा यसैमा रोजगार छन् । त्यसैले यस अवधिमा बीमाक्षेत्रले उल्लेख्य प्रगति गरेको देखिन्छ ।
पछिल्लो २ वर्षमा बीमाको पहुँच ७ प्रतिशतबाट बढेर १८ प्रतिशत पुगेको छ । नेपालको बीमा बजारको इतिहास ७ दशकभन्दा लामो छ । लामो समयसम्म सुस्त रहेको बीमाक्षेत्रले पछिल्ला २ वर्षमा यसरी ठूलो फड्को मार्न सक्नुमा के कस्ता कारण छन् ?
पहिले बीमा बजार दु्रत गतिमा अगाडि बढ्न नसकेकै हो । यति लामो इतिहास बोकेको बीमाक्षेत्रकोे स्थिति केही वर्ष अगाडिसम्म सन्तोषजनक थिएन । तर गरेपछि सम्भव हुँदो रहेछ । हामीले यो बीचमा धेरै काम ग¥यौं, जसले गर्दा यो उपलब्धि हासिल गर्न सफल भयौं । २ वर्षअघि बीमाशुल्क कमिशनको विषयमा अभिकर्ताहरू आन्दोलनमा थिए । म अध्यक्ष भएर आएपछि कमिशनदर तोकियो, जसले आन्दोलन रोकियो । त्यसपछि उनीहरूले व्यवसायमा सक्रिय रूपमा लाग्दा बीमाको दायरा बढ्यो । यस्तै संस्थागत अभिकर्ताको व्यवस्था गरेर बैंकहरूलाई इजाजतपत्र दियौं । त्यसपछि बैंकहरूले आफ्ना ग्राहकलाई बीमा पोलिसी विक्री गर्दा पनि पहुँच बढ्न गएको हो ।
यस्तै पछिल्लो २ वर्षको बीचमा १० ओटा जीवन बीमा कम्पनी थपिएपछि बजार पनि प्रतिस्पर्धात्मक बनेको छ । पहिले जिल्ला, गाउँहरूमा बीमा कम्पनीको शाखा थिएन । बजार प्रतिस्पर्धात्मक भएपछि कम्पनीहरूले जिल्ला, स्थानीय तहमा शाखा बढाउन शुरू गरेका छन् । यस्ता गतिविधिले बीमाको पहुँच वृद्धिमा महत्त्वपूर्ण सहयोग पुगेको छ । फलस्वरूप यस अवधिमा बीमाको पहुँच अत्यधिक मात्रामा बढ्न सफल भएको हो ।
साथै बीमा भनेको विश्वास विक्री गर्ने हो । भोलिका दिन हुने कुनै पनि क्षतिको आर्थिक रूपमा क्षतिपूर्ति गर्छाैं भनेर विश्वास बेच्ने हो । त्यहीअनुरूप हामीले यसबीचमा बीमाक्षेत्रलाई विश्वसनीयता बनाउने काम पनि गर्यौं । हिजोका दिनमा केही बाहिरी कम्पनीले बजारमा नकारात्मक छाप छोडेर गएका थिए, जसले गर्दा हामीलाई बजार विस्तार गर्न एकदमै गाह्रो थियो । तर अहिले त्यसलाई चिर्दै विश्वसनीयता बढाउने काम गरिरहेका छौं । ‘स्थानीय तहसँग बीमा समिति’ भन्ने कार्यक्रम सञ्चालन गरिरहेका छौं ।
हाल बीमा कम्पनी र शाखाको संख्या बढेको छ । तर समितिको संरचना भने खासै परिवर्तन भएन । अहिलैकै संरचनागत क्षमताले यतिका कम्पनीको नियमन गर्न सम्भव छ त ?
म अध्यक्ष भएर आउँदा बीमा समितिमा जम्मा दुईजना मात्र चार्टर्ड एकाउन्टेन्ट (सीए) थिए, जुन हाम्रा लागि पर्याप्त थिएन । त्यसपछि बोर्डको निर्णयमा दुईजना सीए र एकजना बीमा सल्लाहकार थप गर्यौं । साथै गत माघ १ गतेदखि नै समितिका विभिन्न पदमा १५ जना अधिकारी थप गरेका छौं । गतवर्ष नेपाल इन्स्योरेन्स इन्स्टिच्युटको स्थापना गरेर समिति र कम्पनीका कर्मचारीलाई तालीम दिँदै आएका छौं । त्यसले समितिका कर्मचारीको क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको छ । समितिको अहिलेकै संरचनागत क्षमताले बीमा बजारलाई नियमन गर्न सकिन्छ जस्तो लाग्छ ।
बीमा सम्बन्धी नयाँ ऐन आउने भनेको धेरै भयो, अहिले यो कुन अवस्थामा छ ?
बीमा विधेयक २०७५, गतवर्ष असार २७ गते प्रतिनिधिसभामा पेश भएको हो । त्यसबेला प्रतिनिधिसमाभा त्यति विधेयक दर्ता भएका थिएनन् । पछि संविधानको मौलिक हकअन्तर्गत कानून असोज ३ गतेभित्र पारित गरिसक्नुपर्ने बाध्यता भएपछि बीमा विधेयकले प्राथमिकता पाउन सकेन । साथै पछि लगानी सम्मेलनलाई लक्षित गरेर कानून ल्याउन लागियो । अहिले त्यस्ता बाध्यकारी विधेयकहरू संसद्बाट पारित भइसकेका छन् । सम्भवतः चालू अधिवेशनमा हाम्रो ऐनले प्राथमिकता पाउँछ ।
समितिसँग हाल पर्याप्त स्वायत्तता छैन भन्ने पनि छ, नया“ ऐनले समितिलाई स्वायत्तता प्रदान गर्छ त ?
बीमा बजारको उच्च नियामक निकाय त राज्य नै हुन्छ । राज्यकोे निर्देशन पालना गर्नु हाम्रो कर्तव्य पनि हो । यद्यपि बीमाक्षेत्रको हरेक क्रियाकलापमा समितिको बोर्डले गरेको निर्णय नै अन्तिम निर्णय हुने व्यवस्था गर्न आवश्यक छ । त्यहीअनुरूप नै बीमा विधेयक संसद्मा दर्ता भएको छ । नयाँ ऐन आएपछि समिति अझ स्वायत्त हुन्छ ।
समितिले हालै नयाँ निर्देशिका जारी गरेर बीमा कम्पनीको लगानी गर्ने क्षेत्र विस्तार गरेको छ । यसबाट कस्तो परिवर्तनको अपेक्षा गर्नुभएको छ ?
पहिले बीमा कम्पनीहरूले समितिले तोकेको क्षेत्रमा मात्र लगानी गर्नुपर्ने बाध्यता थियो । त्यो अवस्थामा बीमाक्षेत्रमा रहेको ठूलो पूँजी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा सीमित भयो । साथै कम्पनीको आम्दानी नै बैंकको ब्याजसँग सम्बन्धित भयो । त्यसपछि त्यस धरातलबाट माथि उठ्न लगानीसम्बन्धी नयाँ निर्देशिका ल्याएका हौं । निर्देशिकामा कम्पनीहरूले आफनो दायित्वअनुसारको पूँजी राखेर अन्य पूँजी तोकिएको क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । हाल सल्भेन्सी रेशियो १.५ हुनुपर्ने व्यवस्था छ, जसअनुसार कम्पनीहरूले रू. १०० को दायित्व लिएका छन् भने १५० रुपैयाँ सम्पत्ति राख्नुपर्ने हुन्छ । हामीले त्यसमा मात्र नियमन गर्ने हो । बाँकी रहेका पैसा कम्पनीहरूले तोकिएको सीमामा रहेर सम्बन्धित क्षेत्रमा लगानी गर्न सक्छन् । यसले बीमा कम्पनीहरूको आम्दानीको दायरा पनि फराकिलो बनाउने अपेक्षा गरेका छौं । साथै हामीले पूर्वाधारमा लगानी गर्न पनि बाटो खुलाएको हुँदा बीमाक्षेत्रले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारामा पनि महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास छ ।
आगामी असारसम्म बीमा कम्पनीहरूलाई निर्धारित न्यूनतम चुक्तापूँजी पुर्याउन निर्देशन दिइएको छ । त्यो अवधिमा न्यूनतम चुक्तापूँजी नपुर्याउने कम्पनीलाई समितिले के गर्छ ?
पछि के गर्ने भन्ने विषयमा अहिले कुनै निर्णय भएको छैन । अहिले आव २०७४/७५ को वार्षिक साधारणसभाबाट बोनस शेयर, हकप्रद शेयर जारी गरेर चुक्तापूँजी पुर्याउन निर्देशन दिएका छौं । हामीले हालै विभिन्न विषयमा १० सुविधा दिएर बीमा कम्पनीहरूलाई मर्जरमा जान प्रोत्साहन गरेका छौं । चुक्तापूँजी नपुगेको अवस्थामा उहाँहरू मर्जरमा जान सक्नुहुनेछ । अब कम्पनीहरू बोनस शेयर, हकप्रद शेयर पनि जारी गर्दैनन् । साथै मर्जरमा पनि जान चाहँदैनन् भने बोर्डको बैठक बसेर आवश्यक निर्णय गर्नेछौं ।
मर्जर सम्बन्धी नयाँ निर्देशिका बीमा कम्पनीहरू मर्जरमा जान चाहेर ल्याइएको हो कि समितिकै धारणा उनीहरू मर्जरमा गए बेश भन्ने हो ?
केही कम्पनीका सञ्चालक तथा लगानीकर्ताले मर्जरसम्बन्धी नयाँ व्यवस्था गर्नुपर्यो भनेर अनुरोध पनि गर्नुभएको हो । हामीले पनि मर्जरमा जान चाहने कम्पनीलाई बाटो बन्द गर्न हुँदैन । यस सम्बन्धमा पहिले पनि नीतिगत व्यवस्था त थियो । तर त्यो पर्याप्त थिएन । त्यसैले हामीले मर्जरलाई सहजीकरण र प्रोत्साहन गर्न नयाँ निर्देशिका ल्याएका हौं । साथै त्यहाँ विभिन्न छूटको व्यवस्था पनि गरिएको छ, जुन पहिलेको निर्देशिकामा थिएन । त्यसकारण कम्पनीहरू स्वतस्फूर्त रूपमा मर्जर प्रक्रियामा जाऊन् भनेर यो निर्देशिका ल्याएका हौं ।
कृषिबीमालाई कम्पनीहरूले त्यति प्राथमिकतामा राखेका छैनन्, किन होला ? कृषिबीमाको विस्तारमा समितिका के कस्ता योजना छन् ?
विगतमा यस्तो समस्या थियो । त्यसबेला प्रचार प्रसारको कमी भएर पनि यस्तो समस्या देखिएको जस्तो लाग्छ । त्यसपछि मैले समितिको अध्यक्षको हैसियतमा पूर्वको खाँदबारीदेखि पश्चिम बाजुरासम्म बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेँ । ७७ जिल्लामा कृषिबीमा पुर्याउने गरी प्रत्येक कम्पनीलाई जिल्ला विभाजन गरेका छौं । अहिले बीमा कम्पनीहरूले कृषिबीमा गर्छु भनेका छन् । अहिले त्यस्तो समस्या त्यति छैन । उल्टै यसको व्यवसाय ४० प्रतिशत बढेको छ ।
पुनर्बीमामार्फत बीमासेवा निर्यात गर्र्ने अवस्थामा पुग्नेतर्फ समितिको के सोच छ ?
अहिले नेपालमा एउटा मात्र पुनर्बीमा कम्पनी सञ्चालन छ । त्यो हो, नेपाल पुनर्बीमा कम्पनी । हामीले पुनर्बीमा कम्पनीलाई २–३ ओटा काम गर्न भनेका थियौं । त्यसमध्ये अहिलेसम्म एउटा मात्र काम भएको छ । कम्पनीको एउटा पनि सफ्टवेयर थिएन । हामीले भनेपछि उक्त सफ्टवेयर गत वैशाख २० गते पोखरामा म आफैले अनावरण गरेँ । अहिले कम्पनी केही मात्रामा मोर्डनाइज भएको छ । पुनर्बीमामार्फत नेपालबाट बीमासेवा निर्यात गर्न ‘कन्ट्री रेटिङ’ गर्न आवश्यक छ । अहिले ‘कन्ट्री रेटिङ’ गर्ने काम भइरहेको छ । ‘कन्ट्री रेटिङ’ भएपछि हामी पुनर्बीमामार्फत बीमासेवा निर्यात गर्न सक्छौं । साथै उक्त कम्पनी पूँजीगत हिसाबमा पनि बलियो रूपमा अगाडि बढेको छ, जसअनुसार नेपालबाट बीमासेवा निर्यात गर्न सकिन्छ जस्तो लाग्छ । यद्यपि अहिले पर्याप्त कानून नहुँदा अगाडि बढ्न सकिएको छैन । नयाँ ऐन आएपछि पुनर्बीमा दलालको लाइसेन्सका लागि आवेदन खुला गर्छांै । त्यसपछि उनीहरूमार्फत नै बीमा सेवा निर्यात गर्छांै । यद्यपि हामी पुनर्बीमा कम्पनीको संख्या बढाउने योजनामा भने छैनौं ।
समितिले बीमा कम्पनीका सीईओलाई एउटा कम्पनी छोडेर अर्काेमा जान कुलिङ पिरियड लागू गरिसकेको छ । अहिले कर्मचारीलाई पनि यस्तो व्यवस्था गर्ने कुरा सुनिएको छ । यथार्थ के हो ? यदि हो भने कति समयको कुलिङ पिरियड लगाइन्छ ?
श्रम ऐनअनुसार हामीले कर्मचारीलाई कुलिङ पिरियड लगाउन मिल्दैन । तर कम्पनीका कर्मचारीहरू सेवा सुविधाको पछि लागेर एकै वर्षमा दुई–तीनओटा कम्पनीमा नियुक्ति लिने प्रवृत्ति मौलाएको छ । त्यसले बीमाक्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाको विकास गरेपछि नियमन गर्ने तयारी भने भइरहेको छ । कर्मचारीलाई कुलिङ पिरियड नै त लागू गर्न मिल्दैन । तर जागीर छोड्नुभन्दा ३ महीनाअघि कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था ल्याउने सम्बन्धमा छलफल भइरहेको छ । यस सम्बन्धमा अझै ठोस निर्णय भएको छैन ।
हालै राष्ट्र बैंकले बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गर्नुपर्ने खर्चमा एक प्रदेशमा कम्तीमा १० प्रतिशत खर्च गर्नुपर्ने यवस्था गरेको छ । यस्तै व्यवस्था बीमा कम्पनीहरूमा गर्न पनि समितिको केही तयारी छ कि ?
सीएसआर चाहिने विषय नै हो । यद्यपि बीमाक्षेत्र आफैमा एक सामाजिक सुरक्षाको अंग हो । त्यसैले कम्पनीहरू सधैं सामाजिक रूपमा उत्तरदायी नै छन् । अहिले बैंकिङ क्षेत्रले ठूलो फड्को मारेको छ । उनीहरुको पूँजी संरचना पनि बलियो छ । तर उनीहरूको तुलनामा बीमा बजार भर्खरै विस्तार हुँदै छ । साथै पूँजीगत रूपमा पनि त्यस्तो प्रगति भएको छैन । त्यसैले यस सम्बन्धमा अहिले कुनै बाध्यकारी नियम बनाउँदैनौं । बीमा बजार स्थापित भइसकेपछि समितिले स्वाभाविक रूपमा यस्तो व्यवस्था गर्न सक्छ ।
दाबी भुक्तानी सम्बन्धमा बीमा समितिमा कुन वर्गका बीमा अन्तर्गत बढी मुद्दा पर्ने गरेको छ ?
जीवन बीमामा कत्ति पनि मुद्दा छैन । यो सरल प्रक्रिया भएकाले यसको दाबी प्रक्रियामा त्यति समस्या आउँदैन । बीमा समितिमा जति पनि मुद्दा आउछन्, ती निर्जीवन बीमाबाटै आउने गरेको छ । अझ, सबैभन्दा बढी मोटर बीमाबाट आउने गरेको छ । यसैगरी आगलागी लगायत केशमा पनि मुद्दा आइरहेको छ । अहिले हामीले संस्थागत सुशासनसम्बन्धी कडा निर्देशन बनाएका छौं, जसअनुसार अब दाबी प्रक्रियामा हुने समस्याको अन्त्य हुने देखिन्छ ।
बीमा समितिका अबका योजना के के छन् ?
बीमा समितिको अबको योजना भनेको बढीभन्दा बढी नेपालीमा बीमाको पहुँच पु¥याउने हो । साथै निर्जीवनतर्फ पनि हरेक सम्पत्तिलाई बीमाको दायरामा ल्याउनु हाम्रो उद्देश्य छ । यसका अलावा बीमा कम्पनीहरूको संस्थागत सुशासन कार्य गर्ने, कम्पनीहरूको नियमित नियमन गर्ने योजना त सदाबहार नै हुनेछन् । साथै बीमाक्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाल इन्स्योरेन्स इन्स्टिच्युटलाई प्रादेशिक स्तरमा लगेर बीमकका कर्मचारीलाई तालीम दिने योजना पनि छ । यसका अलावा बीमा समितिलाई बलियो नियामक निकायका रूपमा स्थापित गर्नु पनि हाम्रो लक्ष्य हो ।
अबको करीब २५ वर्षमा बीमा समितिले हिरक जयन्ती मनाउँछ । त्यो बेला हामीले नेपालको बीमा बजारको अवस्था कस्तो पाउँछौं होला ?
अबको करीब २५ वर्षपछि बीमा समितिले हिरक जयन्ती मनाउँदा नेपालको बीमा बजार स्थापित भइसकेको हुनेछ । त्यसबेला निर्जीवन बीमाको पनि व्यापक विस्तार भएको देखिनेछ । साथै जीवन बीमाको पहुँच लगभग ७० प्रतिशत जनतामा विस्तार हुने अपेक्षा छ । यही गतिमा बीमाक्षेत्र बीमा अगाडि बढ्ने हो भने २५ वर्षपछिको बीमाक्षेत्र उज्ज्वल देखिन्छ ।
बीमा समितिका अवसर र चुनौती के के छन् ?
नेपाल बीमाक्षेत्रका लागि अझै पनि भर्जिनल्यान्ड हो । यही नै बीमा समितिको अवसर हो । अब समितिले बीमाक्षेत्रको विस्तारका लागि व्यापक काम गर्न सक्छ । यद्यपि हामीमा केही चुनौती पनि छन् । बीमासम्बन्धी नयाँ कानूनलाई सबैको हितमा हुनेगरी पास गर्नु पनि चुनौतीकै विषय हो । नेपालको पुनर्बीमा कम्पनीले बाहिरी मुलुकमा पनि आफ्नो सेवा विस्तार गर्दै आएको छ । यो अवस्थामा निकट भविष्यमा बाहिरी मुलुकमा महाविपत्ति भयो भने हामीलाई पनि धक्का आउन सक्छ । यस विषयमा हामी सबैले ध्यान दिन आवश्यक छ । साथै आन्तरिक रूपमा अझै पनि समितिमा दक्ष जनशक्तिको अभाव देखिन्छ । यी यस्ता चुनौती भए पनि समितिलाई बीमाक्षेत्रको विकासका लागि अवसर नै अवसर छ ।
प्रस्तुति : मिलन विश्वकर्मा